कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

सिक्का पोखरी

दीपेन्द्र शाक्य

संखुवासभा — धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको सभापोखरीमा वर्षौंदेखि भेटी संकलन भएको छैन । यहाँ पुजारीले पनि भेटी लिँदैनन् । पूजा गर्न पुगेकाहरूले चढाएको भेटी पोखरीमै देख्न सकिन्छ । सभापोखरी गाउँपालिकामा रहेको यो धार्मिक पोखरीको दर्शन गर्न विभिन्न जिल्लाबाट भक्तजन आउँछन् । भक्तजनहरूले चढाएको भेटी संकलन नहुँदा लाखौँ रुपैयाँ पोखरीमै छ ।

सिक्का पोखरी

पोखरीका पुजारी बाबुराम अधिकारीका अनुसार यहाँ दर्शन गर्न हरेक वर्ष २ हजारभन्दा बढी आन्तरिक तथा बाह्य भक्तजन आउँछन् । यहाँ आएर पूजा गरिसकेपछि चढाएको ढक्की र सिक्का पैसा पोखरीभरी सेताम्मे देखिन्छ ।


‘तीर्थयात्रीले चढाएको दक्षिणा कुनै पनि निकायले संकलन गरेका छैनन्,’ अधिकारी भन्छन्, ‘२०१५ सालदेखि म पूजा गर्दै आएको छु । भक्तजनले चढाएको भेटी संकलनमा कसैले चासो देखाएको छैन ।’ संकलन नभएपछि कागजी नोट कुहिएर जाने गरेको उनले बताए । भेटी संकलन गरी भक्तजन राख्ने पाटीपौवा निर्माण गर्न सकिने उनको भनाइ छ ।


एकपटक बनेको समितिले पनि भेटी संकलन नगरी त्यसै छाडेको उनले सुनाए । आफ्नो काम सिद्ध भएपछि भक्तजनले विभिन्न धातुका पैसा र गरगहनासमेत पोखरीमा चढाउने गरेका छन् । ‘मलाई कसैले टीका लगाएपछि दिएको दक्षिणा मात्र लिन्छु,’ उनले भने, ‘सभापोखरीमा चढाइएका पैसा र अन्य सामग्री लिन्नँ ।’


सभापोखरीबाट फर्किएका खाँदबारीका सन्तोष चापागाईं गाउँपालिकाले यसको व्यवस्थापन गर्नुपर्ने बताउँछन् । ‘हामीले गाउँपालिका अध्यक्षको पनि ध्यानाकर्षण गराएका छौं,’ उनले भने, ‘यहाँ संकलित भेटी व्यवस्थापन गर्नुपर्छ ।’ संकलित रकमले यसको विकास र प्रवद्र्धनमा प्रयोग गर्न सकिने उनले बताए । समिति बनाएर चढाएको रकम संकलन गर्ने व्यवस्था मिलाउनुपर्ने अर्का स्थानीय लेखनाथ बुढाथोकी बताउँछन् । संकलित रकम दुरुपयोग नगरी बाह्रबीसेबाट सभापोखरीसम्म जाने गोरेटोबाटो चौडा गर्न प्रयोग गर्नुपर्ने उनको सुझाव छ ।


पोखरीमा भेटी मात्र नभई फोहोर थुप्रिन थालेको छ । दैनिक पुग्ने भक्तजनहरूले प्रयोग गरेका प्लास्टिक छरपस्ट देख्न सकिन्छ । ‘कतिपय भक्तजनले लत्ताकपडा पनि फाल्ने गरेका छन्,’ उनले भने, ‘त्यसको व्यवस्थापन हुन सकेको छैन ।’ सभापोखरी पुगेका माधव सापकोटाका अनुसार पोखरी आसपास दर्शनार्थी बस्न २ वटा पाटी बनिसकेका छन् भने एउटा निमार्णाधीन छ ।


‘म चार पटक यो पोखरीको दर्शन गर्न आएँ, पहिलेभन्दा फोहोर झन् झन् बढदै गएको छ,’ उनले भने, ‘संरक्षण र व्यवस्थापनमा कसैले ध्यान नदिँदा प्रचार पनि भएको छैन, फोहर पनि थपिँदै गएको छ ।’ दर्शनार्थीले पाटी बनाए पनि शौचालयको अभाव छ । यहाँ आउने पर्यटक शौचालय नहुँदा पोखरी आसपास खुला स्थानमा दिसापिसाब गर्न बाध्य छन् । सभापोखरी सदमुकाम खाँदबारीबाट ४ दिनको पैदल दूरीमा पर्छ । पोखरीमा जनैपूर्णिमाका दिन ठूलो मेला लाग्छ ।


पूजा गरे सन्तानलाभ

किंवदन्तीअनुसार पृथ्वीमा दैत्यहरूले गर्ने विनाश रोक्न देवताहरूले यहाँ सभा बसी योजना बनाएका थिए । अर्को किंवदन्तीअनुसार व्यासमुनिले सम्पूर्ण देवीदेवतालाई भेला गराएर पुराण भनेका थिए । सन्तान नहुनेहरूले यहाँ पूजा गरेमा सन्तान हुने विश्वासका साथ श्रद्धालुहरू पुग्ने गरेका छन् । यो तालको लम्बाइ २ सय मिटर र चौडाइ करिब १ सय मिटर छ ।


समुद्र सतहदेखि ४ हजार २ सय ४० मिटर उचाइ छ । गाउँपालिकाको नामसमेत यसै पोखरीबाट राखिएको छ । यो पोखरी धार्मिक, ऐतिहासिक तथा पर्यटकीय हिसाबले निकै महत्त्वपूर्ण भए पनि संरक्षणमा हालसम्म कसैले चासो नदिएको गुनासो स्थानीयको छ । बहुमूल्य जडीबुटी, लोपोन्मुख वन्यजन्तु पाइने क्षेत्र भएकाले पनि राज्यले विशेष ध्यान दिन आवश्यक भएको उनीहरू बताउँछन् ।

प्रकाशित : श्रावण २८, २०७५ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?