जनप्रतिनिधि हेलिकप्टरबाटै गाउँ–सहर

वैशाखयता सिमकोटबाट विभिन्न गाउँपालिकामा ३० वटा उडान भए । तीमध्ये अधिकांश जनप्रतिनिधि बोक्न प्रयोग गरिएका थिए 
जयबहादुर रोकाया, तुलाराम पाण्डे

हुम्ला / कालिकाेट — सडकले छोएका स्थानीय तहका जनप्रतिनिधि गाडी चढ्छन् । नपुगेका ठाउँका भने हेलिकप्टर चढेरै सदरमुकाम आउजाउ गर्छन् । निर्वाचित हुनुपूर्व पैदल आवतजावत गर्ने जनप्रतिनिधि अचेल हेलिकप्टरबाटै गाउँ–सदरमुकाम आउजाउ गर्न थालेका हुन् । ‘आफ्नै खर्च’ मा हेलिकप्टर चढेको उनीहरूको दाबी छ ।

गाउँमा उडान गर्ने क्रममा सिमकोट एयरपोर्टमा रहेका हेलिकोप्टर । तस्बिर : जयबहादुर रोकाया । कान्तिपुर 

साउन तेस्रो साता हेलिकप्टरबाट सिमकोट पुगेकी अदानचुली गाउँपालिकाकी उपाध्यक्ष सौमती ऐडीका लागि ‘हेलीयात्रा’ पहिलो अनुभव थियो । यसका लागि उनले २१ हजार खर्च गरिन् । सँगसँगै आएका अरूले पनि सोही दरमा हेलिकप्टर भाडा तिरेको उनले बताइन् । ‘शंका गर्नेले त जे पनि गर्लान्, तर मैले आफ्नो भाडा आपंैm तिरेकी छु,’ उनले भनिन्, ‘गाउँपालिकाबाट भाडा लगेकी छैन ।’

Yamaha

सर्केघाट गाउँपालिकाका उपाध्यक्ष जोशी धामी पनि हेलिकप्टरमै आवतजावत गर्छिन् । उनी त ‘हेलिकप्टरवाला’ सँग आफ्नो राम्रो सम्बन्ध भएकाले भाडा तिर्नै नपर्ने बताउँछिन् । ‘हिजो (चुनावअघि) म गाउँमा बस्थें, आजकल गाउँमा आउजाउ गरिरहनुपर्छ,’ उनले भनिन्, ‘तैपनि मैले हेलिकप्टरको भाडा गाउँपालिकालाई तिर्न लगाएकी छैन ।’

सिमकोटका पर्यटन व्यवसायी विजय लामाका अनुसार वैशाखयता मात्र सिमकोटबाट विभिन्न गाउँपालिकामा ३० वटा उडान भएका छन् । सिमकोटबाट अदानचुलीमा आठ, चंखेलीमा ६, सर्केघाटमा पाँच, ताजाकोटमा तीन र यालबाङमा एक र बाँकी अन्य स्थानमा भएको लामाले बताए । यी उडान जनप्रतिनिधि र बिरामीका लागि आधाआधा प्रयोग भएको उनको भनाइ छ ।

हेलिकप्टर कम्पनीले सिमकोटबाट चंंखेलीमा एक लाख २० हजार रुपैयाँ, ताजाकोट र अदानचुलीमा एक लाख २५ हजार रुपैयाँ, सर्केघाटमा एक लाख रुपैयाँ र यालबाङमा ८० हजार रुपैयाँमा हेलिकप्टर चार्टर गर्छन् । स्थानीय श्यामजोर ऐडीले गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षमात्र नभई वडाध्यक्षले समेत हेलिकप्टरमै गाउँ–सदरमुकाम आउजाउ गर्ने गरेको बताए ।

‘हेलिकप्टर भाडामा कसको कति खर्च भयो भन्ने कुरा त गाउँपालिकामै गएर बुझ्दा थाहा होला,’ उनले भने, ‘तर हिजो सामान्य हैसियत भएका व्यक्तिहरू आज जनप्रतिनिधि हुनेबित्तिकै महँगो भाडा तिरेर हेलिकप्टरमा आवतजावत गर्छन् भने यसमा शंका गर्नैपर्छ ।’ जनप्रतिनिधिहरू भने गाउँमा सडक सुविधा नपुगेको र पैदल यात्रा गर्दा समय बढी लाग्ने भएकाले हेलिकप्टरमै आवतजावत गर्नुपरेको बताउँछन् । कैलाश मानसरोवर यात्राका लागि सिमकोट आएका हेलिकप्टरका कारण उनीहरूलाई सहज भएको छ ।

मोटरसाइकलमा चालक!

कालिकोटकाे रास्कोट नगरपालिकाले ९ वटै वडाका वडाध्यक्षलाई ९ वटा मोटरसाइकल खरिद गरेको छ । यसका अतिरिक्त विषयगत शाखालाई एक/एक वटा र अन्य नगरका कर्मचारीका लागि पनि मोटरसाइकल दिएको छ ।

सात जना वडाध्यक्षले भने मोटरसाइकल चलाउन जान्दैनन् । उनीहरूसँग सवारी अनुमतिपत्र (लाइसेन्स) छैन । ‘चुनाव जितेपछि मोटरसाइकल पाइयो, मोटरसाइकल नहुँदै लाइसेन्स कताबाट ल्याउनू ?,’ २ नम्बर वडाका वडाध्यक्ष दयाराम सिम्खडाले भने, ‘कतै जानुपर्‍यो भने लाइसेन्स भएका साथीभाइको पछाडि बस्छौं ।’

रास्कोट नगरपालिकाले वडाध्यक्षलाई मोटरसाइकलमात्र होइन, मेयरका लागि ४० लाखको गाडीसमेत खरिद गरेको छ । तर, उक्त गाडी गाउँमा गुडदैन । असारपछि कर्णाली नदीमा फेरी बन्द भएपछि सदरमुकाम मान्ममै राखिएको छ । मेयर काशीचन्द्र बरालले सदरमुकाम आउँदा र सुर्खेत झर्दामात्र उक्त गाडी प्रयोग गर्छन् । ‘त्यो गाडी नगरपालिकातिर देखिँदैन, मेयर र उनका आसेपासेले मात्र सदरमुकाममा चढ्छन्,’ वडाध्यक्ष सिम्खडाले भने, ‘हामीलाई भने मोटरसाइकल दिइएको छ ।’

रास्कोट कालिकोटकै सबैभन्दा धेरै सवारीसाधन भएको नगरपालिका हो । यहाँ मेयरलाई गाडी, सबै वडाध्यक्ष र विषयगत शाखालाईसमेत गरी १४ मोटरसाइकल र विकास निर्माणका लागि एक करोड १० लाख रुपैयाँमा खरिद गरिएको एउटा डोजर छ । मेयर बराल सवारी धेरै हुँदा काममा पनि उत्तिकै सहज भएको बताउँछन् । गत वर्ष डोजरले आठ करोड रुपैयाँ लागतको ३१ किलोमिटर लामो सडक खनेको उनले बताए ।

सडक नभएका ठाउँमा मोटरसाइकल
रास्कोट नगरपालिकाले त लाइसेन्स नभएका वडाध्यक्षलाई मोटरसाइकलको चाबी दिएको छ । नरहरिनाथ गाउँपालिकाले भने सडक नपुग्दै मोटरसाइकल खरिद गरेको छ ।

नगरपालिकासँग पाँचवटा मोटरसाइकल छन् । एउटा मोटरसाइकल हालै खरिद गरिएको हो भने चार वटा साबिकका रुप्सा, मालकोट, लालु, कोटबाडा गाविस हुँदै खरिद गरिएको गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले बताए ।

मोटरसाइकल मोह अन्य स्थानीय तहमा पनि उत्तिकै देखिन्छ । तिलागुफा नगरपालिकासँग चार मोटरसाइकल छन् । नगरले यस वर्षको बजेटबाट गाडी किन्ने योजना बनाएको उपमेयर दन्ता नेपालीले बताइन् । पचालझरना, पलाता, सान्नीत्रिवेणी, शुभकालिका महाबै, नरहरिनाथ गाउँपालिका सबैसँग ४ देखि ६ वटासम्म मोटरसाइकल छन् । ती मोटरसाइकल कसले कहाँ चढ्छन् भन्ने गाउँपालिका प्रमुखसमेत बेखबर छन् ।

जिल्ला सदरमुकाम रहेको खाँडाचक्र नगरपालिकाले गत असार अन्तिममा ३७ लाख ५० हजार रुपैयाँमा एक गाडी खरिद गरेको छ । नगरपालिकासँग दुई मोटरसाइकल छन् । ‘एक वर्ष भाडाको बोलेरो जिप चढियो,’ मेयर जसीप्रसाद पाण्डेले भने, ‘भाडा धेरै गएकाले गाडी किन्यौं ।’

सडक छैन, ड्राइभर सरुवा !

कालिकोट जिल्ला समन्वय समिति (जिसस) ले सडक नपुगेको शुभकालिका गाउँपालिकामा चालक सरुवा गरेको पाइएको छ । समन्वय प्रमुख अनिपाल शाहीले गत पुसमा जिससमा आफूनिकट नयाँ चालक राख्न पहिलेदेखि कार्यरत चालक धर्मराज शाहीलाई शुभकालिका गाउँपालिका सरुवा गरेका हुन् ।

प्रमुखले पेलानमा पारेर गाडी र सडक दुवै नभएको गाउँपालिकामा सरुवा गरेपछि जागिर छोड्नुपरेको शाहीले बताए । उनका अनुसार गाउँपालिकाले वैशाखदेखि हाजिर गराएको थियो । तर, जिम्मेवारीविहीन हुँदा पाँच वर्षदेखिको जागिरबाटै हात धुनुपर्‍यो ।

प्रकाशित : श्रावण २८, २०७५ २०:१७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

१६ वर्षदेखि श्रीमान्‌काे पर्खाइमा (भिडियाेसहित)

होम कार्की

काठमाडौँ — ‘तपाई त आउनुभएछ । खै मेरो श्रीमान त आँउदैनन्’ आफ्नो तरकारी पसलमा आउने ‘मलेसियन लाहुरे’ लाई फूलमाया वाइवा सोध्ने गर्छिन्, ‘हाम्रो मान्छेले किन माया नै मारेर बसेका होलान् ?’ 

१६ वर्षदेखि मलेसियाबाट नफर्केका ४५ वर्षीय वीरबहादुर वाइवाकी ३७ वर्षीय फुलमाया वाइवा सम्पर्कविहिन श्रीमान्‌काे तस्बिर देखाउँदै । तस्बिर : होम कार्की/कान्तिपुर   

उनी जोरपाटी चोकको सडकमा तरकारी बेच्दै बस्छिन्। गरिखाने एउटा ठेला थियो। नगरपालिकाले खोसेर लगिदियो। अहिले सडकमै बोरा ओछ्याएर तरकारी बेच्दै आएकी छिन्। मलेसियामा काम गरी फर्केर आउनेलाई भेट्नासाथ आफ्ना श्रीमान् वीरबहादुरको तस्बिर देखाउँदै सोध्छिन्, ‘तपाईले यो मान्छेलाई कतै देख्नु भएको छ? चिन्नुहुन्छ?’

वीरबहादुर २०५९ चैत २० मा मलेसिया उडेका थिए। त्यतिखेर वीरबहादुरको छोरो ७ वर्षको थियो। छोरालाई साह्रै माया गर्थे। बोर्डिङमा पढाउथे। मलेसिया गएपछि यी सवै भुले। उनी के गर्छन्? कहाँ छन्? कोसँग बस्छन्? फुलमाया बेखबर छिन्।

‘धन कमाएर एउटा टेक्ने थलो बनाउला भनेर जानुभएको थियो। मलेसियामा के भयो? के को हावाले छोयो। थाहा छैन’ फुलमायाले भनिन्, ‘गएदेखि फर्केर आउनु त भएन। हामीलाई सम्पर्क पनि गर्नुभएन। हामी आमाछोरालाई सडकमा ल्याएर छाडिदिनुभयो।’

फूलमायाको वीरबहादुरसँग दोहोरो सम्पर्क नै नभएको ठ्याक्कै १४ बर्ष वित्यो।दुई वर्षसम्म नियमित सम्पर्क हुन्थ्यो। त्यतिखेर मोवाइल थिएन। डेरामा सबैको घरमा ल्याण्डलाइन फोन थियो। ‘कहिलेकाँही त्यहीँ फोन आउथ्यो। दुखसुखको वातचित हुन्थ्यो। बेला बेला मलेसियामा खिचेका तस्बिरहरु पठाइदिनुहुन्थ्यो। त्यो तस्बिर हेरेर नै बुढाको हालखवर थाहा पाउँथे। माटाएको र दुब्लाएको थाहा पाउँथे। सुख छ कि दुख छ भनेर अनुमान गर्थे,’ उनले भनिन्।

उनका अनुसार मलेसिया जाँदा दुई बर्षपछि आउछु भन्थे, आएनन्। तीन वर्ष बितेपछि आउँछु भन्थे, आएनन्। त्यसपछि त फोन नै आउन छाड्यो।‘सुरुमा त पैसा पनि पठाएका थिए। दुई लाख ७० हजार रुपैयाँ पठाए। यो पैसाले मलेसिया जाँदा लागेको ऋण पनि तिर्न पुगेन,’ उनले भनिन्, ‘एक लाख ५० हजार रुपैयाँ ऋण लिएर गएका हुन्। तीन वर्षसम्म ब्याजसहित ३ लाख रुपैया पुग्यो। बाँकी ऋण पनि म आफैंले तरकारी बेचेर तिरेँ।’

वीरबहादुर भन्दा ८ वर्षले फूलमाया कान्छी हुन्। अहिले फुलमाया ३७ वर्षकी भइन्।उनी २०५२ को मंसिरतिर काठमाडौं शहर हेर्न पहिलोपटक काठमाडौं आएकी थिइन्। त्यतिखेर उनी १४ वर्षकी थिइन्। नेत्रकाली, सिन्धुलीका साथीभाइ कीर्तिपुरमा गलैचा वुन्न आउथे। उनी घरबाट भागेर गलैचा बुन्न आएकी थिइन्।

‘वीरबहादुरसँग गलैंचा कारखानामै भेट भएको थियो। मलाई गलैचा बुन्न आउँदैन्थ्यो। उहाँले मलाई खाना मात्रै पकाएर दिए हुन्छ। काम गर्नुपर्दैन भनेपछि बिहे गरें’ उनले विगत सम्झिंदै भनिन्,‘बिहे गरेको एक वर्षमै छोरो जन्मियो।’

जेनतेन जिन्दगी चलिरहेको थियो। वीरबहादुर साथमै हुँदा फुलमायाले जिन्दगीमा दु:ख महसुस गर्नुपरेको थिएन। जव विरबहादुर मलेसिया छिरे। त्यसपछि दुखमाथि दुख थुप्रिदै गयो।‘यो जिन्दगी कसरी जाने हो? थाहा नपाउँदै म भन्दा ८ बर्ष जेठासँग विवाह भयो। परिवारसँग बस्नै मन थिएन भने बरु एक्लै बसेको भए हुन्थ्यो। हामीलाई लिएर सडकमा छाडेर किन गयो?,’ उनी भन्छिन,‘उनले गर्दा धेरै दुख पाएँ। तनावले दिमाग ठीक ठाँउमा भएन। मानसिक रोगको शिकार भएँ। ‘मसँग कति रोग छन्। मुटुको रोग भएन कि, मृगौलामा पत्थरी भएन कि। फोक्सोको रोग भएन कि’ उनी भन्छिन्,‘बाटाको धुलोमा वसेर काम गरेर खाइरहेको छु। महिनाको १० हजारको औषधी खान्छु।’छोरोको पढाइ पनि बिग्रियो। ‘बालक छोरोले कति दु:ख झेल्यो’ उनले भनिन्।

उनका अनुसार काटेश्वर जोरपाटीमा तरकारी किन्न आउनेलाई वीरबहादुरको फोटो देखाउँदा कसैले देखेको छु भनिदिन्छन्। कसैले छैन भनिदिन्छन्। अलि अगाडि खोज्नका लागि एक जनालाई फोटो दिएर पठाएका थिए।

‘त्यो मान्छेले भेटेको खबर सुनाए। सोधखोज गरेपछि कम्पनी नै छाडेर अर्कोतिर हिडिदिए भन्छन्’ उनले भनिन,‘हामीसँग पैसा छैन। सम्पत्ति छैन। हामीलाई खाना त धौधौ छ। खोज्न कहाँ जाने?’

सरकारी निकायमा कहाँ गएर कसलाई भन्ने उनलाई थाहा थिएन। दुई महिना अगाडिमात्रै खोजीको लागि परराष्ट्र मन्त्रालयमा निवदेन दिएकी छिन्। मलेसियामा रहेको नेपाली दूतावासले खोजी भइरहेको जवाफ दिएको छ।

फूलमाया वीरबहादुरबारे बुझ्न धर्म गुरुलाई फोटो देखाउन गइरहन्छिन्।‘यो मान्छेको जिउँदाे छ कि छैन? आउदै आएन।’‘जिम्दो छ कि छैन भनेर भन्दैन। तिम्रो भाग्यमा कर्म गरी खाने लेखेको छ। कर्म गर। बुढोको कमाई खाने भाग्य नै छैन,’ गुरुले ५ चोटीसम्म यही जवाफ दिइसके। उनले सपनामा पनि वीरबहादुर बाँचेकै देखिरहेको बताउँछिन्।

फूलमायाको वीरबहादुरसँग हिसावकिताव गरेरमात्रै मर्ने इच्छा छ। ‘दुखले कति पटक मर्न हिडे। छोरो भएर मर्न सकिन। बालकमा मैले आमा गुमाउँदाको पीडाको अनुभव छ। छोरोलाई त्यो पीडा दिन चाँहिन,’ उनले भनिन्।

उनको श्रीमान् मलेसिया जाँदा जहाँ छोडेर गएका थिए, उनी त्यही बसिरहेकी छिन्। ‘मेरो दुख र मिहेनत देखेर कन्या केटाले समेत विबाह गर्न प्रस्ताव गरेका थिए। मलाई कति मान्छेले फकाए होलान्? कतिले आश्वासन दिए होलान्। म मेरो बुढो पर्खेर नै बसिरहेको छु। उनको पनि कोही छैन। आमाबुवाको मृत्यु भइसक्यो। एउटा बहिनी थिइन्। उनको पनि मृत्यु भयो। उनलाई सम्झेर माया लाग्थ्यो,’ उनले भनिन्,‘म जहाँ बसेको छु। इमान्दार भएर बसेको छु। उनको इज्जतमा दाग लाग्ने गरी हिडेको छैन। त्यो मलाई कि भगवानलाई मात्रै थाहा छ।’

फूलमायाको छोरो २२ वर्षका भएका छन्। कक्षा ११ भन्दा माथि पढ्न सकेनन्। उनले ऋण खोजेर छोरोलाई कतार पठाएकी थिइन्। कतारको यात्रा त्यति सफल भएन। जानु मात्रैको भयो।
उनलाई छोराले बारम्बार दुइटा प्रश्न गरिराख्छ, ‘बावु आमाले गर्दा पढ्न पाइनँ। जन्म दिएपछि कर्म किन नदिएको? सम्पत्ति किन नजोडेको?’

‘छोरोको प्रश्नको उत्तर मसँग छैन। मैले सकेको गरे,’ उनी भन्छिन्, ‘छोरोको प्रश्नको उत्तर दिन भने पनि एकपल्ट आऊ। बाँकी जीवन तिम्रै हातमा छ।’

प्रकाशित : श्रावण २८, २०७५ २०:१२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT