२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

भ्रमण उदेश्य स्पष्ट नहुँदा जापानले प्रवेश दिँदैन नेपाली नेतालाई

पवन वर्षा शाह

टोकियो (जापान) — जापान भ्रमण तथा यहाँ हुने कार्यक्रममा सहभागी हुन नेपालबाट आउने केही नेपाली नेता तथा सांसदहरुलाई प्रत्येक वर्ष जापान सरकारले  प्रवेश नदिएर विमानस्थलबाटै फिर्ता गर्ने गरेको छ ।

भ्रमण उदेश्य स्पष्ट नहुँदा जापानले प्रवेश दिँदैन नेपाली नेतालाई


यही अगष्टको पहिलो साता जापानको हिरोसिमा सहरमा इन्टरनेसनल पिस ब्युरो नामक संस्थाले आयोजना गरेको निशस्त्रीकरण सम्बन्धी कार्यक्रममा सहभागी हुन यहाँ आएका नेकपाको तर्फबाट राष्ट्रियसभाका मुख्य सचेतक समेत रहेका खिमलाल भट्टराईलाई प्रवेश नदिई फिर्ता पठाएको हो ।

मुख्य सचेतक भट्टराईसँग सोही कार्यक्रममा सहभागी हुन जापान आएका स्रोतका अनुसार विमानस्थलमा कुन कार्यक्रममा आएको हो भनेर जानकारी माग गर्दा उनले हिरोसिमा हुने कार्यक्रम बारे र आफु नेपालको सांसद भएको जवाफ दिएका थिए ।

यद्यपि कार्यक्रममा निमन्त्रणा गर्ने संस्थाले भने भट्टराई सांसद हुन् भन्ने बारे कुनै पनि कागजातमा उल्लेख नगरेको कारण प्रवेश नदिइएको हुनसक्ने स्रोत बताए ।

भट्टराईको नेतृत्वमा सो कार्यक्रममा सहभागी हुन अनेरास्ववियुका पूर्व अध्यक्ष किशोर मल्ल, अनेस्ववियुकै दुर्गा शर्मा लागयत जापान आएका थिए । मल्ल र शर्मालाई भने विमानस्थलको अध्यागमनले प्रवेश दिएको थियो र उनीहरु कार्यक्रममा सहभागी भएका थिए ।

भट्टराईलाई यस विषयमा बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।

कान्तिपुरसँग कुरा गदै कार्यक्रमको संयोजन गर्ने हिरोसिमा रहेको सो संस्थाका नेपाल प्रतिनिधी वासु गौतमले प्रवेश नदिइएको भन्ने सहभागीहरुबाट सुनेको तर भट्टराईसँग भने सम्पर्क नभएको जानकारी दिए ।

यसैगरी यसअघि गत वर्ष सेप्टेम्बरमा पनि नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेललाई जापानले प्रवेश नदिई विमानस्थलबाट नेपाल फर्काएको थियो ।

यहाँ स्थिति कांग्रेसको प्रवास संगठन जनसम्पर्क समिति जापानको कार्यक्रममा सहभागी हुन आएका नेता पौडेललाई स्पोन्सर गर्ने व्यक्ति सम्पर्कमा नआउँदा फिर्ता पठाएको उनले आफ्नो फेसबुक मार्फत जानकारी गराएका थिए ।

पौडेलको स्पोन्सर जापानको नागोया शहरमा बस्ने रितेन्द्र गिरी सो समयमा नेपाल रहेका र सम्पर्कमा नआएका कारण देखाई उनलाई विमानस्थलबाट फर्काइएको थियो ।

यस्तै गत वर्ष जुनमा पार्टीको प्रवास संगठनको अधिवेशनमा सहभागी हुन आएका नयाँ शक्ति नेपालका केन्द्रीय सदस्य शंकर भण्डारीलाई पनि जापानले विमानस्थलबाट फिर्ता पठाएको थियो ।

केही वर्ष पहिलो जापानमा बसेर फर्केका भण्डारीलाई जापान रहँदा पुलिस केस भएको घटनाका आधारमा पुन: प्रवेश नदिइएको उनी निकटले दाबी गरेका थिए । सो विषयमा बुझ्दा नयाँ शक्तिका जापान संयोजक पदमसिंह ठगुन्नाले भण्डारीलाई लगाइएका आरोप झुटो रहेको भन्दै उनी पार्टीको कार्यक्रममा सहभागी हुन आएको र पार्टीको झण्डासँगै ल्याएका कारण प्रवेश नदिइएको दाबी गरे ।

उनले जापानमा राजनीति गतिविधी गर्न कोही पनि विदेशीलाई छुट नहुने र त्यो नबुझेर नेपालबाट पार्टीको झण्डासँगै ल्याउँदा फिर्ता पठाएको बताए ।

केही प्रक्रियाहरु नबुझ्दा नेपाली नेता तथा सांसदलाई समेत विमानस्थलबाटै जापानले फिर्ता पठाउने गरेको विषयमा भने नेपाली राजदूतावासलाई कुनै पनि औपचारिक जानकारी नभएको राजदूतावासले जनाएको छ ।

जापानको कानुन र आफू यहाँ आएको सबै प्रक्रियामा स्पष्ट नहुँदा नेपाली नेता तथा सांसदहरु विमानस्थलबाटै फकाइएका जनसम्पर्क समिति जापानका पूर्व सभापति तथा अन्तर्राष्ट्रिय कानुन व्यवसायी डा. बलराम श्रेष्ठ बताउँछन् ।

उनी भन्छन्, ‘जापानको कानुन सबैका लागि बराबर छ, चाहे त्यो मन्त्री, नेता, सांसद तथा सामान्य जनता नै किन नहोस, त्यसैले नेपाली नेता तथा सांसदहरुले यहाँ भ्रमणमा आउँदा सबै बुझेर आउन जरुरी हुन्छ ।’

उनका अनुसार सांसद तथा नेताहरुलाई प्रवेश नदिनु राष्ट्रको प्रतिष्ठाको पनि विषय हो त्यसैले यस्ता कुरामा पहिल्यै ध्यान दिन जो कोहीलाई आवश्यक रहेको बताए ।


प्रकाशित : श्रावण २७, २०७५ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?