तीन दिनमै राहदानी उपलब्ध हुने

रासस

काठमाडौँ — सरकारले तीन दिन भित्रै राहदानी उपलब्ध गराउने भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘राहदानी विधेयक, २०७५’ प्रस्तुत गर्दै उक्त कुराको जानकारी दिएका हुन् ।

मन्त्री ज्ञवालीले प्रस्तुत गरेको विधेयकलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ । नागरिकलाई सहज रुपमा राहदानी उपलब्ध गराउने उद्देश्यका साथ सरकारले उक्त विधेयक प्रस्तुत गरेको मन्त्री ज्ञवालीको भनाइ छ ।

Yamaha

उनले भने, 'अहिले अत्यन्तै आवश्यक भए एक दिनमा नै राहदानी उपलब्ध हुन्छ, अब सामान्य अवस्थामा पनि बढीमा तीन दिनमा राहदानी उपलब्ध गराउन पहल भएको छ, यो व्यवस्था शीघ्र कार्यान्वयनमा आउँछ ।' प्रस्तुत विधेयकले निर्वाचित जनप्रतिनिधिलाई विभेद नगरेको जानकारी दिँदै मन्त्री ज्ञवालीले कूटनीतिक राहदानी प्रयोग गर्न योग्य सबै व्यक्तिले सहज रुपमा नै पाउने व्यवस्था गरिएको बताए । विदेश जाँदा अध्यागमनबाटै फर्कनुपर्ने, अपमानजन्य व्यवहार भोग्नुपर्ने अवस्था नआओस् भनेर राहदानी पाउने व्यवस्थालाई सरलीकृत गरिएको उनले जानकारी दिए ।

त्यसअघि सांसद भीमसेनदास प्रधान, सञ्जयकुमार गौतम, प्रेम सुवाल, दिव्यमुनि राजभण्डारी, अमरेशकुमार सिंह र भरत शाहले राहदानी पाउने व्यवस्थालाई सरलीकृत र सहजीकरण गर्न सरकारलाई सुझाव दिए ।

यस्तै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितका तर्फबाट परराष्ट्रमन्त्री ज्ञवालीले नै ‘लोकसेवा आयोगको आर्थिक वर्ष २०७३/७४ को ५८औँ वार्षिक प्रतिवेदन’ पेश गरे । यस्तै अर्थमन्त्री डा युवराज खतिवडाले ‘महालेखा परीक्षकको ५५औँ वार्षिक प्रतिवेदन, २०७४’ बैठकमा पेश गरे । प्रतिनिधिसभाको अर्को बैठक बुधबार बिहान ११ बजे बस्नेछ ।

Esewa Pasal

प्रकाशित : श्रावण २९, २०७५ १९:२०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

चीन जाने अर्को जोडी गैंडा चितवनबाट बिदाइ

रमेशकुमार पौडेल

चितवन — सरकारले चीन सरकारलाई उपहार दिने दुई जोडी गैंडामध्ये अन्तिम जोडी गैंडा मंगलबार चितवनबाट काठमाडौंका लागि बिदाइ भए । पहिलो जोडी गैंडा एक महिनाअघि नै चीन पुगेका छन् ।

मितिनी नामको पोथी र सोल्टी नामको भाले गैंडा पर्सि साउन ३१ गते विशेष कार्गो विमानबाट चीन जाने निकुञ्ज कार्यालयले जनाएको छ ।

दुई वर्षअघि सरकारले चीनलाई दुई जोडी गैंडा दिने निर्णय गरेको थियो । ठूला गैंडा चीन पठाउन गाह्रो हुने भएकाले बच्चा गैंडा पठाइएको छ । तीनवटा बच्चा गैंडा चितवन निकुञ्जको पश्चिम क्षेत्र सुखिभार र खोरिया मोहन क्षेत्रबाट नियन्त्रणमा लिएर सोराहाको विशेष खोरमा राखिएको थियो । खोमा बस्दा गैंडाहरू नयाँ वातावरण र खानपानमा अभ्यस्त भएका थिए ।

गतवर्ष बाढीले बगाएर त्रिवेणीबाट उद्धार गरी सोराहामा राखेको एउटा बच्चा भाले गैंडा पनि उपहार दिइएको हो ।

भाले पोथी मिलाएर पठाइएको छ । यसअघि रूपसी र भद्रको जोडीलाई गोन्जाओ लगिएको थियो । मितिनी र सोल्टी संघाइ सफारी पार्कमा लगिने चितवन निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए ।

प्रकाशित : श्रावण २९, २०७५ १९:०९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT