१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

पर्यटकका नाममा मोटरसाइकल पास

कान्तिपुर संवाददाता

काठमाडौँ — यातायात व्यवस्था विभागले पर्यटक भिसामा आएका एक फ्रान्सेली नागरिकलाई मोटरसाइकलको ब्लु बुक दिएको भेटिएको छ ।

पर्यटकका नाममा मोटरसाइकल पास

नेपालमा कुनै पेसा–व्यवसाय गर्न अनुमति नलिएका फ्रान्सेली नागरिक डेनिस म्याथ्यु मिचेल चप्पुले विभागको सतुंगलस्थित कार्यालयबाट आफ्नै नाममा ३१ लटको कालो साइन मोटरसाइकल लिएका हुन् ।


प्रहरीले साउन पहिलो साता चप्पुलाई बाल यौन दुराचार आरोपमा पक्राउ गरेपछि कुनै कागजी प्रक्रिया पूरा नगरी मोटरसाइकल लिएको खुलेको हो ।


मित्रपार्कको पाठक वर्कसपबाट लुम्बिनी रिकन्डिसनले लिएको उक्त मोटरसाइकल रिकन्डिसनकै कर्मचारीको सहयोगमा डेनिसले हात पारेको प्रहरीले जनाएको छ ।


विभागका अनुसार भारतीयबाहेकका विदेशी नागरिकले नेपालमा सवारीसाधन किनेर आफ्ना नाममा पास गर्न ५ प्रकारको कागजी प्रक्रिया पूरा गर्नुपर्छ ।


यातायात व्यवस्था कार्यविधि निर्देशिका २०६० (संशोधित) मा म्याद बहाल रहेको भिसा, सम्बन्धित दूतावासको नो अब्जेक्सन लेटर, नेपालमा कुनै पेसा वा व्यवसाय गरेको प्रमाण, बसोबास गर्ने क्षेत्रको स्थानीय तहको सिफारिस र दूतावासले दिने रजिस्ट्रेसन पत्रका आधारमा मात्रै विदेशी नागरिकले सवारी नामसारी गर्न मिल्ने प्रावधान छ । डेनिसले यी कुनै प्रक्रिया पूरा नगरेको प्रहरी दाबी छ ।


पर्यटकका नाममा मोटरसाइकल पास गरेको भेटिएलगत्तै ब्युरोले विभागका कर्मचारीको मिलेमतो आशंका गर्दै त्यससम्बन्धी कागजात खोजी गरेको थियो । तर सतुंगल कार्यालयमा फाइल भेटिएन । ‘पोल खुल्ने डरले कर्मचारीले फाइल नै रिकन्डिसन हाउसका कर्मचारीलाई दिएको पाइयो,’ विभाग स्रोतले भन्यो ।


विभागको सतुंगल शाखा प्रमुख गणेश अर्यालले यस प्रकरणबारे आन्तरिक छानबिन भइरहेको र केन्द्रीय कार्यालयलाई पनि जानकारी गराइएको बताए । स्रोतका अनुसार शाखाप्रमुखले अधिकृत खत्रीसँग सोधेको स्पष्टीकरणसहितको पत्र विभाग पठाइएको छ ।


विभाग प्रवक्ता तुलसीराम अर्याल उक्त घटनाबारे आफूलाई विस्तृतमा थाहा नभएको भन्दै पन्छिए । ‘त्यसबारे ठ्याक्कै थाहा भएन । दैनिक कति निवेदन आउँछन, फ्याट्टै भन्न सक्दिनँ,’ उनले भने ।

प्रकाशित : श्रावण २९, २०७५ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?