१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

नेपालसँगको सम्बन्ध राम र सीताको जमानाको हो : भारतीय प्रधानमन्त्री मोदी

कान्तिपुर संवाददाता

नयाँदिल्ली — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनको बढ्दो प्रभावले नेपाल र भारतका जनताबीचकाे सम्बन्धमा कुनै प्रभाव नपर्ने दाबी गरेका छन् । 

नेपालसँगको सम्बन्ध राम र सीताको जमानाको हो : भारतीय प्रधानमन्त्री मोदी

चौथो विमस्टेक सम्मेलनका लागि दुई सातापछि नेपाल जान लागेका मोदीले भारतीय अंग्रेजी दैनिक द टाइम्स् अफ इण्डियालाई दिएको अनलाइन अन्तर्वार्तामा नेपाल भारतबीचकाे हजारौं वर्षदेखिकाे ऐतिहासिक, घनिष्ट, मित्रवत् र पारिवारिक सम्बन्धमा प्रभाव नपर्ने बताएका हुन।

नेपाललगायत भारतका छिमेकी मुलुकमा चीनको बढ्दो उपस्थितिका बारेमा धारणा राख्दै अन्तर्वार्तामा उनले भनेका छन्, ‘नेपालसँगको सम्बन्ध भगवान राम, माता सीता र बुद्धको जमानाको हो ।’ पछिल्लो समय सुरक्षा, व्यापार, लगानी र विकासलगायत क्षेत्रमा गरिएको बलियो साझेदारीले त्यो सम्बन्धलाई थप सुदृढ बनाएको मोदीले दाबी गरेका छन् । ‘त्यसैले त आज दुई देशबीचको सम्बन्ध थप फराकिलो र गहिरो हुनुका साथै विश्वासिलो र परिपक्व पनि छ,’ प्रम मोदीको टिप्पणी छ ।

पछिल्लो समय नेपाललगायतका अन्य छिमेकी मुलुकको चीनसँग विकसित सम्बन्धप्रति संकेत गर्दै मोदीले ‘चीन र अन्य मुलुकले हाम्रा छिमेकीलगायतका मुलुकसँग आफ्नो सम्बन्ध विकास गर्नु सामान्य रहेको’ बताएका छन् ।

विमस्टेक सम्मेलनमा सहभागी भएसँगै पाँचवर्षे कार्यकालमा उनको चौथो नेपाल भ्रमण हुनेछ । मोदीभन्दा पहिले यसअघिका कुनै पनि भारतीय प्रधानमन्त्रीले यतिधेरै पटक नेपालको भ्रमण गरेका थिएनन् । सन् २०१४ मा प्रधानमन्त्री भएलगत्तै उनले नेपालको पहिलो औपचारिक भ्रमण गरेका थिए ।

प्रकाशित : श्रावण २७, २०७५ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?