२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

जुम्लामा फेरि झाडापखाला प्रकोप, एक सातामा ५० भन्दा बढी बिरामी 

एलपी देवकोटा

काठमाडौँ — हिमा गाउँपालिकाको ठूला चिउडीमा पुन: झाडापखाला प्रकोप फैलिएको छ । एक साताभित्र ५० भन्दा बढी स्थानीय बासिन्दा बिरामी परेका छन् । 

जुम्लामा फेरि झाडापखाला प्रकोप, एक सातामा ५० भन्दा बढी बिरामी 

साउन १९ देखि फैलिएको झाडापखाला २४ गते नियन्त्रणमा आएको थियो । सोमबारदेखि पुन: फैलिएको हो । प्राथमिक स्वास्थ्य केन्द्रबाट हेल्थ असिस्टेन्ट हंस महताराको नेतृत्वमा गाउँ पुगेको स्वास्थ्यटोलीले १८ जनाको उपचार गरेको थियो । अहिले केन्द्रको इमरजेन्सीमा १५ र ओपीडीमा २४ जनाको उपचार गरिएको प्रतिवेदन जिल्ला प्रशासनमा आएको प्रजिअ विष्णु पौडेलले बताए । झाडापखालाले महामारीकै रूप भने लिइनसकेको उनको भनाइ छ । ‘रोग नियन्त्रणका लागि प्रयास भइरहेको छ,’ उनले भने, ‘स्वास्थ्य टोलीले गाउँमै पुगेर फेरि बिरामीको उपचार थालेको छ ।’


छाडिखोला मूलमा खोलाको दूषित पानी मिसिएपछि गाउँभरि झाडापखाला फैलिएको प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेतुका कर्मचारी रवीन्द्र भण्डारीले बताए । झाडापखालाले गाउँ नै प्रभावित भएको भन्दै तत्काल उपचारको पहल गर्न स्थानीय लक्ष्मण शाहीले जिल्ला प्रशासनको ध्यानाकर्षण गराएका छन् । जिल्ला जनस्वास्थ्य र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पनि ध्यानाकर्षण गराएको उनले बताए ।


गम्भीर अवस्थामा पुगेका हिमा गाउँपालिका–७, ठूलाचिउडीकी ४६ वर्षीया चाउली कामी र ४८ वर्षीय कौशिला रोकायालाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पतालमा रेफर गरिएको छ । उनीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र, कालिकाखेतु लगिएको थियो । शिक्षण अस्पतालमा अहिले चार जनाको उपचार भइरहेको छ ।


झाडापखाला नियन्त्रणका लागि आवश्यक औषधि र चिकित्सक टोली ठूलाचिउडी पठाउने तयारी भइरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले बताए । ‘बुधबार जिल्ला जनस्वास्थ्य र प्रतिष्ठानको टोली त्यसतर्फ जाँदै छ,’ उनले भने, ‘मंगलबार गाउँमा पानी परेकाले स्वास्थ्यकर्मीको टोली पठाउन नसकिएको हो ।’ शनिबार स्वास्थ्यकर्मीले खानेपानी ट्यांकीमा पोटास राखेर शुद्धीकरण गरे पनि पुन: झाडापखाला फैलिएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रकाशित : श्रावण २९, २०७५ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?