सामान्य प्रशासनका उपसचिवमाथि आक्रमण प्रयास 

कान्तिपुर संवाददाता

काठमाडौँ — तत्कालिन नेकपा एमाले निकटको नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषी आचार्यमाथि हातपात प्रयास गरेका छन् ।

आइतबार अपरान्ह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखामै गएर भण्डारीले आचार्यलाई गालिगलौज गर्दै झम्टिएको प्रत्यक्षदर्शी एक कर्मचारीले बताए । आफूले भनेको ठाउँमा कर्मचारी सरुवा नगरेको भन्दै मन्त्रालयमा प्रवेश गरेर आक्रमणमै उत्रिएका हुन् ।

Yamaha

भण्डारीकै आग्रह अनुसार शाखा अधिकृत नेत्रराज गिरीलाई उनले नै रोजेको डोल्पामा पठाइएको थियो । स्रोतका अनुसार उनले पछि जान मानेका थिएनन् र चिठी पनि बुझेका थिएनन् । भण्डारीले उनलाई अन्यत्रै सरुवा गर्न दबाब दिएका थिए ।
प्रत्यक्षदर्शीका अनुसार उपाध्यक्ष भण्डारीले मन्त्रालयको झ्यालको सिसा, टेबुल र गमलासमेत फुटाएका छन् । भण्डारीले यसअघि पनि मन्त्रालयहरुमा हंगामा मच्चाउने गरेको स्रोतले कान्तिपुरलाई बतायो ।

Esewa Pasal

प्रकाशित : श्रावण २८, २०७५ १३:४२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

लागुऔषधको भन्दा सामाजिक सञ्जालको लत कडा

जगन कार्की

बेलायत — सामाजिक सञ्जालको प्रयोग बढ्दो छ । समाजका अनुसन्धाताहरु सामाजिक सञ्जालको लत लागु औषधको भन्दा पनि खतरानाक भएको औल्याइ रहेका छन् । यद्यपी यसबाट जोगिने र जोगाउने ठ्याक्कै उपाय छैन । न्यूनीकरणका केही उपायहरु भने आवश्य छन् ।

बेलायतको नटिंघम ट्रेन्ट बिश्वबिध्यालयका प्रविधि र सामाजिक व्यवहारमा आएको बदलाव अध्ययन गर्दै आएका २ जना मनोविश्लेषकहरुले व्यक्ति सामाजिक सञ्जालको लतमा फसेको छ कि छैन भन्ने जान्न निम्न ६ प्रश्नहरुको विकास गरेका छन्:
१. तपाईलाई सामाजिक सञ्जालमा धेरै भन्दा धेरै बस्न मन लाग्छ ? र नबसेको बेला सामाजिक सञ्जालमा बसौं बसौं जस्तो हुन्छ?

२. अन्य काम गरिरहेको बेला समय समयमा सामाजिक सञ्जालको प्रयोग गर्न र त्यसको जरुरी महशुस हुन्छ?

३. व्यक्तिगत वा जीवनका अन्य समस्याहरु बिर्सिन सामाजिक सञ्जाल चलाउने गर्नु हुन्छ?

४. सामाजिक सञ्जालको प्रयोग कम गर्न खोज्दा त्यसो गर्न नसकी रहनु भएको छ?

५. सामाजिक सञ्जाल प्रयोग गर्न नपाउँदा बेचैन महशुस गर्नुहुन्छ?

६. सामाजिक सञ्जालको अधिक प्रयोगले घर, परिवार र सम्बन्धमा समस्याहरुमा पर्नु भएको छ?

