भालुले लुछेपछि ...

सुरविन्द्रकुमार पुन

काठमाडौँ — रुकुमपूर्वको भूमे गाउँपालिका–१ लुगुम गाउँका कैलाश पुन भालुको आक्रमणबाट गम्भीर घाइते छन् । उनको काठमाडौं कुलेश्वरस्थित राजधानी अस्पतालमा उपचार भइरहेको छ ।

उपचारमा संलग्न डाक्टरहरुका अनुसार उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ।

Yamaha

‘वर्ष दिन पनि खानलाउन नपुग्ने परिवारमा जन्मेका कैलाशलाई काठमाडौंसम्म ल्याउन विभिन्न आरोह–अवरोह व्यहोर्नु पर्‍यो,’ उनको उपचारमा आर्थिक सहयोग जुटाउनेमध्येका एक अगुवा हर्कबहादुर घर्तीमगरले भने, ‘धेरै प्रयासपछि शान्तिको श्वास फेर्न पाएका छौं।’

हर्कबहादुर आफैं अध्यक्ष रहेको लुगुम्याल समाज काठमाडौंको मुख्य पहलमा कैलाश पुनको उपचार भइरहेको हो। लुगुम्याल समाजको संयोजकत्वमा देश विदेशबाट उनलाई सहयोग गर्नेको संख्या बढिरहेको छ।जिल्लावासी नेताहरुले पनि सकेको सहयोग गर्ने आश्वासन दिएका छन्। हालसम्म उनको उपचारमा ७ लाख रुपैयाँभन्दा बढी खर्च भएको छ। ‘अस्पतालका अनुसार सबै गरेर उपचार खर्च १५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ,’ कैलाशका लागि उपचार खर्च जुटाउने मध्येका एक केशव रावलले बताए।

साउन १५ गते भालुको आक्रमणमा परेका कैलाशलाई २ दिनको प्रयासपछि १७ गते काठमाडौं पुर्‍याइएको हो। कैलाशलाई जंगलमा भालुले आक्रमण गरेदेखि काठमाडौं उपचारमा ल्याउँदासम्मको कथा निकै रोचक मात्र छैन ग्रामीण भेगका बासिन्दाले विपत्‌का बेला स्वास्थ्य उपचार पाउन गरेको संघर्षको शिलशिला मर्मस्पर्शी र चाखलाग्दो छ।

कैलाश सधैं झैं बिहानको खाना खाएर साथीहरुसँग आफ्नो नियमित कामतिर लागे। आफूभन्दा पाका गोठालाहरुसँग गाईबस्तु लिएर वनतिर गए। गोठालाकाे चलनअनुसार गोठमा घाँस र दाउराको जोहो कान्छाले गर्नुपर्छ।

त्यसै पनि गोठमा युवा तथा किशोरहरु बढी सक्रिय हुनुपर्छ। गाई खर्कको रुपमा स्थापित खर्क बसेको यो वन शिल्ला जंगलले पनि चिनिन्छ, जसमा लुगुम्यालहरु साउन भदौमा मनसुनी सिजनको रुपमा अस्थायी गोठ बसाल्ने गर्दछन्।

गाईको बाच्छालाई घाँस जम्मा गर्नु कठिन काम हो। लैनु बाच्छाहरु चौबिसै घण्टा गोठमा राख्नुपर्ने हुँदा राम्रो र मसिनु घाँस पर्याप्त मात्रामा जम्मा गर्नुपर्छ। खुला चरिचरन भएकाले जंगलकाे बीचमा मसिनाे घाँस जम्मा गर्नु चानचुने होइन। अप्ठेरो ठाउँ नभई मसिनाे घाँस पाइदैन।

