चीनमा लुम्बिनीको फोटो देखेर जापानी पूर्व प्रधानमन्त्री मख्ख

चेतनाथ आचार्य

बेइजिङ — ‘ओहो यो त भगवान बुद्धको जन्मस्थल लुम्बिनी हैन र ! यस्तो पवित्र भूमिलाई पृष्ठभूमिमा राखेर फोटो खिचौँ न ।’ जापानका पूर्वप्रधानमन्त्री युकिओ हातोयामाले गत शुक्रबार बेइजिङको मिन्चु होटलको लबिमा राखिएको लुम्बिनीको फोटोको फ्लेक्सदेखेपछि त्यसको अगाडि उभिएर फोटो खिच्ने रुचि देखाए ।

चीनमा लुम्बिनीको फोटो देखेर जापानी पूर्व प्रधानमन्त्री मख्ख

त्यतिन्जेलसम्म होटल व्यवस्थापनले त्यो फ्लेक्सको महत्व के हो भन्ने कुराको खासै हेक्का राखेको थिएन ।


मिन्चु होटलको लबिमा लुम्बिनी र माछापुच्छ्रेको फोटोलाई ठूला फ्लेक्समा प्रिन्ट गरेर आमनेसामने ठड्याइएको छ । चीन भ्रमणमा रहेका जापानी पूर्वप्रधानमन्त्री युकिओ जब मिन्चु होटलमा पुगे तब उनले लुम्बिनीको फोटो देखेर आश्चर्यभाव प्रकट गरे । उनले लुम्बिनीको फ्लेक्स अगाडि फोटो खिचाए र त्यसका बारेमा निकै सोधखोज गरे ।


होटलकी महाप्रवन्धक सिया मिनहुईले आफ्नो होटलमा नेपाली खाना महोत्सव चलिरहेको र त्यसैको सजावट गरिएको बताइन् । ‘जापानी पूर्वप्रधानमन्त्रीले समेत सोधखोज गरेपछि बल्ल मैले यसको महत्व थाहा पाएँ’ कान्तिपुरसँग कुरा गर्दै मिन्चु होटलकी महाप्रवन्धक सियाले भनिन् ‘मैले त्यो फोटो महत्वपूर्ण ठाउँको हो भन्ने कुरा वास्तै गरेकी थिइँन ।’


जापानी नेता युकिओले लुम्बिनी र नेपालसँग आफ्नो प्रगाढ सम्बन्ध रहेको पनि बताए । उनले नेपाली खाना खाने इच्छा व्यक्त गरे । शुक्रबार उनी निकै व्यस्त भएकाले शनिबार दिउँसो नेपाली खाना महोत्सव चलिरहेको मिन्चु होटलको रेष्टुरेन्टमा फेरि गए । ‘उनले निकै मिठो मानेर नेपाली खाना खाए’ नेपाली सेफ श्रीराम अधिकारीले भने ‘खाना खाइसकेपछि उनले हामीसँग खाना मिठो भएको प्रशंसा गरे र फोटो पनि खिचाए ।’


जापान प्रजातन्त्र पार्टीका प्रमुखको रुपमा युकिओ सन् २००९ सेप्टेम्बर १६ देखि सन् २०१० जुन २ सम्म जापानका प्रधानमन्त्री भएका थिए । उनी यतिबेला चीन भ्रमणमा रहेका छन् ।


नेपाल चीन कुटनीतिक सम्बन्धको ६३ औँ वार्षिकोत्सव मनाउने क्रममा नेपाली दूतावास बेइजिङले गत अगष्ट १ तारिखदेखि मिन्चु होटलमा नेपाली खाना महोत्सव संचालन गर्दै आएको छ । आगामी बुधबारसम्म रहने सो खाना महोत्सवमा अहिलेसम्म हजारौँ व्यक्तिले नेपाली खानाको स्वाद लिइसकेका छन् । नेपाली खानासँगै शुक्रबार साँझ पाहुनाहरुले नेपाली नाचगान लगायतका विविध नेपाली संस्कृतिको पनि अवलोकन गर्दै आएका छन् ।


नेपाली खाना महोत्सवले बेइजिङमा निकै चर्चा कमाएको मिन्चु होटलका उपमहाप्रवन्धक ऊ होङफूले बताए । नेपाली सेफहरु श्रीराम अधिकारी र सुरेशचन्द्र बस्नेत निकै मिहिनेती रहेको बताउँदै उनले भने ‘उनीहरु कुसल सेफ हुन् । हाम्रा पाहुनाले नेपाली खाना खुबै मन पराएका छन् ।’


बेइजिङमा मिन्चु होटलले विभिन्न देशका खाना महोत्सवको आतिथ्य गर्दै आएको छ । नेपाली खाना महोत्सवभन्दा ठीक अगाडि श्रीलंकाली खाना महोत्सव पनि यही होटलमा भएको थियो । ‘हामीले अहिलेसम्म ३४ देशका खाना महोत्सवको आतिथ्य गरिसकेका छौँ,’ ऊले भने, ‘नेपाली खानाको तुलनामा अन्य देशको खाना लोकप्रिय भएजस्तो मलाई लागेन ।’ नेपाली खाना महोत्सवले थुप्रै चिनियाँमा राम्रो प्रभाव पारेको र नेपालको संस्कृति तथा पर्यटन प्रवद्र्धन भएको उनले बताए खाना महोत्सवपछि आफूले पनि नेपाल भ्रमण गर्ने सोचाइ राखेको बताए ।


मिन्चु होटलले आफ्नो मेनुमा नेपाली खाना पनि राख्ने भएको नेपाली सेफ एसोसिएसनका अध्यक्ष श्रीराम अधिकारीले जानकारी दिए । आफूहरुले चिनियाँ कुकलाई नेपाली खाना बनाउन सिकाएको र अहिले उनीहरु राम्रोसँग नेपाली खाना बनाउन जान्ने भएकाले अब होटलले एकदुई नेपाली खानालाई आफ्नो मेनुमा राख्ने भनेको अधिकारीले उल्लेख गरे । ‘हामी त चिनियाँहरुलाई नेपाली खानाको प्रचारप्रसार गर्न आएका थियौँ,’ अधिकारीले भने, ‘अहिले त प्रचारप्रसार जापानसम्म पुग्यो ।’


प्रकाशित : श्रावण २७, २०७५ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?