प्रहरी हत्याका अभियुक्त राज्यमन्त्री शर्माद्वारा अदालतमा आत्मसमर्पण

सन्तोष सिंह

महोत्तरी — उच्च अदालत जनकपुरको आदेश अनुसार प्रहरी हत्याका अभियुक्त प्रदेश २ का राज्यमन्त्री अभिराम शर्माले सोमबार जिल्ला अदालत महोत्तरीमा आत्मसमर्पण गरेका छन् । अघिल्लो मंगलबार अदालतले आदेश गरेको भएपनि प्रहरीले अझै पक्राउ गरेको थिएन । 

प्रहरी हत्याका अभियुक्त राज्यमन्त्री शर्माद्वारा अदालतमा आत्मसमर्पण

उनी बिहान ११ बजेतिर राज्यमन्त्रीको हैसियतमा प्राप्त सुरक्षाकर्मीका साथ अदालतमा उपस्थित भएका हुन् । राज्यमन्त्री शर्मा र जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र (शंकर शाही) लाई पक्राउ गर्न उच्च अदालतले प्रहरीका नाममा परमादेश जारी गरेको थियो । मिश्र अझै पक्राउ परेका छैनन् ।


उनीमाथि मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा संलग्न भएको अभियोग लागेको छ । उनीसंगै जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र (शंकर शाही) लाई पनि अदातले पक्राउ गर्न आदेश दिएको थियो ।

उच्च अदालत, जनकपुरका न्यायधीशद्वय माधवप्रसाद पोखरेल र रवि शर्मा अर्यालको इजलासले अघिल्लो मंगलबार असई विकको हत्या आरोपीलाई अबिलम्ब पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय, महोत्तरी र त्यसका प्रमुखको नाममा परमादेश जारी गरेका थिए । परमादेशमा आरोपी पक्राउ गर्न जिल्ला अदालत महोत्तरीको आदेश अटेरी गरेका महोत्तरी प्रहरीलाई उच्च अदालतले ‘कानुनको धज्जी नउडाउन’ समेत सचेत गराएको थियो ।


राज्यमन्त्री शर्मा र मेयर मिश्र राष्ट्रिय जनता पार्टी (राजपा) बाट निर्वाचित भएका हुन् । तेस्रो मधेस आन्दोलन चलिरहँदा महोत्तरीमा कार्यरत सशस्त्र प्रहरीका असई विकको २०७२ भदौ २५ गते हत्या गरिएको थियो ।


आन्दोलनकारीको आक्रमणमा परेर गम्भीर घाइते विकलाई उपचारका लागि जनकपुर ल्याउने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो ।


विक हत्याका २८ जना आरोपीमध्ये महोत्तरीका सञ्जय साह र प्रदिप साह पूर्पक्षका लागि कारागार चलान भइसकेका छन् । भने, अर्का आरोपी मोहन ठाकुर तारेखमा छन् ।


असई विकको हत्यामा संलग्न २८ जनाको नामै किटेर उनका दाजु प्रेमवहादुर विकले २०७२ असोज १ गते जिल्ला प्रहरी कार्यालय, महोत्तरीमा जाहेरी दिएका थिए। त्यही जाहेरीको आधारमा जिल्ला अदालत महोत्तरीले २०७२ फागुन २७ गते बयानका लागि इजलाससमक्ष पेश गर्न र फरार रहेका प्रतिवादीहरुको हकमा वारेन्टको ७० दिने म्यादी पूर्जी जारी गरेको थियो।


फरार आरोपीलाई पक्राउ गर्न वारेन्ट जारी गरेको ७० दिनसम्म पनि महोत्तरी प्रहरीले आलटाल गरेपछि असई विककी श्रीमती शोभा गहतराजले २०७४ चैत २८ गते परमादेशका लागि उच्च अदालत, जनकपुरमा रिट दायर गरेकी थिइन्। उनको रिटमा जिल्ला प्रहरी कार्यालय, महोत्तरी र कार्यालयका प्रमुखलाई विपक्षी बनाइएको थियो।

प्रकाशित : श्रावण २८, २०७५ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?