कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एयरपोर्टले उठिबास लगाउने डर

थप जग्गा अधिग्रहण क्षेत्रमा २ सय ७५ घरधुरी छन् । धेरैले बैंकबाट ऋण लिएर घर बनाएकाले अधिग्रहण भइहालेमा त्यो रकमले बैंककै ऋण तिर्न पुग्दैन
भीम घिमिरे

पोखरा — घर बनिसकेर बस्नुअघिको अन्तिम तयारीको काम थाल्न आएका मजदुरलाई शुक्रबार मझेरीपाटनका ताराप्रसाद अधिकारी काम गराउनु कि नगराउनु भन्ने दोधारमा थिए । ‘नेपाली सेनाको जागिरबाट जोडेको एउटा घडेरीको टुक्रा र यही घर हो,’ उनले भने, ‘त्यो पनि अब अधिग्रहणमा पर्छ भनेपछि केही सोच्नै सकेको छैन ।’

एयरपोर्टले उठिबास लगाउने डर

निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले थप जग्गा अधिग्रहणका लागि सर्वे गर्ने भएपछि अधिकारीजस्ता नयाँ घर बनाएर सर्ने तयारीमा रहेका दुई दर्जनले टाउकामा हात लगाइरहेका छन् । हाल निर्माणाधीन विमानस्थलको साँधको चार सय मिटर उत्तरपूर्वसम्म अधिग्रहण गर्न नापी गरिने भन्दै विमानस्थल निर्माण आयोजनाले पोखरा–१४ को वडा समितिलाई गत सोमबार पत्र पठाएको थियो । वडा समितिले स्थानीयलाई जानकारी गराएपछि चिन्ता बढेको हो ।


विमानस्थल निर्माणका लागि यसअघि तीनपटक गरी ३ हजार ६ सय ८७ रोपनी जग्गा अधिग्रहण भइसकेको छ । चार दशकअघि १४, १५ र १८ नम्बर वडाको ३ हजार १ सय ६ रोपनी अधिग्रहण गरिएको थियो । घरघडेरी र खेतीपाती गर्दै आएको जग्गा अधिग्रहणमा परेर अलि पर सरेर बसेकाहरू पुन: विमानस्थलले अधिग्रहणका लागि नापी गर्ने सूचनाले आक्रोशित छन् । ‘पहिले पनि मुआब्जामा पहुँच भएकालाई धेरै, नहुनेलाई थोरै दिने भनेर मनमानी भएको हो,’ ६६ वर्षीय हर्कबहादुर थापा भन्छन्, ‘अब फेरि अधिग्रहण गरेर थातबास उठाउँछु भन्नु राज्य आतंक हो ।’ सँधियारले खेतीपाती नै नहुने जमिनको रोपनीको २९ लाख र कुलो भएको, खेती हुने आफ्नो जमिनको २० लाख दिइने भनिएपछि नलिई बसेका थापाले अझै विमानस्थलले तारबार गरिसकेको जग्गाभित्र खेती गर्दै आएका छन् ।


‘त्योबेला नेता रवीन्द्र अधिकारीले हामी २० लाख पाउनेलाई एयरपोर्ट बनेपछि ४० रोपनी उब्रिन्छ, तपाईंहरूलाई त्यसमै दिलाउँछौं भनेर ढाँटे,’ उनले भने, ‘अब फेरि उठिबास लाउन खोज्दै छन् हामी त्यसै कसरी मान्नु ?’ फेरि थप जग्गा अधिग्रहणका लागि नापी गरिने सूचनापछि स्थानीयले संघर्ष समिति गठन गरेका छन् । ‘बाटो विस्तार भए जग्गाको भाउ बढ्छ, दु:खमनाउ भएन,’ संघर्ष समिति संयोजक गनेस पौडेलले भने, ‘एयरपोर्टको साँध परेका जमिनको न भाउ बढ्छ न त्यसबाट लाभ हुन्छ । यहाँ जीवनभर दु:ख गरेर घर बनाएकाहरूले मुआब्जामा अरू ठाउँ लिनै नसक्ने अवस्था आयो ।’


विमानस्थलले मनलाग्दी अधिग्रहण गर्न नपाउने उनले बताए । ‘इन्टरनेसनल एयरपोर्टको यत्रो ठूलो परियोजना, कति धेरै वर्षदेखि होमवर्क भएको हो,’ उनले भने, ‘कति जग्गा चाहिन्छ, कत्रो बन्छ भन्ने पहिल्यै नापजोख भएको हो । अब चुबुरचुबुर जग्गा लिन्छु भनेर साँधकिल्ला थप्दै गए जनताले कसरी मान्ने ?’


आफूहरू विकास विरोधी नभए पनि सामाजिक न्यायको सिद्धान्तको साटो सरकारले एयरपोर्टका नाममा आफूखुसी गरेकाले विरोध गर्नुपर्ने अवस्था ल्याएको उनले बताए । उनका अनुसार अब अधिग्रहण गर्ने भनिएको क्षेत्रमा २ सय ७५ हाराहारी घरधुरी छन् । धेरैले बैंकबाट ऋण लिएर घर बनाएका छन् । अधिग्रहण भइहालेमा दिइने घरघडेरीको मुआब्जा बैंककै ऋण तिर्न नपुग्ने भएकाले अधिकांशको उठिबास लाग्ने अवस्था हुनेछ । कतिपय घरधनी पहिलो र दोस्रो अधिग्रहणमा परेपछि तेस्रोपटक नयाँ बास बनाएर बसेकाहरू छन् ।


सन् २०२१ को जुलाईसम्म तयार पार्ने गरी विमानस्थल निर्माणको काम चिनियाँ कम्पनी सीएएमसीईले गरिरहेको छ । ‘डिजाइन र निर्माण सँगसँगै अघि बढाउने ईपीसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) ठेक्का हो,’ विमानस्थल निर्माण आयोजनाका प्रमुख विनेश मुनकर्मीले भने, ‘अहिले हामीले थप करिब साढे तीन सय रोपनी जग्गा चाहिएको भएर सर्वे मात्रै गर्ने भनेका हौं । अधिग्रहण हुने नहुने निर्णय भइसकेको छैन ।’ इन्धन भण्डारण, निजी विमान कम्पनीको हयाङ्गर र विमान आएको सूचना दिने उपकरण राख्नका लागि थप जग्गा चाहिने भएपछि आयोजनाले सर्वे गर्न चाहेको उनले बताए ।


‘१५ रोपनी छुट्याएका थियौं, आयल निगमले ४० रोपनी चाहिन्छ भनेर पत्र पठाएको छ,’ उनले भने, ‘आयल निगमको क्षेत्रीय डिपो नजिकै लेखनाथमा छ । एयरपोर्टमै स्टोर बढाउनुभन्दा हामी यो विषयमा फेरि छलफल गर्छौं ।’ त्रिभुवन विमानस्थलबाट नजिक र निजी विमान कम्पनीले पोखरालाई बेस बनाएर हयाङ्गर राख्न चाहेकाले जग्गा व्यवस्थापन आवश्यकता भएको दाबी उनले गरे । २५ सय मिटर लम्बाइ र ६० मिटर चौडाइको धावनमार्ग रहने भनिएको विमानस्थलको निर्माण लागत २१ अर्ब ४७ करोड रुपैयाँ अनुमान गरिएको छ ।

प्रकाशित : श्रावण २८, २०७५ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?