गरिबका अपार्टमेन्ट मुख्यमन्त्रीलाई !

नागार्जुन नगरपालिकाको इचंगुनारायणमा २०७० मा निर्मित अपार्टमेन्टमा मुख्यमन्त्री र प्रदेश प्रमुखको ‘अस्थायी आवास’ बनाउन लागिएको हो ।
दीपेन्द्र विष्ट

काठमाडौं — सरकारले सहरी गरिब, सुकुम्बासी तथा न्यून आय भएका परिवारका लागि बनाइएको अपार्टमेन्टमा मुख्यमन्त्री र प्रदेश प्रमुखलाई राख्ने तयारी गरेको छ ।

गरिबका अपार्टमेन्ट मुख्यमन्त्रीलाई !

नागार्जुन नगरपालिकाको इचंगुनारायणमा २०७० मा निर्मित अपार्टमेन्टमा मुख्यमन्त्री र प्रदेश प्रमुखको ‘अस्थायी आवास’ बनाउन लागिएको हो ।


केही दिनअघि गृहसचिव प्रेमकुमार राई, सहरी विकास सचिव दीपेन्द्रनाथ शर्मा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल र उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले ती अपार्टमेन्टको निरीक्षण गरिसकेका छन् ।

'गरिबीको रेखामुनि रहेका र अव्यवस्थित तथा असुरक्षित बस्तीमा बसोबास गरेका परिवारसमेत समेटी आवास अवधारणा विकसित गर्ने' उद्देश्यले सरकारले अपार्टमेन्ट बनाएको थियो ।


तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईका पालामा वाग्मती नदी किनारका सहरिया गरिबलाई लक्षित गरी बनाइएका ती अपार्टमेन्ट प्रयोगविहीन थिए । सहरी गरिब तथा न्यून आय वर्गका परिवार पहिचान गर्न गाह्रो भएपछि सरकारले त्यहाँ कसैलाई राख्न सकेको थिएन ।

लामो समयदेखि खाली रहेका अपार्टमेन्टमा सरकारले ७ वटै प्रदेशका मुख्यमन्त्री तथा प्रमुखलाई काठमाडौं आउँदा बस्ने व्यवस्था गर्न लागेको जानकारी उपत्यका विकास प्राधिकरणका प्रमुख तिवारीले दिए ।


'लामो समयदेखि खाली छ, खाली रहनुभन्दा मुख्यमन्त्रीलगायत प्रदेश प्रमुखलाई राख्ने तयारी गरेका हौं,' उनले भने, 'केही दिनभित्र सम्पूर्ण तयारी पूरा हुन्छ ।' सरकारले यसअघि पटक–पटक सहरिया गरिब राख्न तयारी गरे पनि गरिबको पहिचान गर्न नसक्दा अपार्टमेन्ट खाली रहेको उनले बताए । गाडी र मोटरसाइकल पार्किङस्थल बनाएर त्यसलाई अझै व्यवस्थित बनाइने उनले बताए ।

तत्कालीन सहरी विकासमन्त्री प्रभु साहले सरोकारवाला मन्त्रालयका अधिकारीसँग सहरी गरिब पहिचानका लागि पटक–पटक छलफल गरेर अपार्टमेन्टमा राख्ने व्यवस्था मिलाउने प्रयास गरेका थिए । तर, गरिब तथा न्यून आय वर्ग छुट्याउने मापदण्ड नभएपछि कार्यक्रम रोकिएको थियो ।


सहरी विकास मन्त्रालयले सहरी गरिब तथा न्यून आय वर्गका परिवारका लागि व्यवस्थित बसोबास कार्यक्रम सञ्चालन कार्यविधि २०७० तयार गरेको छ । मुख्यमन्त्री र प्रदेश प्रमुखका लागि आवास बनाउने हो भने त्यतिबेला बनाइएको कार्यविधिको कुनै अर्थ नरहने ती अधिकारीले बताए ।


नागार्जुन नगरपालिकाको इचंगुनारायणमा जग्गा आवासअन्तर्गत करिब ७ रोपनीभन्दा बढी जमिनमा ५ तले ६ वटा अपार्टमेन्ट छन् । १ सय २७ परिवारको बसोबासका लागि ती आवास एकाइ निर्माण गरिएको थियो । १२ करोड रुपैयाँमा निर्मित ती अपार्टमेन्टलाई ३ वटा ब्लकमा विभाजन गरिएको छ ।

प्रकाशित : श्रावण २८, २०७५ २०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?