विराटनगर महानगरमा बम बिस्फोट, ८ जना नियन्त्रणमा [अपडेट]

विनोद भण्डारी

विराटनगर — विराटनगर महानगरपालिकाको कार्यालयमा बम विस्फोट भएको छ । मेयर भीम पराजुलीको कार्यकक्ष अगाडिको प्यासेजमा बम विस्फोट भएको हो । बिस्फोटमा कुनै मानवीय क्षति भएको छैन ।

विराटनगर महानगरमा बम बिस्फोट, ८ जना नियन्त्रणमा [अपडेट]

बिस्फोट कसले गरायो भन्ने थाहा हुन सकेको छैन । बम बिस्फोट हुँदा मेयरको कार्यकक्षमा उपमेयर इन्दिरा कार्कीलगायत केही वडाध्यक्ष उपस्थित थिए ।

विस्फोटको घोर भर्त्सना गर्दै मेयर पराजुलीले संविधान र वर्तमान राज्य संरचना नमान्नेहरुले विस्फोट गराएको हुनसक्ने बताए । आफूलाई कुनैपनि पक्षबाट धम्की नआएको उल्लेख गर्दै उनले जनताका प्रतिनिधि बसेर जनताकै काम गर्नेलाई लक्षित गरी विस्फोट गराउनु घोर निन्दनीय भएको बताए । विस्फोटको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन । अहिले महानगरपालिकाको आकस्मिक बोर्ड बैठक बसिरहेको छ ।

यसैबीच विस्फोट नेत्रविक्रम चन्द समूहका माओवादी कार्यकर्ताले गराएको आशंका गरिएको छ । २९ गते नेपाल बन्दलाई सफल पार्न आइतबार र सोमबार उनीहरुको प्रचारात्मक कार्यक्रम रहेकाले यो विष्फोट उनीहरुले नै गरेको आशंका गरिएको छ ।


तर यसलाई मोरङ प्रहरीले आधिकारीक रुपमा पुष्टी गरेको छैन । विस्फोटमा संलग्न भएको आशंकामा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक मनोज केसीले बताए । तर उनीहरुको नाम सार्वजनीक गरिएको छैन ।

प्रकाशित : श्रावण २७, २०७५ १४:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?