यी प्रश्नहरु मध्ये केहीको पनि उत्तर हो भन्ने लाग्छ भने तपाइँ कुनै न कुनै रुपमा सामाजिक सञ्जालको लतमा हुनुहुन्छ भन्ने पुष्टि हुने यो प्रश्न निर्माणकर्ता मानोविश्लेषकहरुको राय छ ।

सामाजिक सञ्जालले हाम्रा दैनिक व्यवहार र आचरणहरुमा परिवर्तन ल्याईरहेको कुरा बिभिन्न घटनाहरूले पुष्टि गर्दै आएको छ । बेलायतमा भर्खरै प्रकाशित एक तथ्य भन्छ त्यहाँका प्रत्यक नागरिकले औसतमा प्रत्यक १२ मिनेटमा आफ्नो स्मार्ट फोन चेक गर्ने र सञ्जालहरु रिफ्रेस गर्ने एक तथ्यले देखाएको छ । यो त सामाजिक सञ्जाल नचलाउने वा अनुशासनमा चलाउनेहरु सबैको औसत समय देखिन्छ तर अधिक लतमा लागेकाहरुले प्रत्येक मिनेट चेक गर्ने देखि २-३ मिनेटमा चेक गरिरहने तथ्य पनि यसै साथ आएको थियो ।

फोन र कम्पुटरमा नै लामो समय जोडिएर बस्नले बिकसित हुने अन्तर्मुखी स्वभावदेखि केवल सामाजिक सञ्जालमा मात्र देखाउनका लागि गरिने हर्कतहरुले सञ्जालको संस्कारले गहिरो रुपमा समाजलाई गाँज्दै लागिरहेको परिस्थिति छ ।

सामाजिक सञ्जालमा आफुले नसकेको क्षमता पनि प्रस्तुत गर्न कस्सिने त छँदैछ अर्काको हेरेर डाहा र आरिसले अझै प्रताडित हुनेहरुको संख्या त्यतिनै भएकोले मानिस नकारात्मक बन्ने र बेखुशी हुने विभिन्न मनोविश्लेषकहरुको राय पनि छ ।

यसरी समग्रमा खुशी हुने भन्दा बेखुसी हुने, अराजकता र अनावश्यक बिषय-बस्तुमा नचाहिने बहस, राजनीतिका उल्टा पाल्टा घोचपेचले समाजमा सहजता भन्दा असहजता र जटिलतामा बढी गईरहेको बिबिध दृष्य दैनिक रुपमा देखिन पाइन्छ । यो तथ्यलाई सञ्जालमा सकारात्मक भन्दा बढी नकारात्मक पोस्ट र कमेन्टहरुमा लाइक र शेयर हुने दृष्टान्तले पनि थप पुष्टि गर्दछ ।

सामाजिक सञ्जालमा कोहि अर्काका बिचार र भनाई कपि गरेर आफ्नो बनाउने छन् भने कोहि ठुलो आविस्कर गरे जस्तो गरि ति विचारलाई परिस्कृत गरेर अफ्नो बानाउनेहरु पनि छन् ।

विचारको संवाहक तथा सर्जकहरुको मानहानी गरेको पाटोमा खुल्ला बौद्धिक चोरी बढावा दिएको सामाजिक सञ्जालका कतिपय कपीराइट र सर्जकको अधिकारका कुरा गर्दा प्रयोगकर्ताहरु अनविज्ञ रहेको भन्ने पनि गरिन्छ ।

अनावश्यक आरोप प्रत्यारोप जस्तै दोषीलाई निर्दोष निर्दोषलाई दोषी देखाउन प्रायोजित पोस्ट आउनेदेखि लिएर कुनै देशको राजनीतिक सत्ता पल्टाउन प्रयोग हुने मिडिया टेक्नोलोजीका जासुसी अभियानहरुको खतरा, सत्ता टिकाउने, पल्टाउने, सर्वभौमसत्ता खलल ल्याउने कामहरु सम्ममा सुनियोजित ढंगले प्रयोग हुने गरेका बिबिध घटना र समाचारहरु आजकल नियमित आउने गरेका छन् ।

सञ्जाल र सञ्चार सम्पर्क भएपनि आफन्तहरुसंग साँचो भेटघाट र बोलचाल कम हुने गरेको अनुभव एकथरीले गर्ने गरेका छन् भने अर्का थरि सधै भरि चाहिने नचाहिने व्यक्तिहरुका कल र मेसेज आएर हैरान हुनेहरु पनि भेटिन्छन् ।

नेपालमा सामाजिक सञ्जालको प्रयोगले आत्महत्या, बलात्कारका घटना, अपराधका घटना गोपनीयता भंग भई विविध अनैतिक क्रियाकलाप हुने घटनाहरु देखि सम्बन्ध बिच्छेदका घटनाहरु सामान्य बन्दै गइरहेको अवस्था देखिन्छ ।

सामाजिक सञ्जालको चरम प्रयोगबाट आँखा सुक्खा हुने र आँखा सम्बन्धि समस्याले सताउने, निहुरिंदा गर्धनको समस्यादेखि कोठा भित्र बसेर बिश्व परिक्रम गर्ने परिपाटीले केवल मोटोपन, मुटु सम्बन्धि अनि मानसिक तनाव जस्ता स्वास्थ्य सम्बन्धी समस्या त छँदै छ सँगैको छिमेकी भन्दा नदेखेको टाढाको फेसबुके, टुइटे साथीहरु नजिक बन्ने परिपाटीले सामाजिक र साँस्कृतिक व्यवस्थामा नै व्यापक फेरबदल आउदै गरेको समाजशास्त्रीहरु बताउने गर्दछन् ।

आजकल अधिकांश अभिभावकहरु केटाकेटीहरुलाई ट्याव र स्मार्ट फोन हातमा दिएर भुल्याउने र आफु पनि सामाजिक सञ्जालमा भुल्लिने परिपाटीले नानीहरुको मनोविज्ञान र कलिलो उमेरमा खेल्ने कुद्ने र सृजनशील हुने अनि सिक्ने प्राकृतिक आवश्यकतालाई पनि कुठाराघात गरिरहेको पाइन्छ । यसलाई अभिभावकको कुलतले भावी पुस्तासम्म पार्दै गरेको प्रभावको रुपमा लिन सकिन्छ ।

अमेरिकामा केहि महिना अघि ५० जना मनोविश्लेषकहरुले आफुलाई बालबालिकाहरुलाई सामाजिक सञ्जालहरुमा ध्यान केन्द्रित गरेर लामो समयसम्म राख्ने प्रविधि बिकासमा दुरुपयोग गरेको आरोप लगाएका थिए । यो घटना बिशेष गरेर भिडियो गेम सफ्टवेरमा बालबालिकालाई लत लगाउने बिबिध प्रयोगलाई मध्यनजर गरेर आएको थियो ।

यो तथ्य गत जुलाई महिनामा बिश्व स्वास्थ्य संगठनले भिडियो गेममा लागेको लतलाई मनोबैज्ञानिक समस्या अर्थात मस्तिस्क सम्बन्धि समस्या भनेर औपचारिक रुपमा घोषणा गर्नु, बेलायतको एनएचएस राष्ट्रिय स्वास्थ्य प्रणालीले यो सम्बन्धि समस्यालाई उपचार गर्न सुरु गर्नुले प्रष्ट पारेको छ ।

फेसबुकको लाइक बटन बनाउने जस्टिन रोजेन्सटिनले कतिपय सामाजिक सञ्जालहरु हेरोइन भन्दा नसालु भन्दै स्न्याप च्याटलगायतका केहि सञ्जालहरुमा आफुले आफैलाई प्रयोग गर्न नै बन्देज लगाएको समाचारले केहि महिना अघि चर्चा बटुलेको थियो ।

गत जुलाईमा चर्चित बेलायती कमेडियन रसेल केनले आफ्नो सामाजिक सञ्जालको नसाले दैनिक जीवनलाई नै असर गरेको भन्दै मानोचिकित्सकहरुको परामर्स लिन थालेको बताएका थिए । बिकसित भनिएका देशहरुमा त यति बिधि घटना र समस्याहरु देखिएका छन् भने हाम्रो नेपाली समुदायमा यसले झन बिकराल रुप लिएको सरोकारवालाहरुको जिकिर छ ।

केहि खोजहरुले बिकसित देशमा सामाजिक सञ्जालको सबै भन्दा ठुलो लत कलेज जाने समूहका युवा युवती तथा महिलाहरुमा देखाएको छ । नेपालमा पनि इन्टरनेट, वाईफाई र स्मार्ट फोनको सहज पहुँचले गर्दा बेरोजगार युवा, परदेशमा श्रीमान् वा श्रीमती हुनेहरु, अधिकांश फुर्सदमा रहने बयस्कहरुलगायतका समुदाय सामाजिक सञ्जालको लतमा नराम्रोसंग फसेको तथ्यहरु दैनिक रुपमा सार्वजनिक हुने गरेका छन् ।

इन्टरनेट र सामाजिक सञ्जाललाई बुझेर सहि सदुपयोग गर्न सके सजिलै बिश्व बजारमा, व्यापार ब्यवसाय तथा प्रतिभाहरु प्रबर्धन गर्न सकिन्छ । तर, दुरुपयोग भए मानिसमा भएको उर्जा र सृजनशीलतालाई पनि खत्तम पार्ने दुई धारे तरवारको रुपम सामाजिक सञ्जाललाई लिन सकिन्छ ।

यी तमाम तथ्यहरुलाई मध्यनजर गर्दै फेसबुक र इन्सटाग्रामले त प्रयोगकर्ता दिनमा कति समय सामाजिक सञ्जालमा बितायो भनेर चेतावनी दिने एप्सहरु विकास गरिरहेका छन् । बिकसित हुँदै गरेका ति एप्समा अलार्म, दैनिक प्रयोग गर्ने समय सिमा, समय तालिका जस्ता सुविधाहरु रहने बताईएको छ । यसको आसयले अब सामाजिक सञ्जाल बिकास गर्नेहरु पनि यसको चरम दुरुपयोगले गर्दा सञ्जालको प्रयोगमा नै ह्रास आउने, सरोकारवालाहरुको दबाब आउने जानेर आफै यसको लतलाई नियन्त्रण गर्न अग्रसर भएको हो कि भन्ने सङ्केत देखिएको छ ।

आपतमा परेको मानिसलाई सहयोग गर्ने भन्दा त्यो अवस्थाको फोटो खिचेर भाइरल बनाउने मनसायले लाइक, कमेन्ट र सेयरको खेति गर्न थालेको समुदायले अब यथार्थ जीवन भन्दा देखावटी र कृत्रिम दुनियामा धेरै समय व्यतित गर्नु व्यक्तिगत र सामाजिक दुवै रुपमा हानिकारक छ ।

सामाजिक सञ्जालले अवको मानव सभ्यतालाई जति सहजता र सुविधा लिएर आएको छ त्यति नै चुनौती र जटिल समस्याहरु पनि थोपर्दै गएको छ । समाजमा गन्यमान्य अगुवा र नेतृत्वकर्ताहरुले कम्तिमा पनि सामाजिक सञ्जालको सदुपयोग र यसको प्रयोगमा सिमिततालाई ध्यान दिएर त्यहि अनुसारको संस्कार बसाउन सके भावी पुस्ताले त्यसलाई अनुसरण गर्ने र सामाजिक सञ्जालको चरम दुरुपयोगको शिकार बन्दै गरेका हाम्रो सभ्यता, स्वभाव र संस्कृति जोगिने देखिन्छ ।

प्रकृतिसंग खेल्दै-झेल्दै अघि बढ्नु पर्ने मानव जीवन, प्रवधि र सामाजिक सञ्जालको कृत्रिम दुनियाँको सिकार बनेर मासिने त हैन ? भन्ने गम्भिर प्रश्न उब्जिएको छ | यसर्थ यसको नकारात्मक प्रभावलाई बुझेर उचित क़दम चाल्ने बेला भएको देखिन्छ ।

विभिन्न अनलाइनहरुमा उपलब्ध सामाजिक संजालको लतबाट बच्ने उपायहरुमा केहलाई यहाँ प्रस्तुत गरिएको छ :
- सामाजिक सञ्जाल चलाउने समय तालिका बनाउने
- जतिबेला पायो त्यतिबेला नाझुन्डिने
- भरसक आफ्नो पेसा, ब्यबसाय तथा आवश्यक कामको लागि मात्र प्रयोग गर्ने
- साथीभाईहरुसंग दैनिक प्रत्यक्ष च्याट गर्ने होभने मेसेज पठाएर एक अर्काको समय निर्धारण गरेर कुराकानी गर्ने
- इन्टरनेट प्रयोगको अनुशासन बनाउने
- दैनिक गरिने अन्य गतिबिधिहरुमा ध्यान दिने
- पुस्तक पढ्ने प्रकृतिसंग घुलमेल हुने अन्य बानीहरुको विकास गर्ने
- ज्यादा सामाजिक सञ्जाल चलाउने मित्रहरुलाई सम्झाउने तिनको लतबाट पनि टाढा रहने इत्यादी

सञ्जालमा केहि सुरक्षाका कुरा

सामाजिक संजालमा देखाउने, सुनाउने होडमा आफ्ना अत्यन्त व्यतिगत सूचनाहरु, आफु अवस्थित स्थानहरु, खानपिन जस्ता दैनिक आचरण, समय तालिका सार्वजनिक गर्ने सवालमा बिबिध अपराधिक गिरोहहरुलाई सहज हुने गरेका तथ्य धेरै छन् । हिजो आज हुने अपराधका घटनाहरु कुनै न कुनै रुपमा सामाजिक सञ्जालसंग जोडिएका पाइन्छन् ।

बेलायत तथा अन्य मुलुकका घरधनीहरु घरमा छन् छैनन् भनेर अपराधिक समूहले तिनीहरुको फेसबुक, इन्स्टाग्राम स्टाटस हेरेर थाहा पाएर चोरी र अपराधका क्रियाकलाप गर्ने पनि भेटिएको छ ।

दुई हजार सामाजिक सञ्जाल प्रयोगकर्ताहरुमा गरिएको एक अनुसन्धानमा २२ प्रतिशतले कहाँ रहेको भन्दै ठाउँको जानकारी दिएको पाइयो भने ३३ प्रतिशतले कति दिन बस्ने भन्दै स्थानको फोटो सार्वजनिक गरेको देखियो ।
सामाजिक सञ्जालमा सुरक्षित रहने केहि उपायहरु :

१. सामाजिक सञ्जालमा व्यक्तिगत विवरणहरु कम शेयर गर्ने
२. कुनै पनि ठाउँ र घटनाहरुका तस्बिरहरु ढिलो पोस्ट गर्ने अर्थात् भ्रमण पछि मात्र राख्ने
३. नचिनेको नजानेका व्यक्तिहरुको फ्रेन्ड रिक्वेस्ट एसेप्ट नगर्ने
४. आफु अवस्थित कुनै पनि ठाउँको नक्साहरु शेयर तथा ट्याग नगर्ने
इत्यादी ।

अन्त्यमा, जतिसुकै नियम कानुन र बिधिका कुरा गरेपनि सामाजिक सञ्जालको उचित प्रयोग गर्न र दुरुपयोगबाट रोक्न जनचेतनामा वृद्धि गरिनु पर्ने र सबैले सचेत भएर बिकृति विसंगतिहरुलाई रोक्दै समय, उर्जा र सृजनशीलतालाई नष्ट नगरी प्रयोग गर्ने बानी बसाल्न सक्दा नै चौतर्फी भलो हुने र सामाजिक सञ्जालको बढी भन्दा बढी उपयोग गर्न सकिने
देखिन्छ ।

Twitter : @bimaljagan

प्रकाशित : श्रावण २८, २०७५ १३:०३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT