भेरी–बबई डाइभर्सन: साढे ६ किमि सुरुङ खनियो

कमल पन्थी

बर्दिया — भेरी–बबई बहुउद्देशीय डाइभर्सन आयोजनामा टनेल बोरिङ मेसिन (टीबीएम) ले साढे ६ किमि सुरुङ खनेको छ । सुरुङ खन्दा सबैभन्दा बढी जोखिम मानिएको तोला खोला पार भएको छ ।
चुरे पहाडको तोला खोला आसपासको क्षेत्र निकै जोखिमपूर्ण मानिएको थियो ।

भेरी–बबई डाइभर्सन: साढे ६ किमि सुरुङ खनियो

यो क्षेत्रमा जमिनदेखि २ सय मिटरमुनिबाट सुरुङ खनिएको छ । जोखिम टरेपछि आयोजनाका कर्मचारी लक्ष्यभन्दा चाँडै सुरुङ निर्माण हुने बताउँछन् ।


आयोजनाका डिभिजनल इन्जिनियर अजय अधिकारीले टीबीएम मेसिन जोखिम क्षेत्र पार गर्दै करिब ५ सय मिटर पर पुगेको बताए । ‘सन् २०२० सम्म १२ किमि सुरुङ खन्ने लक्ष्य रहेकामा साढे ६ किमि खन्ने काम पूरा भएको छ,’ उनले भने, ‘टीबीएमले दैनिक ४० देखि ५० मिटरसम्म सुरुङ खन्ने काम गरिरहेको छ ।’


आयोजनाअन्तर्गत भेरी नदीको पानी खसालेर बर्दिया र बाँकेको ५१ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यका साथ ३ वर्षअघि काम सुरु भएको हो । यसबाट ४८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ । सुरुङ खन्ने र विद्युत् उत्पादन गर्न ०७१ माघ १५ गते चीनको चाइना ओभरसिज इन्जिनियरिङ ग्रुपसँग सम्झौता भएको थियो । सोही वर्ष चैतमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले आयोजना शिलान्यास गरेका थिए ।


भेरी नदीको पानी भेरीगंगा नगरपालिका ९, चिप्लेदेखि भेरीगंगा १, हात्तीखालमा खसालेर सिँचाइ सुविधा पुर्‍याउने उद्देश्य रहेको डीई अधिकारीले बताए । १ सय ५० मिटरसम्म परम्परागत प्रविधिबाट खनेपछि टीबीएम मेसिन प्रयोग गरी सुरुङ खन्ने काम अगाडि बढाइएको थियो ।


ड्रिल मेसिन प्रयोग र ब्लास्ट गरी १ सय ५० मिटर सुरुङ खनिएको थियो । परम्परागत प्रविधिबाट सम्भव नभएपछि अमेरिकी कम्पनी रविन्सनले निर्माण गरेको टीबीएम मेसिन चीनबाट ल्याइएको हो । ५४ वटा टीबीएम मेसिन सञ्चालनका लागि सय जना चिनियाँ प्राविधिक खटिएका छन् ।


५ सयभन्दा बढी नेपाली कामदार पनि संलग्न छन् । सुरुङको चौडाइ करिब साढे ५ मिटर छ । सुरुङ खन्दा माटो बाहिर ल्याउन र सेगमेन्ट लिन मोनोरेल प्रयोग गरिएको आयोजनाले जनाएको छ । आयोजना सम्पन्न गर्न १६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित : श्रावण २८, २०७५ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?