करिब ११ बजेतिरको समय। कैलाशसँग अरु दुईजना किशोर पनि थिए। सबै वनमा घाँसको खोजीमा व्यस्त थिए। जंगल बीचमा उनीहरु छुट्टिएको आधा घण्टा नबित्दै भालु गर्जिएको आवाज आयो। भालु तारन्तारर गर्जिरहेका थियो। खस्रुको घना जंगल बीचमा भालुको गर्जनले आसपासका गोठालाहरु नजिकिन सरु गरे।
यो बेला भालुको गर्जनसँगै मान्छे चिच्याइरहेको आवाज पनि सुनियो। यस्ता डरलाग्दो आवाज सुनिएपछि त्रसित गोठालाहरु एकठाउँ जम्मा भए। भालु गर्जिरहेको तर्फ गोठालाहरु पुग्दा कैलाशलाई भालुले लुछिरहेको थियो। लाठी मुङ्ग्रो बोकेका उनीहरु अगाडि बढेपछि भालु तर्सियो।

जब भालु झाडीतर्फ फाल हाल्यो, उनीहरुभालुबाट लुछिएकोकैलाश नजिक गए। यो बेलासम्म कैलाश फालेको थाङ्नाजस्तै लत्रिएका थिए। उनको अनुहार मात्र नभईपूरा शरीर रक्ताम्य थियो। शरीरमा भएका कपडा पनि थाङ्ना भइसकेका थिए। उनी हलचल गर्न नसक्ने भएका थिए। कतिपयले त जिउँदो नरहेको समेत बताए।

कैलाशको शीरको भाग विभत्स देखिन्थ्यो। आत्मबल बलियो भएकाले मात्र हेर्न सक्दथे। पाका गोठालाहरुले निकै सुस्तसाथ श्वास दोहोर्‍याइरहेको अड्कल काढे। गाउँमा लगेर औषधोमुलो गर्ने निधो गरियो। उनका सहोदर दाइ मोहन लगायत जना सात–आठले गोठबाट लगालग हिँडेरै ५ घण्टामा लुगुम गाउँ पुर्‍याए।

परम्परागत औषधोपचारले कैलाशलाई बचाउन नसकिने निचोडपछि गाउँलेहरुको समझदारीमा रुकुमपश्चिमको सदरमुकाम खलंगा लाने निर्णय भयो। हेलिकप्टरको व्यवस्था गर्ने हो कि भन्ने पनि चल्यो। अबेला पनि भएको र मौसमले पनि साथ नदिएको कारण त्यो सम्भव भएन। कैलाशका बुबा फुरमान र आमा जुनपुराले कुनै निर्णय लिन सकेनन्।

हुन पनि कैलाशको परिवार लुगुम गाउँकै विपन्नमध्येको एक थियो। यसै पनि उनीहरु निरक्षर थिए, निमुखा थिए। जसको कारणले १५ वर्षीय कैलाश विद्यालय पढ्ने उमेरमा पनि गोठालो जीवन बिताइरहेका थिए। फुरमान र जुनपुराले निशंकोच गाउँलेहरुको निर्णयलाई शिरोपर गरे।

दाई मोहनसहित दर्जनका संख्यामा गाउँका युवाहरु छानिएर उनलाई रुकुमकोटतर्फ लगियो। बर्खायामको मोटर बाटो। हिलो र पहिरोले निकै सास्ती दिएको थियो। जीप गुड्ने बाटोमा समेत कैलाशलाई बोकेरै रुकुमकोट पुर्‍याइयो।

रातकै बखत पनि रुकुमकोटबाट खलंगातर्फ जीप रिजर्व गरेर गए। राति नै जीपमा खलंगा पुर्‍याइयो। खलंगास्थित एक सामुदायिक अस्पतालमा केही थान सलाइन चढाउनु बाहेक अरु प्रगति हुन सकेन। बरु त्यहाँस्थित डाक्टरले सिधै बाँकेको कोहलपुर शिक्षण अस्पतालमा सिफारिस गरे।

तत्कालै उनीहरुले एम्बुलेन्स रिजर्व गरेर कोहलपुरतर्फ लागे। कोहलपुरस्थित शिक्षण अस्पतालको इमर्जेन्सीमा लगियो। त्यहाँ केही सामान्य नर्सिङ सेवापश्चात् डाक्टरले नजिकैको नेपालगञ्जको भेरी अञ्चल अस्पताल रिफर गरे। उनलाई तत्कालै नेपालगञ्ज लगियाे।

