दिल्लीमा नेपाली बिरामीको ओइरो

सुरेशराज न्यौपाने

नयाँदिल्ली — नेपालीका कारण दिल्लीका अस्पतालसँगै आसपासका होटल र अपार्टमेन्टसमेत भरिभराउ भएका छन् । राजीव गान्धी क्यान्सर अस्पतालभन्दा केही परको सोम बजारका अपार्टमेन्टमध्ये अधिकांश नेपालीले भरिभराउ हुने गरेका छन् । मेदान्त र अपोलो अस्पताल नजिकदेखि पहाडगन्जसम्मका होटलमा नेपाली बिरामी भेटिन्छन् । मेदान्त पछाडिको इस्लामपुरका होटलका ७० प्रतिशत कोठा नेपाली बिरामीले भरिएका छन् ।


  • सुर्खेत, वीरेन्द्रनगरका नवीन सिंहलाई चार महिनादेखि दाहिने खुट्टाको औंलामा रगत जमेर पीडा हुन थालेपछि परिवारले सुर्खेत, नेपालगन्ज, काठमाडौं, लखनउसम्म पुर्‍यायो। तर, रोग पहिचान नै भएन। केही उपाय नलागेपछि उनलाई दिल्ली, करोलबागस्थित गंगाराम अस्पताल पुर्‍याइयो।
  • बुटवल, मंगलापुरकी कल्पना श्रेष्ठ पाँच वर्षसम्म काठमाडौंको सिभिल अस्पताल धाइन्। बाथ रोगको लक्षण मात्र भनियो। तौल घटदै गयो। कमजोरी हुन थाल्यो। रगत पनि जँचाइन् तर निको भएन। त्यसपछि श्रीमान्ले हरियाणास्थित मेदान्त अस्पताल पुर्‍याए।
  • पेटको समस्याका कारण पोखराका नीलबहादुर गुरुङ डेढ वर्षदेखि नयाँदिल्लीको राजीव गान्धी क्यान्सर अस्पताल धाइरहेका छन्। यसअघि उनले करिब दस महिना पोखरामै उपचार गराएका थिए। स्वास्थ्यमा निकै सुधार पनि देखिएको थियो। तर, छरछिमेक र आफन्तको सल्लाहमा श्रीमतीलाई साथ लाएर उनी दिल्ली आइपुगे।
  • काठमाडौं, डिल्लीबजारका रत्न श्रेष्ठ पनि सोही अस्पतालमा तीन वर्षदेखि उपचार गराइरहेका छन्। काठमाडौंमा प्रारम्भिक स्वास्थ्य परीक्षणपछि परिवारले थप उपचारका लागि सिधै दिल्ली लग्ने निर्णय गर्‍यो। त्यसपछि मंसिर ६, २०७३ मा नेपाल राष्ट्र बैंकको तीन दशकभन्दा बढी लामो जागिरबाट केही महिनाअघि मात्र अवकाश पाएकी श्रीमती दिव्याको साथ लागेर उनी दिल्ली आइपुगे।

Yamaha

नवीन, नीलबहादुर, कल्पना, रत्न मात्र होइनन्, वार्षिक हजारौं नेपाली उपचारका लागि दिल्ली धाउने गरेका छन्, यो संख्या बर्सेनि बढदो छ। सामान्य स्वास्थ्य परीक्षणदेखि मुटु, कलेजो, मिर्गौलासम्बन्धी समस्या र क्यान्सरलगायत रोगको उपचारका लागि उनीहरू भारत आउने गरेका छन्।

गत वर्ष अपोलो अस्पतालमा मात्र करिब चार हजार नेपाली बिरामीले विभिन्न सेवा लिएका थिए। मेदान्त, गंगाराम, म्याक्स, फोर्टिस, राजीव गान्धी, बीएलके अस्पतालमा पनि नेपालीको उत्तिकै भीड लाग्ने गरेको छ। वार्षिक कति नेपाली उपचार गर्न आउँछन् भन्ने यकिन नभए पनि ती अस्पतालमा आउनेमध्ये करिब तीस प्रतिशत नेपाली रहेको अनुमान छ।

भारतका लागि कार्यवाहक नेपाली राजदूत भरतराज रेग्मी औपचारिक अध्ययन नभए पनि ठूला र नाम चलेका निजी अस्पतालमा २५ देखि ५० प्रतिशतसम्म नेपाली बिरामी आउने गरेको दाबी गर्छन्। पछिल्ला वर्ष नेपालका सीमावर्ती सहरलाई सिधै नयाँदिल्ली जोड्ने गरी सुरु भएका बस सेवाले पनि बिरामीलाई दिल्ली आउन सहज बनाएको छ। बुटवलकी कल्पना त्यही बस चढेर आएकी थिइन् भने सुर्खेतका नवीन र मेदान्त अस्पतालमै भेटिएका धनगढीका खड्गसिंह पालले पनि बसबाटै दिल्ली आएको बताए।

काठमाडौंबाट सोझै दिल्ली उड्ने क्यान्सरका बिरामीका लागि भने राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले भाडामा छुट दिने गरेको छ। निगमले पहिलो पटकका लागि बिरामीलाई शतप्रतिशत र सँगै आउने एक जनालाई ५० प्रतिशतसम्म छुट दिँदै आएको छ। तर, कर भने तिर्नुपर्छ।

दिल्लीका अस्पताल नेपालको तुलनामा निकै महँगा छन्। उपचारमा लाग्नेबाहेक पनि आउनजान भाडा, बसाइ र खाना खर्चको हिसाब गरेर साध्य छैन। तर, एकपटक आएपछि उनीहरू यो पासोबाट हत्पत्ति उम्कन सक्दैनन्। एकपटक आउनेहरू नै फलोअपका लागि नियमित धाइरहेका हुन्छन्। कतिपयले उपचार गर्दागर्दै लाखौं रुपैयाँ खर्च भएको पत्तोसमेत पाउँदैनन्। त्यसैले उनीहरू खर्चका बारेमा कुरा गर्नै चाहँदैनन्। त्यसको पछाडि अस्पतालमा उपचार गराउँदा लाग्ने गरेको असीमित खर्च मुख्य कारण हो। पानीजस्तै पैसा बगाउनुपर्ने भएकाले होला, अहिलेसम्म कति खर्च लाग्यो भन्ने प्रश्नमा प्राय: सबैको एउटै जवाफ हुन्छ, ‘कति खर्च भनेर नसम्झाउनुस्, हिसाबकिताब नै राख्न छाड्यौं।’

पेटको समस्याले तीन महिनाअघि दिल्ली आएका पोखराका नीलबहादुरलाई दुई साताको फरकमा केमो चढाउनुपर्छ। प्रत्येकपटक भारु ७० हजारभन्दा बढी खर्च हुन्छ। यो औषधिका लागि मात्र हो। केमो चढाउन अस्पतालमा भर्ना हुँदा कम्तीमा दिनको २८ सय भारु थप तिर्नुपर्छ। यसका अतिरिक्त दैनिक कोठाभाडा भारु पाँच सय तिर्नैपर्छ। खाना खर्च अलग्गै। सरसर्ती हिसाब गर्दा महिनामा एक लाख भारु खर्च हुन्छ। उनले डेढ वर्षदेखि यो खर्च गरिरहेका छन्। कतिपय अवस्थामा त थप खर्च पनि हुने गरेको छ। ‘निकै महँगो रहेछ। पाइलैपिच्छे पैसा खर्च हुन्छ। हिसाब गर्नै छाडिसकें, ज्यानका लागि गर्नैपर्ने रहेछ,’ गुरुङले भने।

डिल्लीबजारकी दिव्या प्रधान २०७३ साल असार मसान्तमा नेपाल बैंकको जागिरबाट अवकाश पाउँदै थिइन्। त्यही वर्ष साउनमा श्रीमान् रत्नलाई हल्का खोकी लाग्न थाल्यो। परीक्षण गर्दा पेटमा क्यान्सरको आशंका गरियो। उनीहरू त्यही वर्ष मंसिरमा दिल्लीका लागि उडे। अनि सुरु भयो, दिव्याको अर्को दैनिकी।

नयाँदिल्लीको राजीव गान्धी अस्पताल र सोमबजारको डेराबीचको दूरी उनले कतिपटक तय गरिन्, उनलाई नै हेक्का छैन। करिब दुई वर्षको उपचारपछि रमेश पेटको समस्याबाट मुक्त भइसकेका थिए। तर, तीन महिनाअघि एकाएक ढाडमा अर्को समस्या देखा पर्‍यो। जाँचपछि डाक्टरले त्यसलाई सानो ट्युमर ठहर गरे। फेरि सुरु भयो केमो र सोम बजारको बसाइ शृंखला। त्यो कहिले टुंगिने भन्नेमा उनीहरू आफैं ढुक्क छैनन्।

तीन वर्षमा भएको खर्चको कुनै हिसाब नै छैन। ‘४०–४५ लाखभन्दा बढी खर्च भइसकेको होला,’ उनले भनिन्। रमेशकै उपचारका लागि उनले बैंकबाट रिटायर्ड हुँदा पाएको रकम सबैजसो खर्च गरिसकेकी छन्। ‘घरबार बेचेर पनि उपचार त गर्नैपर्‍यो,’ उनले भनिन्।

दिल्लीकै गंगाराम अस्पतालमा उपचार गराइरहेका नवीनका बुबा वीरबहादुरको व्यथा पनि त्यस्तै छ। पछिल्लो चार महिना छोराको उपचारका लागि कहाँसम्म पुगेनन्। सुर्खेतदेखि नेपालगन्ज, काठमाडौं र लखनउसम्म अस्पताल धाए तर रोग पहिचानसमेत भएन। यसबीच उनको चार लाख खर्च भइसकेको छ। थप खर्च कति लाग्ने हो ठेगान छैन। अप्रेसनका लागि दुई लाख भारु चाहिन्छ भनेपछि त्यसको जोहो गरेर उनी दिल्ली आइपुगेका छन्। ‘अहिले पनि मलाई त के हो, के हो लागिरहेको छ, विश्वास नभए पनि के गर्नु छोराका लागि सक्दो गर्नैपर्‍यो,’ उनले भने।

नेपालीका कारण दिल्लीका अस्पतालसँगै आसपासका होटल र अपार्टमेन्टसमेत भरिभराउ भएका छन्। राजीव गान्धी क्यान्सर अस्पतालभन्दा केही परको सोम बजारका अपार्टमेन्टमध्ये अधिकांश नेपालीले भरिभराउ हुने गरेका छन्। मेदान्त र अपोलो अस्पताल नजिकदेखि पहाडगन्जसम्मका होटलमा नेपाली बिरामी भेटिन्छन््। मेदान्त पछाडिको इस्लामपुरका होटलका ७० प्रतिशत कोठा नेपाली बिरामीले भरिएका छन्।

स्वदेशी सेवाप्रति अविश्वास
नेपालका अस्पतालले जथाभावी शुल्क लिने र डाक्टरले आवश्यक परामर्श नदिने गरेका कारण दिल्ली आउन बाध्य बनेको अधिकांश बिरामी बताउँछन्। तीन वर्षअघि ढाड दुख्ने समस्याले पिरोल्यो कीर्तिपुरका बाबुशरण सुवेदीलाई। काठमाडौंका सबैजसो नाम चलेका अस्पताल धाउँदा धेरैले तत्काल अप्रेसन गर्नुपर्छ भने। तर, उनी विश्वस्त भएनन्। साथीभाई सल्लाहमा एकपटक दिल्ली जाने निधो गरे। यहाँ दिल्लीमा जचाउँदा चिकित्सकले केही समय औषधि खान र नियमित शारीरिक अभ्यास गर्न सल्लाह दिए। अहिले उनी त्यो समस्याबाट करिबकरिब मुक्त छन। आफूले भोगेको त्यही तीतो अनुभवकै कारण आफूले काकालाई काठमाडौंमा नजचाएर सिधै दिल्ली ल्याएको उनले बताए।

‘हाम्रा देशका अस्पतालमा सुविधा नभएको होइन, चिकित्सक पनि दक्ष छन् तर व्यवहार नै राम्रो भएन,’ काकाको उपचारका लागि आएका सुवेदीले भने, ‘अर्काका देशमा आउँदा पीडा हुन्छ, पैसा पनि खर्च हुन्छ तर काठमाडौंका डाक्टरले राम्रो परामर्श नगरिदिएकाले जोखिम मोल्न सकिएन।’

सुर्खेतका वीरबहादुर पनि सुवेदीको भनाइसँग सहमत छन्। छोराको रोगलाई नेपालका डाक्टरले गम्भीरतापूर्वक नलिएको उनी बताउँछन्। सुर्खेतदेखि काठमाडौंसम्म धाउँदासमेत ‘तिम्रो छोरालाई यो भएको र यसको उपचार यो हुन्छ’ भनेर कसैले नभनिदिएको उनको गुनासो छ।

कार्यवाहक राजदूत रेग्मीसमेत बिरामीको संख्या यसरी बढ्नुमा नेपालको स्वास्थ्य क्षेत्रप्रति बढेको अविश्वासतर्फ नै संकेत गर्छन्। ‘यो संख्याले त नेपाली डाक्टर र अस्पतालमाथि विश्वास गर्न नसकेको हो कि भन्ने नै देखाउँछ। अधिकांश बिरामी नेपालमै उपचार सम्भव हुँदाहुँदै यहाँ आउने गरेका छन्।’

रेग्मीले दिल्लीमा उपचारका लागि आउने विशिष्ट व्यक्तिहरूलाई देशको स्वास्थ्य क्षेत्रमा देखिएका समस्याबारे अवगत गराउने योजनामा रहेको बताए।

प्रकाशित : श्रावण २८, २०७५ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्

साहित्यमा मगरपनको खोजी 

कान्तिपुर संवाददाता

काठमाडौँ — मगर साहित्यमा आफ्नै समाज, विषयबस्तु र संस्कृतिको प्रभाव के कस्तो छ ? हालै राजधानीमा बहस चल्यो । जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानले गरेको कार्यक्रममा साहित्यमा मगरपन खोज्दै मगर भाषामा प्रकाशित कृतिहरुको समेत विश्लेषण गरियो । 

छलफलको विषय थियो, ‘मगर साहित्यमा मगर पन’ । भाषाविद अमृत योञ्जन तामाङले ‘नेपालमा भाषिक मानवअधिकारको स्थिती’ कार्यपत्र प्रस्तुत गर्दै मातृभाषाहरु समस्यामा पर्दै गएको जनाए । कार्यपत्रमाथि लोकबहादुर थापा मगरले टिप्पणी गरे । त्यस्तै सञ्जोग लाफा मगरले ‘मगर साहित्यको इतिहास’ कार्यपत्रमा प्रस्तुत गर्दै अहिलेसम्म मगर साहित्य कृति १ सय ७३ वटा प्रकाशन भइसकेको जनाए ।

कार्यपत्रमाथि विष्णु सिंजाली मगरले टिप्पणी गरे । समाज कल्याण परिषदको सहकार्य रहेको कार्यक्रममा महिला तथा बालबालिका मन्त्री थममाया थापा मगर र नेपाल मगर संघ भाषिक उपाध्यक्ष दलबहादुर विरकट्टा मगरले पनि मगर भाषा साहित्यको प्रवर्द्धन र महत्वबारे प्रकाश पारे ।

प्रकाशित : श्रावण २७, २०७५ २१:४७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT