पटकपटक भत्किन्छ मूल नहर

ठाकुरसिंह थारू

नेपालगन्ज — राष्ट्रिय लगानीमा निर्माण भइरहेको सिक्टा सिँचाइ आयोजनाको मूल नहर पहिलोपल्ट ०७३ असार १४ गते परीक्षण गरियो । त्यस क्रममा आयोजनाको अगैया ब्यारेजदेखि पश्चिमतर्फ पर्ने २६ किलोमिटर दूरीमा मूल नहर भत्कियो ।

बाँकेको राप्ती सोनारीको मदुईमा बाढीले भत्काएको नहर । तस्बिर : ठाकुरसिंह । कान्तिपुर

तत्कालीन निर्देशक सरोज पण्डितले मूल नहर भत्किनुको कारण खोज्न छानबिन गर्ने प्रतिबद्धता जनाए । गुणस्तर जाँचको माग गर्दै तत्कालीन प्रधानमन्त्रीको कार्यालयमा उजुरी पनि पर्‍यो । तर, सरकारले छानबिनका लागि चासो देखाएन ।

आयोजनाले दोस्रोपल्ट परीक्षणका क्रममा साउन पहिलो साता मूल नहरमा पानी छोड्यो । यसपल्ट भने नहरको चंगाइनाला नजिकै फेरि भत्किएको छ । आयोजना निर्देशक रमेश बस्नेतले माटो परीक्षणलगायतका विज्ञहरूबाट राय परामर्श लिई आवश्यक सुधार गर्न डिजाइन नक्सासहितको प्रतिवेदन तयार पारिएको जनाएका छन् । तर, छानबिनका विषयमा कुनै प्रतिक्रिया जनाएका छैनन् ।

निर्माण कम्पनीले नहर हस्तान्तरण गर्नुअघि परीक्षण अनिवार्य हुन्छ । संरचनाको गुणस्तर जाँचका लागि राप्ती नदीको अगैयास्थित ब्यारेजका १८ ढोका बन्द गरी पानी छोडिएको थियो । अगैयामा ३ सय १७ मिटर लामो पुल बनाई पानी छेक्न गेट राखिएका छन् । सिक्टाको मूल नहरको पानी धान्ने क्षमता ५० क्युसेक मानिएको छ । तर, परीक्षण र बाढी आएका बेला उक्त नहर भत्किने गरेकाले गुणस्तरमै प्रश्न उठ्ने गरेको छ । मूल नहर भत्किनुको कारणबारे आयोजनाका अधिकारीहरू खुलेर बोल्न तयार छैनन् ।

‘आयोजनाको वास्तविकताबारे बोल्यो कि सरुवा हुन्छ,’ एक अधिकारीले भने । विभिन्न बहानामा आयोजनाका प्रमुखहरू एक वर्ष नपुग्दै सरुवा हुने गरेका छन् । २५ अर्बभन्दा बढी लगानीको आयोजनाको मूल नहर र स्लोभ पटकपटक भत्किन थालेपछि नागरिकस्तरबाट आवाज उठ्न थालेको छ । ‘हाम्रो करबाट निर्माण भइरहेको आयोजनाको नहर पटकपटक भत्किनुमा केही न केही कमजोरी छ । त्यसका लागि सरकारले छानबिन समिति गठन गरोस्,’ ती अधिकारीले भने, ‘नहर भत्किनुको कारण खोजेर समस्या समाधान होस् ।’

आयोजनाका अनुसार दायाँबायाँ दुवै मूल नहरको चुरे र फुटहिल क्षेत्रबाट दर्जनौं खोलानाला बगेकाले वर्षामा क्षति हुने गरेको छ । निर्देशक बस्नेत दायाँ मूल नहरको डिजाइन चरणमा रेखांकन गर्दा चेनेज २० किलोमिटरदेखि ३५ किलोमिटरसम्म नहर अत्यधिक कटिङ तथा फिलिङमा रहेको दाबी गर्छन् । त्यसको विकल्प अध्ययन गरी हालको रेखांकन छनोट गरिएको उनको तर्क छ । ‘यसका साथै दायाँ मूल नहरको सो खण्डको रेखांकन विषम प्रकृतिको घुलनशील माटो भएर गएको पाइएको छ । नहरको उत्तरतर्फबाट दर्जनौं खोला बगेका कारण वर्षामा क्षति पुग्ने गरेको छ,’ उनले भने ।

स्थानीयले भने निर्माण क्रममा लापरबाही गरिएका कारण मूल नहर पटकपटक भत्किने गरेको बताए । ‘कल्भर्ट वा पुल बनाएर माथिबाट बगेर आउने पानीको निकास गरिए नहर जोगिन्थ्यो,’ धनसिंह खत्रीले भने । त्यस्तै नहर निर्माणमा घुलनशील माटो प्रयोग गरिएकाले पानीमा सहजै भत्किने गरेको स्थानीयको दाबी छ । ‘रातो र छिट्टै गल्ने भएकाले हामी त्यो क्षेत्रको माटो घर लिप्न प्रयोग गर्छौं,’ खत्रीले भने । गत वर्ष बाढीले दर्जनभन्दा बढी स्थानमा नहर भत्किएको थियो ।

ढिलाइले लागत बढ्दै
निर्माण कार्य ढिलाइ हुँदा लागतसँगै आयोजनाको समयावधि पनि बढ्दै गएको छ । पछिल्लोपल्ट सरकारले आर्थिक वर्ष ०७६/७७ सम्मको समय तोकेको छ । अहिलेसम्म ५७ प्रतिशत मात्र काम भएको छ । आयोजना आर्थिक वर्ष ०६१/६२ मा सुरु गरिएको हो । राप्तीपारिका तत्कालीन नौ गाविसमा पनि सिँचाइ पुर्‍याउने भन्दै आव ०७०/७१ मा गुरुयोजना संशोधन गरिएको थियो । आयोजनाले शाखा, उपशाखा गरी करिब २ सय ८० किलोमिटर लामो नहर निर्माण गरी बाँकेको खेतीयोग्य ८० प्रतिशत जग्गामा सिँचाइ पुर्‍याउने लक्ष्य लिएको छ । हाल बाँकेमा करिब ३० प्रतिशत भूभागमा मात्रै सिँचाइ सुविधा छ । नहर निर्माणको जिम्मा कालिका सीटीसीले लिएको थियो । ५० किलोमिटर नहर निर्माण भइसकेको छ ।

Yamaha

Esewa Pasal

प्रकाशित : श्रावण २७, २०७५ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

गोठमा सुत्दा मलेरियाको जोखिम

राजबहादुर शाही

मुगु — गोठमा सुत्दा खत्याड गाउँपालिकाको रिघा गाउँका स्थानीयमा मलेरिया संक्रमण बढेको पाइएको छ ।गोठमा लामखुट्टेले बढी टोक्ने र त्यसले मलेरिया फैलिएको चिकित्सकले बताए ।

झुल नलगाएर गोठमा सुत्दा मलेरियाको जोखिम बढेको रोग नियन्त्रण महाशाखाका विशेषज्ञ डा. मदन कोइरालाले बताए । उनका अनुसार गाउँका महिला सुत्केरी र महिनावारी हुँदा गोठमा सुत्नुपर्ने बाध्यता छ । ‘गोठमा गाईभैंसीको गन्ध र फोहोरका कारण लामखुट्टे बढी लाग्छन्, त्यही नजिकै सुतेका महिलालाई लामखुट्टेले टोक्ने नै भयो,’ उनले भने, ‘महिनावारी र सुत्केरी भएका बेला रोगसँग लड्ने क्षमता कम हुँदा थप जोखिम भएको पाइयो ।’

गर्मी छल्न कतिपयले सिरकसमेत नओढ्ने गरेकाले लामखुट्टेले बढी टोकेको चिकित्सकको भनाइ छ । मलेरियाको अनुसन्धानका लागि कोइराला बाजुरा हुँदै रिघा गाउँ आएका थिए । उनले अधिकांश महिला महिनावारी भएका बेला गोठमा सुत्ने गरेको भेट्टाए । त्यस्तो अवस्थामा पाँच दिनसम्म गोठमा सुत्ने गरेका छन् ।

गाई–गोरुलाई टोक्ने ‘एनोफिलिक’ नामक लामखुट्टेले रोग सारेको उनले बताए । अनुसन्धानका क्रममा रिघा गाउँमा एनोफिलिजम्याकुलेटस, एनोफिलिजएनुलाटिज र एनोफिलिक क्युम्याटिलिज जातको लामखुट्टे भेटिएका छन् । गाउँमा पुरुषभन्दा महिलामा औलो रोग बढी भेटिएको थियो । महिनावारी र सुत्केरी महिलालाई घरमा राख्दा देवीदेवता रिसाउने गलत मान्यताका कारण यहाँका महिला गोठमा बस्न बाध्य छन् । मलेरिया नियन्त्रणमा गोठ मुख्य बाधक बनेको जिल्ला स्वास्थ्य कार्यालयका औलो रोग फोकलपर्सन बलिबहादुर बुढाले बताए । महिनावारी र सुत्केरी भएका महिलालाई गोठमै बसे पनि झुलको व्यवस्था गर्न थालिएको उनको भनाइ छ ।

नियन्त्रणमा कठिनाइ
खत्याड गाउँपालिकाको–७, ८ र ९ मा फैलिएको औलो रोग नियन्त्रणमा कठिनाइ भएको छ । औषधि सेवनले बिरामीको संख्या घट्दै जानुपर्नेमा झन् वृद्धि भएको स्वास्थ्यकर्मीको भनाइ छ । यो वर्ष ९२ जनामा औलो देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार असारमा ४८ र साउनमा ४४ बिरामी भेटिएका थिए । साउनमा ३८ बाट घटेर २४ पुगेका थिए । तर फेरि ४४ जनामा रोग देखिएको थियो । महाशाखाका औलो रोग विशेषज्ञ उत्तमराज प्याकुरेलका अनुसार एक साता बिरामीको संख्या घट्ने र अर्को साता फेरि बढ्ने समस्या देखिएको छ ।

प्रकाशित : श्रावण २७, २०७५ ०७:१७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT