एक हजारमा ढाड सेवा

स्थानीयले एक हजार रुपैयाँसम्म लिएर यात्रुलाई वारपार गराउँछन्
ज्योति कटुवाल

दैलेख — गुराँस गाउँपालिका हुँदै कर्णाली राजमार्ग जोड्ने रतिखोलामा पक्की पुल नहुँदा यात्रुलाई सास्ती भएको छ । खोलामा बाढी आएपछि स्थानीयवासी घण्टौं अलपत्र पर्ने गरेका छन् ।

दैलेखको गुराँस गाउँपालिकास्थित रतिखोलामा पुल नहँुदा यात्रुलाई ढाडमा बोकेर खोला तारिदिँदै स्थानीय । तस्बिर : ज्योति कटुवाल । कान्तिपुर

पुल नभएकै कारण सार्वजनिक सवारी साधन नचलेपछि रतिखोला भएर आवतजावत गर्ने यात्रुलाई सास्ती भएको हो ।

स्थानीयले एक हजार रुपैयाँसम्म लिएर यात्रुलाई वारपार गराउँछन् । रतिखोलाको नजिकै बस्दै आएका रामेश्वर विकले आफ्ना लागि वर्षायाम रोजगारीको राम्रो माध्यम हुने बताए । ‘दिनभरि खोला किनारमै बसेर यात्रुलाई वारिपारि तार्ने काम गर्छु,’ उनले भने, ‘पानीको बहाव हेरेर रकम लिने गरेको छु, जोखिमपूर्ण काम भएकाले एक हजार रुपैयाँसम्म लिने गरेको छु ।’ उनले वर्षौंदेखि यही काम गर्दै आएको बताए ।

Yamaha

उनीसहित करिब दर्जन युवाले यात्रु तार्ने काम गर्दै आएका छन् । यात्रु तार्ने स्थानीय युवाको बिहानदेखि साँझसम्मै भीड हुने गरेको छ । युवाले केही रकमको लोभमा परेर ज्यानको बाजी लगाउँदै खोला तार्ने गरेको स्थानीय टीका विकले बताइन् । ‘पानी परेको दिनमा छोराछोरीलाई अन्यत्रै भेट्न मुस्किल हुन्छ,’ उनले भनिन्, ‘दिनभरजसो खोला किनारमा आएर बस्ने गरेका छन्, यात्रुलाई खोला वारपार गराउने गरेका छन् ।’

खोलामा पानीको बहाव बढ्न थालेपछि सार्वजनिक सवारी साधन अर्को रुट भएर सञ्चालन हुने गरेका छन् । पानी नपरेको दिन भने यही रुटबाट गाडी चलाउन सजिलो हुने चालकको भनाइ छ । केही मालवाहक गाडी, भाडाका र निजी सवारी साधन यसै बाटो भएर आउजाउ गर्ने गरेका छन् ।

हिउँदमा सुर्खेतबाट जुम्ला, दैलेख, कालिकोट, मुगु र अछामका लागि छुट्ने गाडीहरू यही रुटबाट सञ्चालन हुने गर्छन् । गुराँसे हुँदै तल्लोडुगेश्वर जाँदा १३ किमि छोटो हुने भएकाले हिउँदको समय यही रुट प्रयोग गर्ने गरिएको छ । ‘सानो पानी पर्दासमेत रतिखोलामा पानीको बहाव बढ्छ,’ डुंगेश्वरका मानव थापाले भने, ‘त्यसैले अधिकांश यातायातका साधन अर्को रुट भएर आउजाउ गर्छन् ।’ खोलामा बाढी आएपछि घण्टौं गाडी रोकिने गरेको उनले बताए ।

सुर्खेतको बडौरबाट कर्णाली राजमार्ग जोडिए पनि यो रुट छोटो भएकाले हिउँदमा रतिखोला हुँदै गाडी सञ्चालन हुने गरेको छ । यो रुटबाट चल्ने गाडी गाडी तल्लो डुंगेश्वरमा गएर कर्णाली राजमार्गमा मिसिने गरेका छन् । हिउँदमा गुराँसे हुँदै यही रुटबाट गाडी चलेपछि होटल व्यवसाय फस्टाएको व्यवसायीको भनाइ छ ।

वर्षायाममा भने खोलाकै कारण आफूहरूको व्यवसाय समस्यामा पर्ने गरेको होटल व्यवसायीको भनाइ छ । गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले छिटो पुल निर्माणका लागि सडक डिभिजनसँग समन्वय गरिने बताए ।

प्रकाशित : श्रावण २९, २०७५ ०७:२७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

सीटीईभीटीद्वारा ऐनविपरीत अनुमति

कान्तिपुर संवाददाता

काठमाडौँ — प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले ऐनविपरीत १ सय ५ विद्यालयलाई ३ वर्षे डिप्लोमा तह सञ्चालन गर्न अनुमति दिएको छ ।

सीटीईभीटीले स्थानीय सरकार सञ्चालन ऐनविपरीत ती विद्यालयलाई कृषि र इन्जिनियरिङ विषयको कक्षा यसै वर्षदेखि संञ्चालन गर्न अनुमति दिएको हो ।

ऐनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजना बनाउने, सञ्चालन, अनुमति, अनुगमन र नियमनको जिम्मा स्थानीय सरकारलाई दिएको छ । परिषदका सदस्यसचिव पुष्परमण वाग्लेले भने स्थानीय तहकै सिफारिसका आधारमा अनुमति दिइएको दाबी गरे । ‘संघीय कानुन बनिसकेका छैनन्, स्थानीय तह पनि सबल भएका छैनन्,’ उनले भने, ‘सीटीईभीटीकै ऐनमा टेकेर अनुमति दिएका हौं ।’ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल अध्यक्ष रहेको परिषद् बैठकले ९५ सामुदायिक, ८ वटा आंगिक र दुइटा साझेदारीमा सञ्चालित गरी १ सय ५ विद्यालयलाई कृषि र इन्जिनियरिङ विषयमा डिप्लोमा कक्षा सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको हो ।

अनुमति पाएका शैक्षिक संस्थामा एसईई उत्तीर्ण विद्यार्थीले ३ वर्षे डिप्लोमा अध्ययन गर्न पाउने छन् । शैक्षिक संस्थाको पूर्वाधारलगायत आवश्यक पक्ष अनुगमन गरेर अनुमति दिएको सीटीईभीटीले जनाएको छ । साझेदारीतर्फ मदन–आश्रित स्मृति पोलिटेक्निकल इन्स्टिच्युट र शैलजा आचार्य प्राविधिक शिक्षालयलाई पशुपालन विषयतर्फ थप अनुमति दिइएको हो । सीटीईभीटीबाट अनुमति लिएर प्राविधिक एसईईसहित डिप्लोमातर्फ यसअघि नै दुई सय १७ विद्यालय सञ्चालित छन् । आंगिकतर्फ ३७ शिक्षालय सञ्चालनमा छन् ।

प्रकाशित : श्रावण २९, २०७५ ०७:२६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT