भरतपुरमा राजमार्गमा देखिएको शंकास्पद वस्तु सेनाले नष्ट गर्‍यो

रमेशकुमार पौडेल

चितवन — पूर्व पश्चिम राजमार्गको भरतपुर रिजाल चोकमा मंगलबार बिहान देखा परेको शंकास्पद् वस्तु सेनाले नष्ट गरेको छ ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेर बन्दका बेलामा फेला परेको सो वस्तु कुनै पनि प्रकारको विस्फोटक पदार्थ नभएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रभुप्रसाद ढकालले बताए ।

Yamaha

बन्द आह्वानकर्ताले त्रास फैलाउन राजमार्गमा शंकास्पद वस्तु राखेको हुन सक्ने प्रहरीको भनाइ छ । बिहान साढे नौ बजे तिर मोटरसाइकल चढेर आएका दुईजनाले राजमार्गमा शंकास्पद वस्तु खसालेर भागेको सूचना स्थानीयले दिएपछि प्रहरी हेर्न गएको थियो । ‘दुईवटा टिनका बट्टा (क्यान)लाई टेपले बेरेर थोरै तार निकालेको र कम्युनिष्ट पार्टीको झण्डा पनि बेरेर सडकमा फालेको शंकास्पद वस्तु भेटेका थियौं,’ डिएसपी ढकालले भने ।

नेपाली सेनाको टोली आएर राजमार्गका भेटिएको शंकास्पद वस्तु निष्क्रिय गरेको थियो । ‘सेनाको टोलीले निष्क्रिय गरेको हो । तर त्यो कुनै विस्फोटक पदार्थ भने थिएन,’ डिएसपी ढकालले भने । उनका अनुसार यो बाहेक चितवनमा अरु कुनै घटना भएको छैन । रातिदेखि नै विभिन्न १२ जना व्यक्तिलाई नियन्त्रणमा लिएको उनले बताए । पक्राउ पर्नेमा बन्दकर्ता भए नभए छानबिन भइरहेको उनले जानकारी दिए ।

Esewa Pasal

प्रकाशित : श्रावण २९, २०७५ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्

समृद्धिको लागि ग्रामीण पर्यटन 

सागर कुवर

काठमाडौँ — नेपाल पर्यटनको अधिक संभावना बोकेको मुलुक हो । विश्वको सर्वोच्च शिखर सगरमाथादेखि गौतम वुद्ध जन्मेको देश नेपाल भनेर विश्वमा नेपाल चिनिन्छ । कैयौं उच्छ हिमशृङखलासहित प्राकृतिक हिसाबले सुन्दर देश नेपालमा पुरातात्विक सम्पदाले समेत भरिपुर्ण छ ।

जल, स्थल, हिम पर्यटनको क्षेत्र भएकोले नेपालमा पर्यटनहरु आइरहने गर्दछ्न्। २०७२ को भुकम्प पछि पनि नेपाल विश्वमा घुम्नै पर्ने १० देश भित्र परेको छ।

विश्व जल सम्पदाको दोस्रो धनी, ताल, झरना, गुफा पनि नेपालका ग्रामिण भेगमै छन्। नेपालमा ६ सय भन्दा बढी नदीनाला, ८ वटा अग्ला हिमाल तथा विभिन्न सानासाना गरी १७ सय ९७ वटा हिमाल, १ सिंगे गैंडा, बाघ, भालु, सिंह, हिम चितुवालगायत प्रकृतिका अनुपम उपहारलाई ग्रामिण पर्यटन र सवृद्धिको आधार बनाउन सकिन्छ। ४० प्रकारका सर्प, ८७२ प्रकारका चरा, १८० प्रकारका माछा, ६०० प्रकारका पुतली, ३२ प्रकारका लालीगुराँस, ७०० प्रकारका जंगली जडीबुट्टी, लोपोन्मुख जीवजन्तु पनि नेपालमा पाईन्छन्। पर्यटकीय विविधतालेसमेत नेपालको प्राकृतिक सौन्दर्यको वयान गर्ने शब्दहरु निकै कम छन्।

विकास भनेको सकारात्मक रुपान्तरण हो। चाहे त्यो जुनसुकै क्षेत्रभित्र नै किन नहोस्। रुपान्तरण भन्नाले कुनै विषयबस्तुको रही आएको अवस्थाबाट सकारात्मक मार्गतर्फ परिवर्तन भएको अवस्था भन्ने बुझिन्छ। जहाँ जे कुराहरुको अभाव छ, ति चिजहरु प्राप्त हुनु नै विकासको पथमा लम्कनु हो भन्न सकिन्छ। अभावको परिपुर्ती हुँदा मानिसहरुले सन्तुष्टि प्राप्त गर्दछन्। जव मानिसहरुमा सन्तुष्टि प्राप्त हुन्छ, उनीहरुमा सकारात्मक परिवर्तनप्रति अपेक्षाकृत गतिशीलता पैदा हुन्छ। विकासको लागि राज्यले दीर्घकालीन योजना बनाएर काम गर्नु पर्दछ। सुशासन र पारदर्शिता कायम गरेर विकास कार्यलाई अगाडि बढाउन सकिन्छ।

हरेक स-साना उपलब्धिको समष्टिगत रुप नै दीर्घकालमा पूर्ण विकासको अवस्था बन्न सक्छ। हुम्लामा भोको पेटका लागि एक छाक खानाको सुनिश्चितता विकास हुन सक्छ भने तराईको प्रचण्ड गर्मीमा खाली खुट्टा धुलोमा आफ्ना भाइ बहिनीसँग खेल्दै गरेकी बालिकाका लागि एक जोडी चप्पल र खेल्नलाई व्यवस्थित स्थान, विकासको सूचक हुन सक्दछ। विकास समय, भुगोल, परिस्थिति अनुसार गतिशील हुन्छ। साधरणतय मुलुकहरु रातारात विकसित बन्न सक्दैनन्। विकासले गुणात्मक फड्को मार्नको लागि सिङ्गो मुलुक भित्र रहेको स्रोत र साधनको उच्चतम् सदुपयोग हुनु पर्दछ। नेपालमा विशेष गरेर ग्रामीण भेगको विकासमा राज्य उदासिन रहँदै आएको छ। लामो समयसम्म देशमा चलेको द्वन्द्व, राज्यको सामन्ती केन्द्रीकृत विकास नीति तथा स्रोत र साधन पहिचान र परिचालनमा देखिएको उदासिनताको कारण नेपाल विकास कार्यमा पछि पर्‍यो भने ग्रामीण विकास कार्य त धेरै नै पछि पर्‍यो। ग्रामीण विकास नभैकन कुनै पनि देशमा वास्तविक रुपमा विकास भएको मानिदैन।

विकास भनेको चिल्ला सडकहरु मात्र होइनन्, विकासलाई समग्रतामा बुझ्नु पर्दछ। गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी, मनोरन्जन जस्ता आधारभुत आवश्यकता सहज रुपमा परिपुर्ती नभएसम्म त्यो देश विकास भएको मानिन्न। ग्रामीण क्षेत्रका विभिन्न पक्षहरु जस्तैः सामाजिक, आर्थिक, राजनीतिक, साँस्कृतिक, प्राविधिक, पूर्वाधार, संस्थागत जस्ता विविध पक्षहरुको गुणात्मक तथा सकारात्मक सुधार हुनु नै ग्रामीण विकास हो। यस्तैगरि वृद्धि, आम्दानी र उपलब्धी भन्दा माथि उठेर पोषण, स्वास्थ्य, लैङ्गिक तथा असमानतामा अन्त्य, वातावरण संरक्षण साथै ग्रामीण जीवनस्तरमा दीर्घकालीन परिवर्तन ल्याउने कुरासँग पनि ग्रामीण विकासले सरोकार राख्दछ। आजको सवाल नै ग्रामीण विकाससँग छ। ग्रामीण विकास नभैकन देशले वास्तविक विकासको गति निर्धारण गर्न सक्दैन।

यहाँ हामीले ग्रामीण विकास र ग्रामीण पर्यटनले ग्रामीण विकासमा पुर्‍याउन सक्ने सहयोगको बारेमा चर्चा गर्न गइरहेका छौं। नेपाल ग्रामीण पर्यटनको संभावनाले भरिपुर्ण छ भन्दा अतियुक्ती नहोला। एकातिर जातीय, धार्मिक, भाषिक विविधता र अर्कोतर्फ भौगोलिक रुपमा विविधता पर्यटनको लागि उच्च संभावना युक्त क्षेत्र हो। स्थानीय समुदायको कला, संस्कृति, भेषभुषा, भाषा, धर्म, रीतिरिवाज, चालचलन तथा त्यस समुदायहरू बस्ने स्थलबाट अवलोकन गर्न सक्ने प्राकृतिक दृश्यावलोकनको माध्यमबाट त्यस ठाउँको प्रचारप्रसार तथा आयआर्जन गर्ने पर्यटन ग्रामीण पर्यटन हो।

मूलतः ग्रामिण जनताका लागि उनीहरू स्वयंको सक्रियतामा गरिने पर्यटन व्यवसाय नै ग्रामीण पर्यटन हो। विश्वको सर्वोच्च शिखर सगरमाथा र शान्तिका दुत गौतम बुद्धको देश भनेर परिचित हाम्रो देश नेपाल पर्यटन उद्योगको प्रचुर सम्भावना बोकेको राष्ट्र हो। विश्वका प्रख्यात हिम शृङ्खलाहरूको बाहुल्यता मात्र होइन, प्राकृतिक सुन्दरताले भरिपूर्ण, जातीय, भाषिक, धार्मिक, तथा भौगोलिक रूपमा समेत विविधतापूर्ण, जनजातीय समुदायहरूमा रहेको साँस्कृतिक सौन्दर्यता तथा संस्कारहरूले पर्यटनको माध्यमबाट स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रलाई समृद्ध बनाउन सक्ने आधारहरू भएको देश नेपाल हो। पर्यटनको माध्यमबाट मुट्ठिभर मानिसको हित होइन कि समग्र राष्ट्रको समृद्धिका लागि स्थानीय जनताको प्रत्यक्ष सहभागितामा उनीहरू कै योजना र सक्रियतामा ग्रामिण समुदायको विकासका लागि अपनाइने पर्यटन व्यवसायलाई ग्रामीण पर्यटन भन्दा अयुक्ति हुने छैन।

ग्रामीण पर्यटन विकासमा होमस्टेले ठूलो सहयोग पुर्‍याउछ। ग्रामीण पर्यटनको विशेष आधार होमस्टे हो। स्याङजाको सिरुवारीबाट सुरु भएको होमस्टे (घरवास कार्यक्रम) अहिले धेरै जिल्लामा सञ्चालनमा आउन थालेका छन्। होमस्टेमा पर्यटकहरुकलाई पारिवारिक वातावरणमा स्थानीय उत्पादनका परिकारहरु बनाएर खुवाइन्छ। स्थानीय उत्पादनको उपयोग र त्यसको बजारिकरणका साथै अर्गानिक उत्पादनमा होमस्टेले सेवा पुर्‍याउन सहयोग गर्दछ। अर्गानिक खानपानले पर्यटकहरुको मन जित्ने, साँस्कृतिक कार्यक्रमहरुले आफ्नो कला संस्कृतिको प्रचारप्रसार गर्ने र स्थानीय स्तरमा आर्थिक प्रगति गर्नको लागि होमस्टेले नै विशेष सहयोग गर्ने तथ्यहरु छ्न्। होमस्टे बिना ग्रामीण पर्यटनलाई अगाडि बढाउन कठिन हुन्छ। होमस्टे ग्रामीण पर्यटन विकासको मुख्य हतियार हो। प्राकृतिक रुपमा सम्पन्न र स्थानीय मौलिकताले भरिपूर्ण स्थानमा कलाकौशलको आकर्षणका साथमा पर्यटकहरूलाई लोभ्याउन सकिने र आम्दानी गर्न सकिने उद्देश्य रहेको छ। घरमा आएका पाहुनासँग हाँसेर बोल्नु, पाहुनालाई विशेष स्वागत सत्कार गर्नु, आफ्नै परिवारसँगै बसेर ग्रामीण क्षेत्रमा प्राप्त हुने स्थानीय स्तरको खाना खुवाउनु, भलाकुसारी गर्नु, ग्रामीण जनजीवन र मौलिक साँस्कृतिक रुपमा सामुदायिक परिचय गराउँदै मौद्रिक मूल्यमा परिणत गरी ग्रामीण पर्यटनलाई प्रवर्द्धन गर्ने व्यवसाय नै होमस्टे हो।

होमस्टेको मूल उद्देश्य नै आन्तरिक र बाह्य पर्यटकहरुलाई आफ्नै घरमा बसेको अनुभूति दिई नयाँ ठाउँको जानकारी र मनोरञ्जन गराउनु हो। आजभोली शहर बजार गाउँघर, टोल छिमेक जहाँ भएपनि ग्रामीण बिकासका कुरा उठने बित्तिकै पर्यटनका कुरा उठने गर्दछन्। पर्यटनको बिकासले नै आर्थिक विकास र जीवन स्तरमा सुधारको लागि सहयोग गर्दछ। बिकासको महत्वपूर्ण आधार नै पर्यटन हो। पर्यटनको बहुआयमिक रुपले विकासमा टेवा पुर्‍याउँछ। पर्यटनले प्रत्यक्ष आर्थिक आर्जन गराउँछ, रोजगारी सृजना गराउँछ र गाउँघरमा उत्पादन भएको बस्तुहरुको खपत हुन्छ। यस्ता बिकासका कुराले गाउँघरमा चर्चा पाउन थालेको छ। ग्रामीण क्षेत्रमा उत्पादित बस्तुले सहि मुल्य पाउने आधार पनि ग्रामीण पर्यटन हो। स्थानीयस्तरमा ग्रामीण पर्यटनको प्रमुख हिस्साको रुपमा अहिले अघि सारिएको होमस्टेको अवधारणालाई दीगो रुप दिने क्रममा विपन्न र अशिक्षित समुदायमा निकै सकारात्मक परिवर्तन भइरहेको देखिएको छ। होमस्टेको सञ्चालन सङ्गै विकास भएको ग्रामीण पर्यटनमा स्थानीय जनताको प्रत्यक्ष सहभागीता हुँदा स्थानीय स्तरमा आम्दानी बृद्धि, स्थानीय रोजगारी सिर्जनासँगै सामाजिक-साँस्कृतिक रुपमा फरक समुदाय र अर्कै देशका (बाह्य पर्यटकहरु) मानिसहरूसँग अनुभव आदानप्रदान हुँदा नयाँ नयाँ ज्ञान बृद्धि भइरहेको छ।

यस्तै विकास निर्माणमा सरकारले गर्न नसकेको काम स्थानीय जनताको प्रत्यक्ष सहभागितामा विकास भइरहेको पनि पाईएको छ। जस्तै कतिपय ठाउँमा सामान्य बाटोघाटो बनाउन सके आम्दानी हुने सुनिश्चतता भए उनीहरूले आफ्नै स्वपहलमा बाटोघाटो निर्माण गर्ने तथा सरकारलाई निर्माणका लागि घच्घच्याउने कामहरू भइरहेका छन्। यसैगरी गाउँमा पर्यटनबारे थाहा भएपछि आफ्नै गाउँघरमा बसेर आफूले उत्पादन गरेको बस्तुहरू बजारीकरण हुँदा उत्साहित भएर ग्रामीण बस्तु प्रदर्शन (कृषि, पशुपालन, माछापालन, ताल पोखरी, खेल, हस्तकला, मठ, मन्दिर बनाउनेतर्फ लाग्दा मानिसमा सृजनसिलता बढेको छ। यस्तै मासिन लागेको प्रकृति र संस्कृतिको संरक्षण एवं प्रवर्द्धनमा पनि स्थानीयहरू देखिन्छन्। स्थानीय स्तरमा विभिन्न समुदायको सम्बन्ध बढेपछि गाउँघर चुलाचौकामा रहेका महिलाहरूले पनि फरक समुदायसँग नजिक हुन पाउँदा क्षमता अभिबृद्धि समेत भएको छ। समानताको मुद्दामा पनि सहयोग पुर्‍याउने देखिन्छ। तसर्थ ग्रामीण पर्यटन तथा होमस्टेको विकासले पर्यापर्यटन विस्तार, सीप विकास र व्यवसायिकरण, कृषिमा विविधिकरण र व्यवसायिकरण, जीविकापार्जनका वैकलल्पीक श्रोतहरुको पहिचान र कार्यान्वयन, रोजगारी तथा प्राकृतिक स्रोतसाधनको संरक्षणमा ठूलो टेवा पुग्ने देखिन्छ। यसैगरी गाउँघरमै लगानी र पूँजीबृद्धिको वातावरण बढ्ने हुँदा बढ्दो शहरीकरणको चाप पनि घट्ने देखिन्छ। शहरीकरणको चापमा आउने कमिले सिङ्गो देशको विकास प्रक्रियालाई समेत सकारात्मक योगदान पुर्‍याउदछ।

नेपालीहरू अहिले पनि गरिबीको रेखामुनि बाँचिरहेका छन्। गरिबी निवारणका लागि नेपाल सरकारले चाल्ने कदमहरूले पनि नेपालको गरिबीलाई हटाउन सकेको छैन्। अर्कातर्फ, सामाजिक राजनीतिक चेतनाको अभावमा हाम्रा देशका युवाहरू अरबको खाडीमा न्यून ज्यालामा मजदुरी गर्न बाध्य छन्। सरकारको उदासीनता तथा राष्ट्रिय उद्योगधन्दाको निर्माण नभएको, राजनीतिक अस्थिरताले लामो समयदेखि आक्रान्त हाम्रो देशमा स्थानीय जनताको स्वपहलमा त्यस्ता उल्लेखनीय कामहरू भने कमै मात्रामा पाइन्छन्। एकातिर, चेतनाको अभाव त अर्कोतर्फ राज्यको नीतिको अभावमा युवाहरूको विदेश पलायन रोक्न र देशमा नै रोजगारीको सृजना गर्नका लागि ग्रामीण पर्यटनको महत्वपूर्ण भूमिका रहने सम्भावनालाई अस्वीकार गर्न सकिन्न।

जसरी घलेगाउँले मेटिन लागेको आफ्नो संस्कृति र परम्परालाई जोगाएर, त्यसको प्रचारप्रसार गरेर त्यहाँबाट हुने बसाइँसराईलाई रोक्न सफल भएको छ, त्यसरी नै अभावका कारण बसाइँसराईलाई रोक्नका लागि नेपालका अन्य ग्रामीण बस्तीहरूले पनि काम गर्न सक्ने प्रशस्त आधारहरू छन्। बहुजातीय, बहुसाँस्कृतिक तथा बहुभाषिक देशमा ग्रामीण पर्यटनसम्बन्धी जनचेतना जगाउन सक्ने हो भने स्थानीय जनतालाई आफ्नै ठाउँमा आफ्नो संस्कृतिको प्रचार प्रसार गरेर नै हामी आत्मनिर्भर बन्न सक्छौँ।

अरबका खाडीहरूमा बेल्चा र गैती खेलाउने हाम्रा हातहरूलाई आफ्नै जन्मभूमिको प्रचारप्रसार र समृद्धिमा लगाउने हो भने त्यसबाट स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रको विकासमा योगदान पुग्न सक्छ। यहाँ यो स्पष्ट होस् कि नेपालका सबै गाउँहरूमा ग्रामीण पर्यटनको सम्भावना नभए पनि धेरै ठाँउमा त्यस प्रकारका सम्भावनाहरू छन्। जसरी घलेगाउँले आफ्नो पहिचान बनाएको छ, त्यस्तै नेपालका अन्य गाउँहरूले आफ्नै मौलिकताको आधारमा आन्तरिक तथा बाह्य पर्यटनहरूलाई आकर्षित गरेर आफ्नो आम्दानीको स्रोत बढाउन सक्ने सम्भाव्ना भने रहेका छन्। तर त्यस प्रकारको ग्रामीण पर्यटनको अवधारण समुदायमा रहेका सबै जनसमुदायको प्रत्यक्ष सहभागितामा हुनुपर्दछ, जसबाट सम्पूर्ण जनताले आयआर्जनका लागि अवसर पाउछन्। पर्यटनमा कुनै व्यक्तिले एक्लै प्राकृतिक स्रोत र साधनको फाइदा लुट्न नपाओस् भनेर नै ग्रामीण पर्यटनको अवधारण अगाडि सारिएको हो। हाम्रो भनाइ यो हो कि घलेगाउँ सबै जस्ताको तस्तै नक्कल गर्ने होइन, तर त्यहाँको सिकाइबाट अन्य ग्रामीण बस्तीहरूमा परिस्थितिसँग मेल खाने ग्रामीण पर्यटन व्यवसायलाई अपनाउन सक्छौँ, जसले स्थानीय स्तरमा आत्मनिर्भर बनाउनका लागि महत्वपूर्ण भूमिका खेल्दछ।

ग्रामीण पर्यटन गाउँको विकासको लागि केन्द्रीत गरेर त्यसको व्यवस्थापन गर्ने हो भने ग्रामीण पर्यटनले ग्रामीण विकासमा नपत्याउदो तरिकाले फड्को मार्नेछ। विशेषत: नेपालमा अहिले ३ क्षेत्रहरु छ्न, जसको माध्यमबाट देशको ओरालो लागेको अर्थ व्यवस्थालाई माथी उठाउन सकिन्छ। ती हुन, कृषि, जलविद्युत र पर्यटन। त्यसका अलवा पनि नेपालमा अर्थतन्त्रलाई सहयोग पुग्ने धेरै अन्य स्रोत रहेका छन। यहाँ विशेष गरेर ग्रामीण पर्यटनलाई नै केन्द्रीत गरिनु कारण आधुनिक कृषि प्रणालीसहित कृषि पर्यटन (एग्रो-टुरिज्म), आधुनिक जलविद्युत (हाइड्रोपावर )सहित हाइड्रो-पर्यटन र स्थानीय कला, सस्कृती, भाषा, धर्म, भेषभुषा, सस्कृती, प्राकृतिक छट्टासहित ग्रामीण पर्यटनको आधारमा आधुनिक नेपाल निर्माण गर्ने आधारहरु तयार पार्न सकिन्छ।

अहिले चर्चामा रहेको समृद्धि कुरा आधारभूत तहको समृद्वी होइन। त्यो पपुलिस्ट बन्ने अवधारणाबाट उदारवादी अर्थ व्यवस्थाको पक्षपोषण गर्नको लागि आएको अवधारणा हो। तर माथी उल्लेखित पर्यटनको आधारमा आउने आधुनिकिकरण आधारभुत जनताको जीवनस्तरमा आउने परिवर्तनसहितको समृद्धि हो। वास्तवमा, ग्रामीण पर्यटनको विस्तार, व्यवस्थापन र प्रचारप्रसारबाट ग्रामीण जनसमुदायको आर्थिक अवस्थामा सुधार लिन सकिन्छ र ग्रामीण विकासको लागि ग्रामीण पर्यटनले महत्वपुर्ण आधार प्रस्तुत गर्दछ। केही उदाहरणलाई नै हेरौं, लमजुङको घलेगाउँ, जहाँ गरिबी निवारणको लागि ग्रामीण पर्यटनको अवधारणासहित शुरु गरिएको ग्रामीण पर्यटन व्यवसायले घलेगाउँको मुहार मात्र फेरेन, सार्क राष्ट्र कै नमुना गाउँमा परिचित र विकसित गरादियो। ग्रामीण पर्यटनको अवधारणा अनुसार त्यहाँ जव पर्यटन व्यवसाय शुरु गरियो, त्यहाँको विकास र जनताको जीवनस्तरमा समेत पर्यटनले अभुतपुर्व परिवर्तन ल्याइ दियो। त्यसको लागि व्यवस्थित ग्रामीण पर्यटन व्यवसाय अनिवार्य छ। यस्ता सयौं उदाहरण हाम्रो अगाडि छन्, जुन प्रेरणाका स्रोतहरु हुन्।

पर्यटन व्यवसायले कसलाई फाइदा पुर्‍याउने? त्यो निकै महत्वको विषय हो। ग्रामीण पर्यटनले कसको जीवनमा फाइदा पुर्‍याउदछ? त्यो अधिक महत्वको विषय बनेको छ। पर्यटनको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रको विकासमा महत्वपूर्ण सहयोग पुग्दछ। आज नेपालले मात्र होइन, विश्वले नै पर्यटनलाई उद्योगका रूपमा स्वीकार गर्दै त्यसको औद्यौगीकरणमा निरन्तर लगानी गर्दै आएका छन्। नेपालले पनि पर्यटन वर्षहरूको आयोजना गर्दै पर्यटन व्यवसायको सम्भावनालाई उजागार गरेको छ। नेपाल सरकारले पर्यटनलाई एक उद्योगको रूपमा मान्दै त्यसको विकासमा जोड दिएको छ। तर निजीकरणको वर्तमान अवस्थामा पर्यटन उद्योगबाट फाइदा कसले लिइरहेको छ त? यो महत्वपूर्ण विषय हो। पर्यटनलाई प्रवर्द्धन गर्ने सवालमा कतिपय पर्यटन उद्योग–व्यवसायीहरूले जसरी लगानी गरेका छन्, त्यसबाट समग्र जनताको हितमा, राष्ट्रको हितमा भन्दा पनि व्यक्तिको हितमा उपयोग भएको छ। तर ग्रामिण पर्यटनको माध्यमबाट व्यक्तिको होइन, समुदाय र राष्ट्रको हितमा सहयोग पुग्दछ। सामुहिक लगानी, सामुहिक मुनाफा र ग्रामीण विकासको लागि ग्रामीण पर्यटन एउटा आधार स्तम्भ हो। पर्यटनको क्षेत्रमा सरकारले नै लगानी गर्ने हो भने राष्ट्रिय अर्थतन्त्रमा पर्यटनले भरपुर सहयोग गर्दछ। प्राकृतिक, साँस्कृतिक तथा मनोरञ्जनात्मक आनन्दका लागि नेपाल आउने पर्यटकहरूले नेपालको राष्ट्रिय अर्थतन्त्रको विकासमा महत्वपूर्ण भूमिका खेलेका छन्।

नेपालको प्राकृतिक सुन्दरता, भौगोलिक विविधता, सांस्कृतिक विशिष्टता एवम् नेपालीहरुको अतिथिलाई सत्कार गर्ने मधुरतम् व्यवहारले ग्रामीण पर्यटन क्षेत्रलाई विस्तार गर्न सकिने धेरै सम्भावनाहरु छ। नेपालमा पर्यटकलाई आकर्षित गर्ने भौगोलिक अवस्था, साँस्कृतिक विविधता, धार्मिक सहिष्णुता, परम्परागत कलाकौशल, ऐतिहासिक, पुरातात्विक सम्पदा, हिमाली श्रृंखला महाभारत पहाड, पहाडी ग्रामीण पहाडहरु, तराईका मैदानी उर्वर फाँटहरु, तालतलैया, नदीहरु, वन्यजन्तु आरक्ष तथा राष्ट्रिय निकृञ्जहरु रहेका छन्। पहाडी क्षेत्रमा पदयात्रा नदीहरुमा रोमाञ्चक जलयात्रा, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षहरु पर्यटकहरुलाई आकर्षित गर्ने क्षेत्र हुन्। पर्यटनको क्षेत्रमा ग्रामीण पर्यटन एक गतिशिल क्षेत्र र व्यवसाय हो। ग्रामीण पर्यटन धार्मीक, प्रकृति र संस्कृतिमा आधारित छ। प्रकृति र संस्कृति ग्रामीण क्षेत्रमा नै रहेको हुन्छ। त्यसैले पनि ग्रामीण पर्यटनका सम्भावनाहरु गाउँमा नै हुन्छ। ग्रामीण पर्यटनबाट हुने आम्दानीले बिकासबाट पछाडी परेको ग्रामीण क्षेत्रको बिकास हुन्छ। फुर्सदको बेला भ्रमणमा निस्कने मानिसहरु अहिले शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्र रुचाउछन्। एक सर्वेक्षणअनुसार अहिले झण्डै ८० प्रतिशत पर्यटक शहरीक्षेत्र भन्दा ग्रामीण क्षेत्रमा जान चाहन्छन्। धुवाँ, धुलो, फोहोरजस्ता प्रतिकूल वातावरणका कारण पर्यटकहरुले ग्रामीण वातावरण रुचाउन थालेका छन्। ग्रामीण पर्यटकहरुले पनि खासगरी नेपालको संस्कृति, प्रकृति र परम्पराको अध्ययनमा रुचि देखाउन थालेका छन। यस अधारमा ग्रामीण विकासको लागि ग्रामीण पर्यटनको भुमिका र महत्त्व झन बढेर गएको छ।

प्रकाशित : श्रावण २९, २०७५ १२:३३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT