कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

राणाको निधनमा संसद् बैठक स्थगित

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसका पुराना नेता भरतशमशेर राणाको निधनमा शोक प्रस्ताव पारित गर्दै आइतबारको संसद् बैठक स्थगित भएको छ ।

राणाको निधनमा संसद् बैठक स्थगित

बैठक सोमबारका लागि बोलाइएको छ । राणा २०१५ सालको जननिर्वाचित संसद्मा प्रमुख विपक्षी नेता थिए । गोरखा परिषदका महामन्त्रीसमेत रहेका राणा धादिङ क्षेत्रबाट विजयी भएका थिए ।


राजा महेन्द्रको ०१७ साल पुस १ गतेको कदमपछि गोरखा परिषद्लाई उनले कांग्रेसमा विलय गराएका थिए । उनको शनिबार ९० वर्षको उमेरमा निधन भएको हो । राणाको शव आइतबार कोलकातास्थित ‘नीलरत्न सरकार टिचिङ एन्ड रिसर्च हस्पिटललाई हस्तान्तरण गरिएको छ । आफू मरेपछि काजकिरिया नगर्न र शव अस्पताललाई दिन उनले धेरै अघिदेखि नै परिवारलाई भनेका थिए । ‘उहाँको इच्छाअनुसार नै शव अस्पताललाई हस्तान्तरण गर्ने र काजकिरिया नगर्ने निर्णय लिइएको हो’ परिवारका सदस्य एवं कांग्रेस नेता उदयशमशेर राणाले भने ।


कांग्रेसद्वारा शोक प्रस्ताव पारित

कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबार बिहान बसेको आकस्मिक बैठकले राणाको निधनप्रति दु:ख प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको छ । कार्यवाहक सभापति विमलेन्द्र निधिको सभापतित्वमा बसेको बैठकले लोकतन्त्र र गणतन्त्रमार्फत समाज परिवर्तन गर्न सकिन्छ भन्ने उद्देश्य राखेर राणा सामाजिक विभेद अन्त्यका लागि अग्रसर रहेको उल्लेख गरिएको छ ।


‘राजनीतिसँगै सांस्कृतिक र व्यावसायिक जीवनमा चलचित्र निर्माता र निर्देशकका रूपमा पनि उहाँको भूमिका स्मरणीय रहनेछ’ कांग्रेसले निर्णयमा उल्लेख गरेको छ । राणा सन्त नेता कृष्णप्रसाद भट्टराई सभापति रहेको कार्यसमितिका केन्द्रीय सदस्यसमेत थिए । उनको निधनमा सिंगापुर रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले छुट्टाछुट्टै विज्ञप्ति निकाल्दै शोक प्रकट गरेका छन् ।


कांग्रेस आकस्मिक बैठकले साहित्यकार यज्ञनिधि दाहालको निधनमा पनि शोक प्रकट गरेको छ । ‘लामो समयसम्म अध्यापन सेवामा समर्पित रहनुभएका दाहालले साहित्य र पत्रकारिताको माध्यमबाट सामाजिक जागरण ल्याउन तथा चेतनासमेत बढाउन सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो’ कांग्रेसको विज्ञप्तिमा उल्लेख छ ।


प्रकाशित : श्रावण २७, २०७५ २१:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?