भेरी अञ्चल अस्पतालकाे इमर्जेन्सीमा लगेपश्चात् त्यहाँका डाक्टरले पनि कुनै आस दिलाउन सकेनन्। प्रयास गरौंला भन्नुको साटो उनीहरुले सिधैं लखनउतर्फको सिफारिस दिलाइदिए। विकल्पको रुपमा काठमाडौं पनि सुझाएका थिए। तर काठमाडौंतिर ती डाक्टरले निकै झिनो आशमात्र देखाएका थिए।

यो बेला कैलाशलाई लिएर आउनेहरु निकै हतास भइसकेका थिए। उनीहरुले सोचे, अब कैलाशलाई बचाउन सकिन्न। तैपनि, टोलीमा रहेका केहीले आँट देखाए। हरेस नखाने, बरु सकिनसकी कैलाशलाई काठमाडौं नै लैजाने। काठमाडौंमा आफ्नै छरछिमेकी, गाउँले, जिल्लावासीसाथै परदेशका मित्रहरुसँग हात फैलाउन सजिलो हुन्छ भन्ने उनीहरुको निर्क्याैल थियो। त्यसैले जे त पर्ला, व्यहोरिएला भन्दै दिनरात नभनी एम्बुलेन्सबाट काठमाडौं आए।

‘जति काठमाडौं नजिकिन्छौं उति हामी कुहिरोमा हराएका काग झैं भएका थियौं। काठमाडौंमा कहाँ, कुन, कस्तो प्रकृतिको अस्पतालमा लगे कैलाशको उपचार हुन सक्छ भन्दै हामी निकै दोधारै दोधारमा आइपुगेका थियौं’ टोलीका एक सदस्यले आफ्नो कहानी सुनाए,‘रुकुमपूर्वको प्रतिनिधित्व गरी काठमाडौं बसाइ गरेका नेतालाई फोन गर्‍यौं, फोन उठेन। योबेला हामी आजित बनेका थियौं।’

‘काठमाडौं भित्रिए लगत्तै कसैबाट सुनेका थियौं– जंगली जनावरको आक्रमणबाट घाइतेलाई टेकु अस्पतालले उपचार गर्छ। त्यसैले हामी सबैभन्दा पहिले टेकु अस्पताल पुग्यौं,’ लुगुम्याल समाजकी कोषाध्यक्ष दिलकुमारी बुढामगरले भनिन्, 'धेरै समयको प्रयासमा पनि टेकु अस्पतालले त्यहाँ उपचार गर्न नसक्ने संकेत दियो।'

बरु डाक्टरहरुले आईसीयु विना यस्तो गम्भीर बिरामीको कुनै पनि अस्पतालमा उपचार हुन नसक्ने बताए।’एक हदले फेरि उनीहरुको जाँगर मर्‍यो। त्यसपछि सरकारी अस्पतालहरु वीर, टिचिङ, पाटन, केएमसी लगायत राजधानीका नाम चलेका निजी अस्पतालमा आईसीयु बारे बुझे। कुनै पनि अस्पतालले आईसीयु खाली नभएको बताएपछि उनीहरुले कैलाशलाई माया मारिसकेका थिए।

भालुको झम्टाइले विषाक्त बनेका घाउ बासी हुनु र अत्यधिक रक्तस्रावले उनको जीउ शिथिल बन्दै गएको थियो। ‘हामीले बाँच्छ कि भन्ने आश मारेका थियौं’, दिलकुमारीले दु:ख पोखिन्। कैलाशको शिर धुङधुङी गन्हाइरहेको थियो। झिँगा समेत भन्किसकेका थिए। धेरै पछिको प्रयासपछि कुलेश्वरस्थित राजधानी अस्पतालमा आइसीयु खाली छ भन्ने थाहा पायौं। धन्य ! अस्पतालले भर्ना गर्ने संकेत दियो।
डाक्टरले उपचारको लागि अनुमानित रकम जानकारी गराए। यसमा उनीहरु सहमत भए। कैलाशलाई भर्ना गराएर अस्पतालको अपरेसन वार्डमा भित्र्याएपछि उनीहरुले आफूले निर्वाह गरेको भूमिका ५० प्रतिशत पास भएको दाबी गरे।

मेडिकल रिपोर्टअनुसार शिरमा गम्भीर चोट परेको छ। शीरको छाला चरक्कै लुछिएको छ। भालुको पञ्जा र दाँतले मगज ढाक्ने हड्डीलाई पनि असर पुगेको छ। एनेस्थेजियोलोजिस्ट, ओर्थोपेडिक्ट, न्युरोसर्जन, प्लाष्टिक सर्जन र जनरल फिजिसियन गरी ५ डाक्टरको निगरानीमा कैलाशको उपचार भइरहेको छ।

अहिलेसम्म उनको दुईपटक शल्यक्रिया भइसकेको छ। भालुले लछारपछार पार्दा टाउकोमा गम्भीर चोट परेको छ भने दायाँ हात र बायाँ खुट्टा पनि भाँचिएको छ। उपचारको एघारौं दिनसम्म आइपुग्दा कैलाशको होस खुलेको छ। आफन्तलाई चिन्ने भएका छन् भने बायाँ हातको इसाराले सोधेको जवाफ फर्काउने कोसिस गरिरहेका छन्। उनका कुरुवा बस्न दाइ मोहनसँग अन्य लुगुम्यालहरु पालैपालो साथ दिइरहेका छन्।

लुगुम गाउँ, काठमाडौं, दाङ, खलंगा, रुकुमकोट, बेलायत, जापान, अमेरिका, कोरिया लगायत खाडी मुलुकमा रहेका लुगुम्याल मात्र नभई अन्यत्र ठाउँ र पेशामा आबद्ध व्यक्ति तथा संघसंस्थाले सहयोग जुटाइरहेका छन्। उनको उपचार खर्चका लागि आर्थिक संकलनमा आबद्ध अध्यक्ष हर्कबहादुरका अनुसार कैलाशको स्वास्थ्यमा सुधार आएपछि सहयोगी दाताहरु थप हौसिएका छन्।

स्वास्थ्यमा सुधार देखिएपछि यसबारे कैलाशका बुबाआमालाई बुझ्न खोज्दा गाउँमा टावरले काम नगरेको उनका दाइ मोहनले बताए। केही क्षणको भलाकुसारीपछि टावर दिए पनि उनका बुबाआमासँग त के सिंगो परिवारमै मोबाइल नरहेको स्पष्ट गराए।

प्रकाशित : श्रावण २८, २०७५ १९:४९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कान्छो जिल्लाको चमक

फोटो
सुरविन्द्रकुमार पुन

काठमाडौं — राज्यको पुन:संरचना क्रममा रुकुम र नवलपरासी गरी दुई जिल्ला टुक्रिए । नेपालको संविधान २०७२ को अनुसूची–४ मा उल्लेख गरिएअनुसार हाललाई रकुम जिल्लाका दुई भागमध्ये प्रदेश नं. ५ मा ‘रुकुम (पूर्वी भाग)’ र प्रदेश नं. ६ मा ‘रुकुम (पश्चिम भाग)’ भनेर उल्लेख गरिएको छ ।

७५ जिल्लामा २ जिल्ला थपिएपछि ७७ औं जिल्लाको रूपमा पूर्वी रुकुम अर्थात् रुकुम पूर्वको जन्म भयो । फलस्वरूप पूर्वी रुकुम ‘कान्छा जिल्ला’ को रूपमा समेत चिनिएको छ । 

मगर बाहुल्य पूर्वी रुकुमलाई आदिम सांस्कृतिक थलोको रूपमा चिनिन्छ । मगर खाम यहाँको मुख्य भाषा हो । दुई तिहाइ बढी जनसंख्या मगर बहुल रहेको यहाँका समुदायको जीवनशैली हिमाली संस्कृतिसँग मिल्दोजुल्दो छ । २८ असोजमा कार्यकाल सकिएको व्यवस्थापिका संसद्को विकास समितिले गत भदौ २५ गते स्थानीय तह सञ्चालनसम्बन्धी विधेयकमा जिल्लाहरूको नयाँ वर्गीकरण गर्दा पहिले पहाडी जिल्ला भनेर चिनिने रुकुमलाई विभाजनपश्चात् पूर्वी रुकुमलाई हिमाली जिल्लामा पारिएको छ । वन, पाटन, वनस्पति, जंगल, नदीनाला, तालतलैया, वन्यजन्तु यहाँका मुख्य सम्पदा हुन् । पश्चिम धौलागिरि हिमालय शृङ्खलासँग आबद्ध ७ हजार २ सय ४६ मिटर अग्लो पुथा हिमाल पूर्वी रुकुमको मुकुट मानिन्छ । पुथासँगै ५ हजार मिटरभन्दा अग्ला दोगारी, साम्जाङ, ङिम्कुँ, सिस्ने गरी आधा दर्जनभन्दा बढी हिमाल यहाँ अवस्थित हुनुले पनि पूर्वी रुकुम हिमाली जिल्लाको रूपमा दर्ज भएको पूर्वी रुकुमवासीहरूको दाबी छ । हिमचितुवा, रेडपाण्डा, कस्तुरी, हिमालयन थारजस्ता दुर्लभ वन्यजन्तुका साथै भोजपत्र, धुपी, लौठसल्लाजस्ता बहुउपयोगी वनपैदावारसँगै यार्सागुम्बा, पाँचऔंले, निर्मसी, सतुवाजस्ता मूल्यवान् जडीबुटीले यसै पनि पूर्वी रुकुम प्राकृतिक सम्पदा स्रोतको हिसाबले सम्पन्न हिमाली भेग हो । संरक्षण र पर्यटनलाई एउटै सूत्रमा व्यवस्थापन गर्न सकिएको खण्डमा विकासको दिगोपनालाई मूर्तरूप दिन सकिने विज्ञहरूको राय छ ।


वृत्तचित्र छायांकनका क्रममा लुकुम गाउँ पुगेका पर्यटनकर्मी कुमार चौलागार्इँका अनुसार पूर्वी रुकुम पर्यटनको सम्भावनायुक्त जिल्ला हो । कुमार भन्छन्, ‘प्राकृतिक र सांस्कृतिक सम्पदाको संयोजन गरेर यहाँका बासिन्दाले पर्यटक तान्ने हैसियत राख्न सक्छन् । यसबाट उनीहरूले मनग्ये आम्दानी लिन सक्ने बलियो आधार छ ।’ यहाँ अवस्थित ३ स्थानीय तहको नामकरणले पनि प्राकृतिक र सांस्कृतिक सम्पदाको महत्त्व यसै झल्किन्छ । सिस्ने हिमालको नामबाट सिस्ने गाउँपालिका, पुथा हिमाल र उत्तरगंगा नदीको नामबाट पुथाउत्तरगंगा गाउँपालिका र यस मगर खाम क्षेत्रको प्रसिद्ध परम्परागत भूम्या नाचको नामबाट भूमे गाउँपालिका नाम यसै राखिएको होइन । 


यहाँका बासिन्दा सामूहिकतामा विश्वास गर्छन् । सामाजिक एकताबिना उनीहरू आफ्नो अस्तित्व स्विकार्न सक्तैनन्, चिनारी दिँदैनन् । घरहरू सकेसम्म एकै ठाउँमा समान संरचनामा निर्माण गरिनु, खेतीपातीमा अर्मपर्मको सिद्धान्त अपनाउनु, विकास निर्माणको सवालमा परम्परागत झाराप्रथा कायम राख्नु यहाँको सामाजिक–आर्थिक विकासका सामूहिक गतिविधि हुन् । सिकिस्त बिरामीहरूको नाममा बाटाघाटा र तलाउ सफाइ गर्नु, कुवा–पँधेराको सुधार गर्नु, देवल र धर्मशालाको मर्मतसंभार गर्नु निकै लोभलाग्दो परम्परागत रहनसहन हो । दिवंगत व्यक्तिको नाममा बाटो, चौतारो, बिसाउना, धर्मशाला, गोठ निर्माण गर्नु आफ्नो पुण्य आर्जनको काम ठान्छन् । तरुनीतन्नेरी मिलेर चौपारी तयार गर्छन् । यी विविध आयाम नियाल्दा संस्कृतिसँग विकास निर्माणको काम परम्परादेखि नै यहाँको समाजमा छाप भएर भएर बसेको यसै बुझ्न सकिन्छ ।


निश्चय पनि दसवर्षे हिंसात्मक गतिविधि रुकुमवासीका लागि बिर्सनलायक छ । सामाजिक–सांस्कृतिक एकताको बीचमा राजनीतिको रङ मिसिनु रुकुम जिल्लाको त्यो लामो अवधि निकै उतारचढाव र सकसपूर्ण रह्यो । माओवादीले बडो चलाखीपूर्वक यहाँको जनशक्तिलाई उपयोग गर्ने रणनीति अँगाल्यो । द्वन्द्वमा संलग्नहरू परिवारविहीन, आफन्तविहीन, घाइते, अपाङ्ग बने । थुप्रै चुनौति तथा लडाइँका अग्रमोर्चामा भिडेर पनि सकुशल बाँचेकाहरूको जीवन पनि कम कारुणिक र मर्मस्पर्शी छैन । सँगैका सहमित्रहरू बितेर गए, बाँचेकाहरू नाफाको जीवन बाँचिरहेका छन् । सशस्त्र संघर्षले गर्दा रुकुमका यी ग्रामीण भेग गहिरिएर प्रभावित हुनु अस्वाभाविक होइन । यसकारण भन्न सकिन्छ, नेपाली राजनीतिको एउटा अध्याय यो भेगले निर्माण गर्‍यो ।


सशस्त्र संघर्ष किन, के, कसरी सुरु भयो भन्ने सवालमा यहाँको समाज, संस्कृति, रहनसहन, चालचलन बुझ्न निकै आवश्यक छ । सबैभन्दा घतलाग्दो विषय त मगर खाम क्षेत्रलाई माओवादीहरूले आफ्नो आधारइलाका स्थापित गर्नुको राजनीतिक औचित्य के थियो भन्ने कुरा निकै गहन र चाखलाग्दो छ । यो विषय निश्चय पनि समाजशास्त्र, मानवशास्त्र, राजनीतिशास्त्र, इतिहासका विद्यार्थीहरूका लागि अध्ययन, अनुसन्धान र खोजको विषय हो । यस भेगलाई मुख्य गन्तव्यस्थलको रूपमा कोरिएको गुरिल्ला ट्रेकमार्फत् भित्रिने विदशी पर्यटक अधिकांश द्वन्द्व व्यवस्थापनका शोधार्थी भेटिनुले पनि यो विषयको औचित्यता पुष्टि गर्छ । चीनको राजधानी बेइजिङ सहर नजिकैको येनान ३० वर्षे माओकालीन युद्धको उद्गम थलोको रूपमा परिचित भएझैं रोल्पा र रुकुमका मगर खाम भेगीय क्षेत्रलाई माओवादीहरूले विशेष जिल्ला घोषणासमेत गरेका थिए । विशेषत: मगर खाम भेगलाई नै नेपाली जनयुद्धको ‘येनान’ भन्न रुचाउँथे माओवादीहरू !


चुन्बाङ, रुकुमकोट, महत, लुकुम, मोराबाङ, राङ्सी, कोल, तकसेरा, हुकाम, खाराबाङ, रन्मामैकोटलगायतका गाउँहरू पूर्वी रुकुमका मुख्य आकर्षक गन्तव्य हुन् । यी गाउँका 
बस्ती संरचना निकै लोभलाग्दा छन् । सबैको आ–आफ्नै विशेषता छन् । 
सीमा, क्याङ्सी र महतको धङ्गे नाचले पर्यटकलाई सहजै आकर्षण गर्छ । मनोरञ्जनमूलक यो नाच परम्परागत सामूहिक नाच हो । मगर भाषामा ‘धंगे’ को अर्थ हास्यकलाकार हो । हास्यकलाको माध्यमबाट स्थानीय बासिन्दालाई एकत्रित गर्न यो नाचको अहं भूमिका छ । यसै मौकामा कचहरी बसाएर गाउँघरका रीतिथिति बसाल्नेदेखि पुराना परम्पराहरूलाई परिमार्जन, संशोधन र परिष्कृत गरिन्छ । जाने–बुझेकाहरूका अनुसार गाउँका मुखिया, तालुकदारले त्यहाँका बासिन्दाहरूलाई हास्यरसको माध्यमबाट आफ्नो निर्णय सर्वस्वीकार्य बनाउन यो रणनीति अख्तियारी गरेका हुन् । मेलापर्वका बेला नाचगान गरिँदा धंगेहरूलाई उत्तिकै प्राथमिकता दिइन्छ । उनीहरू विभिन्न जंगली जनावरका भेषमा मुखुण्डो लगाएका हुन्छन् । धंगेहरू बढी उत्ताउला मात्र नभई उरन्ठेउला पनि हुन्छन् । एकथरी जानकारहरूका अनुसार धंगेहरूको उत्ताउलोपनमा बढी से बढी यौनका व्यंग्यकला प्रस्तुत गरिन्छ । यसले उपस्थित जनमासलाई एकप्रकारले उद्वेलित पार्छ, बेस्मारी हसाउँछ । उसबेला भुरेटाकुरे राजाहरूबीचको सम्बन्ध दर्साउन यस्ता सांस्कृतिक नृत्यहरूको महत्त्वपूर्ण भूमिका थियो । भनिन्छ, नेपाल एकीकरणपूर्व त्यस बेलाका राजा रजौटाहरूले आफ्नो जनशक्ति उत्पादन गराउन आफ्ना प्रजालाई यौनकलातर्फ झुकाव बढाइदिन यस्तो शैली अपनाउन लगाइएको हो । भनिन्छ— उसबेलाको डर, त्रास, भय र आक्रान्तको जगजगीमा पनि मानसिक रूपले सबल भई स्वच्छन्द भावले जीवन जिउन यस्ता धंगे नाचको मुख्य योगदान थियो ।


उसो त यहाँका सांस्कृतिक नृत्यहरू मूलत: सबै सामूहिक छन् । लहरै पंक्तिबद्ध भई अगुवालाई पछ्याएर नाचिन्छ । पैसेरी, भूम्या, डिग्रे, झोल्हा नाचहरू यहाँका परम्परागत सामूहिक नाच हुन् । भूम्या नाचमा पुरुषको गोलबद्ध लहरलाई महिलाले घेरिएको हुन्छ । पुरुषहरू खुकरी भिरेर नाच्छन् भने महिलाहरू रंगीन पछ्यौराका साथ लिँदै नाच्छन् । अगुवालाई पछ्याएर गोलबन्द भई नाच्नु यहाँका नाचहरूको विशेषता हो । यस्ता नाचले नेतृत्वकलाको विकास गराउनुका साथै एकता र सामूहिक भावनाको विकास अभिवृद्धि गर्न मद्दत पुर्‍याउँछ । पाका र ज्येष्ठतालाई प्राथमिकता दिइने यो नाचमा सामेल हुन युवायुवती र किशोरकिशोरी निकै हौसिन्छन् । यसले मुख्यगरी एकता, भ्रातृत्व र सामूहिकताको भावना प्रवद्र्धनसँगै सामाजिक सम्बन्ध विस्तार गर्ने सन्देश प्रवाह गर्छ । 
सिंगारु नाच यहाँको एउटा सांस्कृतिक गहना हो । पुरुषलाई एउटा निश्चित परम्परागत पहिरनले रूपवती महिलाको भेषमा सिंगारपटार गराई मादल, दुँदी र झ्याली बजाएर काव्यात्मक शैलीको गीतिकथा गाएर नचाइन्छ । लोपोन्मुख अवस्थामा रहेको यो नाच निकै रहस्यपूर्ण लाग्छ । उस बेला तेस्रो लिङ्गीहरूको व्यवहार र भूमिकालाई नजरअन्दाज गरेर हाउभाउका साथ नाचगान गरिने यो नाचका नचारु विरलै छन् । यद्यपि ती पोख्त, सिपालु र निपुण हुनैपर्छ । सिंगारुहरू शालीन र भलाद्मी भएर नाच्दा उपस्थित दर्शकहरू शान्त र स्थिर रहन्छन् । गीतमा जोडिने टुक्काहरू भरिला मात्र हुँदैनन्, सौन्दर्यचेतले ओतप्रोत किस्साहरू पनि उत्तिकै उनिएका हुन्छन् ।
धामी–झाँक्रीका लागि लुकुम र तकसेरा निकै कहलिएका गाउँ हुन् । अन्य गाउँहरूमा पनि धामी–झाँक्रीको अस्तित्व अझै पनि जिउँदोजाग्दो छ । साउन पहिलो साता लुकममा मनाइने झाँक्री मेलामा झाँक्रीविद्याका विविध झल्कोहरू साँगोपाँगो देख्न सकिन्छ । यसबेला पारंगत झाँक्रीबाट नयाँले झाँक्रीविद्या प्राप्त गर्ने अवसर प्राप्त गर्छन् । झाँक्रीविद्याको औपचारिक पुस्तान्तर यो बेला प्रत्यक्ष देख्न सकिन्छ । दर्जनको संख्याभन्दा बढी यसमा संलग्न हुन्छन् । महिला झाँक्री पनि बडो साहसिक भएर पुरुष झाँक्रीसँग नाच्छन् । हाल यो मेला झाँक्री नाचले ख्याति कमाएको छ । यहाँको संस्कृतिमा धामी–झाँक्रीप्रतिको विश्वास, तिनले गर्ने परम्परागत स्वास्थ्य अभ्यासका साथै तिनै धामी–झाँक्रीले आजपर्यन्त स्वास्थ्य उपचारमा प्रयोग गर्ने स्थानीय जडीबुटीको प्रयोग अनौठो छ । आदिवासीय बौद्धिक ज्ञान आजको प्राकृतिक उपचारमा संलग्न चिकित्सकहरूका लागि ग्रहनयोग्य मात्र नभई बौद्धिक खुराक बन्न सक्छ । वास्तवमा झाँक्रीवादले सदात्मा र दुरात्मालाई समान व्यवहार गर्छ भन्ने यिनले निश्चित तिथि तथा आइपरेको विपत्का बखत गर्ने कर्मकाण्डले त्यो बताउँछ । झाँक्रीले आफ्नो मुख्य अस्त्रको रूपमा ढ्याङ्ग्रोलाई स्विकार्छन् । तिनीहरू आफ्नो वस्त्र लगाएर झाँक्रीको पूर्ण शरीर लिइसकेपछि बडा भव्य देखिन्छन् । कतिपय झाँक्रीले आफ्नो कलालाई पेसागत व्यवसायको रूपमा समेत जोडेर जीवन निर्वाहसमेत गरिरहेका छन् ।
स्थानीय समुदाय मिहिनेती, परिश्रमी र लगनशील छन् । परम्परागत खेतीमा उनीहरू विशेष दख्खल राख्छन् । महिलाहरू परम्परागत हस्तकलाका उद्यममा व्यस्त रहन मन पराउँछन् । हावापानी र जमिन खेती गर्न योग्य छन् । मकै, गौं, जौं, कोदो, आलु, फापर, स्याउ यहाँका मुख्य खाद्य तथा नगदेबाली हुन् । सानीभेरी र उत्तरगैगको तटीय क्षेत्रमा धानको राम्रो उब्जनी हुन्छ । 
पूर्वी रुकुमको परिचय यतिले पूर्ण हुँदैन । त्यसका निम्ति यो भेगतिर घुमघाममा निस्कँदा बढी जाति हुन्छ । आउनुहोस्, कान्छो जिल्ला यहाँहरूको स्वागतमा हाजिर छ !

प्रकाशित : कार्तिक ११, २०७४ ०८:३१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT