कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

एकद्वार प्रणालीमार्फत विदेशी कामदार आपूर्ति : मलेसियाली प्रधानमन्त्री

विदेशी कामदार व्यवस्थापन गर्न सचिवालय समिति बनाइने 
कान्तिपुर संवाददाता

क्वालालम्पुर — मलेसियाका प्रधानमन्त्री महाथिर विन महोम्मदले एकद्वार प्रणालीमार्फत नेपालसहित विदेशी कामदार आपूर्ति गरिने बताएका छन् ।

एकद्वार प्रणालीमार्फत विदेशी कामदार आपूर्ति : मलेसियाली प्रधानमन्त्री

'हामी विदेशी कामदार ल्याउन एउटा संयन्त्र स्थापना गर्नेछौं' मंगलबार संसद्‍मा ‘विदेशी कामदारबारे विशेष समिति’ को बैठकमा उनले भने, 'यो संयन्त्रले मलेसियाले आप्रवासी कामदारको मामिलामा भोगिरहेको समस्या समाधान गर्नेछ ।' उनले बंगलादेश, नेपाल र अन्य स्रोत देशहरुमा एउटै खालको संयन्त्र लागू गर्नेसमेत स्पष्ट पारे ।


मलेसियाली प्रधानमन्त्री महाथिर विन महोम्मदले आफूहरुले बंगलादेशसित भएजस्तै नेपालसित पनि सरकारस्तरीय श्रम सम्झौता चाँडै गरिने बताएका छन् । उनले सबै स्रोत मुलुकहरुबाट कामदार लिन र उनीहरुको व्यवस्थापन गर्न एक साझा नीति अबलम्बन गरिने पनि बताए । यद्यपि उक्त नीति कस्तो हुने भन्नेबारे केही पनि खुलाइएको छैन । उक्त विषय मलेसियाली मन्त्रीपरिषद्बाट पारित हुनुपर्ने प्रावधान छ ।


त्यस्तै मानव संशाधनमन्त्री एम कुला सेगरनले पनि नेपालसित चाँडै श्रम सम्झौता हुने बताए । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार अहिले मुलुकले भोगिरहेको गैरकानुनी कामदार व्यवस्थापन गर्न एक सचिवालय समिति निर्माण गरिने मन्त्री सेगरनले बताएका छन् । नीति तय गर्न बन्ने समितिमा गृह मन्त्रालय र मानव संशाधन मन्त्रालयका उच्च अधिकारीहरुको समेत सहभागिता रहने छ ।


मलेसियाले विदेशी कामदारहरुको व्यवस्थापन गर्न उच्च सरकारी अधिकारीहरुको नेतृत्वमा ईन्स्टिच्युट अफ लेबर मार्केट ईन्फरमेसन एण्ड एनालाइसिस (आईएलएमआईए) नामक संस्थाको मातहतमा रहने गरी सचिवालय समिति बनाउन लागेको हो ।

मलेसियाले बंगलादेशसित पनि कामदार लिने भएको छ । मलेसिया र बंगलादेशबीच सन् २०१६ फेब्रुअरीमा कामदार लिने-दिने सम्झौता भएको थियो ।


नेपाली दूतावास स्रोतका अनुसार नेपालले पनि मलेसियाली मानव संशाधन मन्त्रीलाई नेपाल भ्रमणको निम्तो यसअघि नै पठाउँदै श्रम सम्झौता गर्न तयार रहेको सन्देश पठाइसकेको छ । दुवै देशका सरकारी अधिकारीहरुबीच कूटनीतिक तहमा भेटघाट र छलफल बाक्लिएका छन् ।


प्रकाशित : श्रावण २९, २०७५ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?