औद्योगिक क्षेत्र जलमग्न

रासस

राजविराज — लगातार दुई दिनदेखि परेको अविरल वर्षाका कारण सप्तरीको रुपनी गाउँपालिका–५ बसबिट्टीमा रहेको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र अहिले जलमग्न भएको छ । 

पानीको निकास हुन नसकेका कारण औद्योगिक क्षेत्र जलमग्न हुँदा त्यहाँ रहेका उद्योगमा समेत पानी पस्दा लाखौँको क्षति भएको स्थानीय श्याम यादवले जानकारी दिए । उद्योगमा पानी पस्दा पाइप बनाउनमा प्रयोग हुने केमिकललगायत कच्चा पदार्थमा समेत क्षति भएको छ ।

Yamaha

भारत सरकारको सहयोगमा २२ बिगाहा क्षेत्रफलमा निर्मित उक्त औद्योगिक क्षेत्रमा पानीको निकास हुन नसक्दा जलमग्न भएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।

एक वर्ष अगाडि आएको बाढीले औद्योगिक क्षेत्रको पर्खाल भत्किएको भए पनि सरकारको ध्यान नपुगेकाले सानो पानी परेको बेला पनि यहाँ जलमग्न हुने गरेको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र उद्योग सङ्घका महासचिव रामकुमार दासले बताए ।

औद्योगिक क्षेत्रमा व्यापक समस्या रहेको भन्दै हाल जलमग्न भएकोप्रति चिन्ता व्यक्त गर्दै अविलम्ब समस्या समाधान गर्न गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र उद्योग सङ्घका अध्यक्ष जीवछ यादवले सरकारसँग अपिल गरेका छन् ।

हाल उक्त औद्योगिक क्षेत्रमा मिलन डेरी उद्योग, महालक्ष्मी पेट इन्डष्ट्रिज र कृष्णा खाद्य उद्योग गरी तीन वटा उद्योग सञ्चालनमा छन् भने महालक्ष्मी खाद्य उद्योग, एसएण्डको इलेक्ट्रोड्स, पदमज्योति प्लाष्टिक उद्योग र अल नेप्लीज टि एण्ड कफी उद्योग बन्द छन् ।

प्रकाशित : श्रावण २८, २०७५ १२:४०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

जलेश्वर कारागार डुबानमा

रासस/याेन्हाप

गौशाला — भीषण वर्षापछि महोत्तरी, धनुषा र केही दिनदेखि सर्लाही जिल्लाको संयुक्त कारागारका रुपमा रहेको जलेश्वर कारागार डुबानमा परेको छ । 

जिल्लामा गएराति भएको मुसलधारे वर्षाको पानीले जलेश्वर कारागार सोमबार बिहान डुबानमा परेको हो । एक सय ६० वर्ष पुरानो राणाकालीन जलेश्वर कारागार जलेश्वर नगरपालिका–२ मा सबैभन्दा गहिरो स्थानमा अवस्थित छ भने वर्षाको बेला यो कारागार पटकपटक डुबानमा पर्ने गरेको जेलर शोभेन्द्र ठाकुरले बताए ।

वर्षाका कारण कारागारको प्राङ्गणभित्र तथा बाहिर चारैतिर पानी भरिएको छ भने कार्यालय प्रमुख बस्ने तथा कर्मचारी प्रशासन कक्षमा समेत पानी प्रवेश गरेको छ ।

कारागारको भित्र कैदीबन्दी बस्ने बन्दीगृहबाट पानी निकासका लागि बनाइएको नाला भएर पनि बाहिरको पानीभित्र प्रवेश गरेको चौकीदार श्रीनारायण महतोले बताए ।

आगलागीमा आठ लाखको क्षति

यसैगरी महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाको एक घरमा आज बिहान भीषण आगलागीमा परी रु आठ लाखको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार मटिहानी नगरपालिका–८ बस्ने विपीनकुमार लालकर्णको घरमा भएको आगलागीमा आठ लाख मूल्य रुपैयाँ बराबरको क्षति भएको हो ।

बिहान करीब ३/४ बजे कर्णको घरमा विद्युत् सर्ट भई आगलागी भएको थियो भने आगलागीमा उनका घरभित्रका नगद, गरगहना, अन्न, लत्ता कपडा, भाडाकुँडा, टेलिभिजन, मोबाइलसहित रु आठ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको थियो ।

कर्णको घरमा भएको आगलागी नेपाल र सशस्त्र प्रहरीले संयुक्तरुपमा नियन्त्रणमा लिएका थिए ।

प्रकाशित : श्रावण २८, २०७५ १२:३८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT