उर्लियो मर्स्याङ्दी

किनारको बस्ती त्रसित
कान्तिपुर संवाददाता

लमजुङ — हिमाल भएर आउने मर्स्याङ्दी नदीको बढ्दाे जलस्तरसँगै किनारका बस्ती जोखिममा परेका छन् । मनाङबाट लमजुङ हुँदै तनहुँ भएर मर्स्याङ्दी नदी मुग्लिनमा पुगेपछि त्रिशुलीसँग मिसिन्छ ।

उर्लियो मर्स्याङ्दी

तल्लो क्षेत्रको तनहुँमा खासै समस्या नभएपनि माथिल्लो क्षेत्रको मनाङ र लमजुङमा जोखिम बढेको छ । भेल बढेपछि डरले निदाउन नसकेको मनाङको नासों गाउँपालिका–१ तालगाउँका बासिन्दाले बताएका छन् ।

तालगाउँ माथिका सिरानताल, खोत्रो, बगरछाप, धारापानी र चामे लगायतका गाउँ मस्र्याङदीको बाढीबाट बढी जोखिममा रहेको स्थानीय बताउँछन् । सिरानतालका सिंहबहादुर गुरुङका अनुसार मस्र्याङदीमा बढो बाढीसँगै बस्तीमा पस्ने जोखिम बढेको छ । ‘नदी नै घरखेतमा पस्ने डर छ,’ उनले भने । तालगाउँका बुधराज गुरुङका अनुसार घरछेवैको ग्याबिन पर्खाल बाढीले नाघेको छ । ‘अलिकतिमात्रै बढ्यो भनेपनि बस्तीमा आउने डर छ,’ उनले भने, ‘केही दिनयता मस्र्याङदीमा बढेको पानीको बहावले हामी सुत्न सकेका छैनौं ।’ रातको समय खोला बढ्ने डरले माथिल्ला क्षेत्रका स्थानीयसंग खोला बढेनबढेकोबारे जानकारी लिने गरिएको उनले बताए ।

तालगाउँमा ५ बर्षअघि गाउँको माथिल्लो क्षेत्र क्ल्युफी जंगलबाट पहिरो खसेको थियो । अहिले पनि पहिरो खस्ने सम्भावना उत्तिकै रहेको स्थानीय बताउँछन् । यसबाट गाउँका ५५ घरधुरी बढी जोखिममा रहेको स्थानीयको भनाइ छ । स्थानीय मीनराशी गुरुङका अनुसार तालगाउँ बाढी र पहिरो दुवैको जोखिममा छ । गाउँमा २०६३ सालबाट मस्र्याङीले कटान थालेको थियो । तालगाउँका हरेक क्षेत्र यसअघि डुवानमा पर्दै आएको ठाउँ हो ।

जलउत्पन्न प्रकोप केन्द्रले ग्याबिन पर्खाल लगाएर तटबन्ध निर्माण गरेपछि बस्तीमा बाढी चढेको छैन । तर, उर्लिंदै आएको मस्र्याङदीले त्रास फैलिएको भानु माविका प्रधानाध्यापक श्यामकृष्ण पन्तले बताए । उनका अनुसार स्कुल पनि उत्तिकै जोखिममा छ । ‘नदीको छेउमै स्कुल छ । पानी परिरहे बाढी बढ्छ । विद्यालयमा बस्न गाह्रो हुन्छ,’ उनले भने । स्थानीयका अनुसार दूधखोलाको बाढीले बगाएर ल्याएको गिटीबालुवा बस्ती नजिकैको फाँटान थुप्रिएपछि समस्या बढेको हो । ५ बर्षअघि सेनाले डोजर चलाएर गिटीबालुवा खोलिदिएको थियो । अहिले फेरी जम्न थालेको स्थानीय बताउँछन् ।

नासों गाउँपालिका अध्यक्ष चन्द्रबहादुर घलेका अनुसार मस्र्याङदी उर्लिपछि किनारका बस्तीमा जोखिम बढेको छ । उनका अनुसार नदीको छेवैमा भएकाले तालगाउँ बढी जोखिममा छ । सिरानताल, खोत्रो, बगरछाप, धारापानी, थोंंचे लगायत गाउँका बस्ती जोखिममा छ । ‘अहिलेको भन्दा मस्र्याङदी ठूलो भएर आएमा समस्या पर्न सक्छ,’ उनले भने, ‘मस्र्याङदी बढेमा जिउधनको बचाउनु भनेर भनेको छु ।’ प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार मनाङको चामे साथै तल्लो मनाङको मस्र्याङदी नजिकका गाउँमा उर्लिएको मस्र्याङदीले जोखिम बढाएको छ ।

यसअघिको बाढीले चामेस्थित तातोपानी संरक्षणका लागि निर्माण गरिएको ४ वटा ग्याबिन बगाएको छ । ‘मस्र्याङदी उर्लिएको छ । छेउका बस्ती जोखिममा छन् । चामेकै पनि १०/१२ घर समस्यामा परेको छ’ उनले भने, ‘बाढी आएपछि स्थानीयलाई सतर्क रहन आग्रह गरेका छौं ।’ उनले नदीको बहाव कति बढ्यो भन्ने कुनैपनि जानकारी लिन नसकिएको बताए । ‘हामीसंग नदीको बहाव नाप्ने कुनै यन्त्र छैन । बाढी बढ्दै आएपछि अड्कल गर्ने मात्रै हो । त्यसरी नै स्थानीयलाई सतर्क गराउँदै आएका छौं,’ उनले भने ।

प्रकाशित : श्रावण २८, २०७५ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?