कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

गोठमा सुत्दा मलेरियाको जोखिम

राजबहादुर शाही

मुगु — गोठमा सुत्दा खत्याड गाउँपालिकाको रिघा गाउँका स्थानीयमा मलेरिया संक्रमण बढेको पाइएको छ ।गोठमा लामखुट्टेले बढी टोक्ने र त्यसले मलेरिया फैलिएको चिकित्सकले बताए ।

गोठमा सुत्दा मलेरियाको जोखिम

झुल नलगाएर गोठमा सुत्दा मलेरियाको जोखिम बढेको रोग नियन्त्रण महाशाखाका विशेषज्ञ डा. मदन कोइरालाले बताए । उनका अनुसार गाउँका महिला सुत्केरी र महिनावारी हुँदा गोठमा सुत्नुपर्ने बाध्यता छ । ‘गोठमा गाईभैंसीको गन्ध र फोहोरका कारण लामखुट्टे बढी लाग्छन्, त्यही नजिकै सुतेका महिलालाई लामखुट्टेले टोक्ने नै भयो,’ उनले भने, ‘महिनावारी र सुत्केरी भएका बेला रोगसँग लड्ने क्षमता कम हुँदा थप जोखिम भएको पाइयो ।’

गर्मी छल्न कतिपयले सिरकसमेत नओढ्ने गरेकाले लामखुट्टेले बढी टोकेको चिकित्सकको भनाइ छ । मलेरियाको अनुसन्धानका लागि कोइराला बाजुरा हुँदै रिघा गाउँ आएका थिए । उनले अधिकांश महिला महिनावारी भएका बेला गोठमा सुत्ने गरेको भेट्टाए । त्यस्तो अवस्थामा पाँच दिनसम्म गोठमा सुत्ने गरेका छन् ।

गाई–गोरुलाई टोक्ने ‘एनोफिलिक’ नामक लामखुट्टेले रोग सारेको उनले बताए । अनुसन्धानका क्रममा रिघा गाउँमा एनोफिलिजम्याकुलेटस, एनोफिलिजएनुलाटिज र एनोफिलिक क्युम्याटिलिज जातको लामखुट्टे भेटिएका छन् । गाउँमा पुरुषभन्दा महिलामा औलो रोग बढी भेटिएको थियो । महिनावारी र सुत्केरी महिलालाई घरमा राख्दा देवीदेवता रिसाउने गलत मान्यताका कारण यहाँका महिला गोठमा बस्न बाध्य छन् । मलेरिया नियन्त्रणमा गोठ मुख्य बाधक बनेको जिल्ला स्वास्थ्य कार्यालयका औलो रोग फोकलपर्सन बलिबहादुर बुढाले बताए । महिनावारी र सुत्केरी भएका महिलालाई गोठमै बसे पनि झुलको व्यवस्था गर्न थालिएको उनको भनाइ छ ।

नियन्त्रणमा कठिनाइ
खत्याड गाउँपालिकाको–७, ८ र ९ मा फैलिएको औलो रोग नियन्त्रणमा कठिनाइ भएको छ । औषधि सेवनले बिरामीको संख्या घट्दै जानुपर्नेमा झन् वृद्धि भएको स्वास्थ्यकर्मीको भनाइ छ । यो वर्ष ९२ जनामा औलो देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार असारमा ४८ र साउनमा ४४ बिरामी भेटिएका थिए । साउनमा ३८ बाट घटेर २४ पुगेका थिए । तर फेरि ४४ जनामा रोग देखिएको थियो । महाशाखाका औलो रोग विशेषज्ञ उत्तमराज प्याकुरेलका अनुसार एक साता बिरामीको संख्या घट्ने र अर्को साता फेरि बढ्ने समस्या देखिएको छ ।

प्रकाशित : श्रावण २७, २०७५ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?