३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पर्यटकको फर्जी उद्धार, १७ कम्पनीलाई कारबाही सिफारिस

सुरज कुँवर

काठमाडौँ — उच्च हिमाली भेगमा लेक लागेका बिरामीको उपचार खर्च कतिसम्म लाग्ला ? बेंसी झार्दा पनि निको भइहाल्ने यस्ता बिरामी पर्यटकबाट काठमाडौंका प्रतिष्ठित अस्पतालले ६० लाख रुपैयाँसम्म उपचार खर्च बिमाबाट दाबी गरेको तथ्य फेला परेको छ ।

पर्यटकको फर्जी उद्धार, १७ कम्पनीलाई कारबाही सिफारिस

त्यति मात्रै होइन, उद्धारमा संलग्न ट्राभल/टुर, रेस्क्यु एजेन्सीहरूले एकपटक एकजना विदेशी पर्यटकलाई हेलिकप्टरमार्फत उद्धार गर्दा ५० हजार युरो (६३ लाख) रुपैयाँसम्म बिमा दाबी गरेको देखिएको छ । एउटा चार्टर सेवा दिने कम्पनीले २०७२ भदौमा काठमाडौंबाट हुम्लाको सिमाना हिल्सा पुगेर आठ घण्टा हेलिकप्टर उडानबाट एकजना पर्यटक उद्धार गरेबापत २० लाख रुपैयाँ बिमाबाट लिएको पनि भेटियो । तर, छानबिन समितिले त्यस समयमा त्यस कम्पनीले कुनै पनि पर्यटक उद्धार गरेको रेकर्ड फेला पारेन ।

पर्यटकलाई ‘बिरामी’ बनाएर गरिएको हेलिकप्टर उद्धारमा ६० लाखसम्मको उपचार खर्च र ६३ लाखसम्मको उद्धार उडानबापत बिमा दाबी गरिएको देखिन्छ


पर्यटकलाई बिरामी पारेर अस्पताल र हेलिकप्टर कम्पनीले मिलेर विदेशी बिमा कम्पनीबाट रकम कम्ल्याउने यी पर्यटन क्षेत्रका केही उदाहरण मात्रै हुन् । यस्तै विवरणसहित ७ सय पृष्ठको छानबिन प्रतिवेदन यतिबेला पर्यटन मन्त्रालयले थप अनुसन्धान र कारबाहीका लागि प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालयलगायत थप चारवटा निकायलाई बुझाएको छ ।


प्रतिवेदनअनुसार नेपाल घुम्न आउने पर्यटकलाई दूषित खाना दिई ‘बिरामी बनाएर’ हेलिकप्टरमार्फत ‘फर्जी उद्धार र उपचार गर्ने’ केही एजेन्सीले हेलिकप्टर कम्पनी तथा अस्पतालसँग मिलेर विदेशी बिमा कम्पनीबाट वर्षौंदेखि करोडौं रुपैयाँ असुल्दै आएको प्रतिवेदनले औंल्याएको छ । विदेशी सञ्चार माध्यममार्फत यस्ता विषयबारे बारम्बार लेख प्रकाशित हुन थालेपछि छानबिन गर्न सरकारले जेठ अन्तिम साता पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले सन् २०१५ देखि २०१८ मेसम्म भएका ७ हजार ५ सय ५५ वटा हेलिकप्टर उद्धार उडानमाथि छानबिन गर्दा यस्तो फर्जी धन्दा खुलेको हो ।


उद्धारजस्तो मानवीय सेवामार्फत अन्तर्राष्ट्रियस्तरमै नेपाली पर्यटन क्षेत्रको छवि धमिलिने कार्य हुन थालेपछि ‘चरम व्यापारीकरण’ गरिएको यो धन्दामा संलग्न हेलिकप्टर कम्पनी, अस्पताल र ट्रेकिङ/टुर/रेस्क्यु एजेन्सीलाई कारबाही गर्न पर्यटन मन्त्रालयले गृह मन्त्रालयमा पनि बैठक गरेको थियो ।


यसैबीच पर्यटन मन्त्रालयले नेपाल प्रहरीको महानगरीय आयुक्त कार्यालय, राजस्व अनुसन्धान विभाग, केन्द्रीय अनुसन्धान ब्युरो, नागरिक उड्डयन प्राधिकरणलाई सम्बन्धित क्षेत्राधिकारभित्र पर्ने एजेन्सीलाई कारबाही गर्न निर्देशन दिएको छ । उच्च स्रोतले कान्तिपुरलाई उपलब्ध गराएको कागजातअनुसार फर्जी बिरामी तथा बिल बनाई उद्धारमा संलग्न हुनेमा काठमाडौंका तीनवटा हेलिकप्टर कम्पनी, ६ वटा अस्पताल र ८ वटा ट्राभल/ट्रेकिङ/उद्धार कम्पनी छन् ।


कार्यदलको प्रतिवेदनमा बल्खुको बयोधा अस्पताल, धापासीको ग्रान्डी इन्टरनेसनल हस्पिटल, थापाथलीको नर्भिक इन्टरनेसनल हस्पिटल, सोह्रखुट्टेको इरा हेल्थ सेन्टर, बत्तीसपुतलीको सकोन हस्पिटल प्रालि र कपुरधाराको सिवेक अस्पताल प्रालिले चिकित्सकीय मर्यादाविपरीत फरक–फरक शीर्षकमा बिलबीजक खडा गरेको औंल्याउँदै यी अस्पतालको कारोबारमाथि थप छानबिन र अनुगमन गर्न स्वास्थ्य मन्त्रालयलाई भनिएको छ ।


सकोनले २ हजार २३ जना पर्यटकको उपचारबापत ३१ करोड ९८ लाख, इराले ११ सय ३० बिरामीबाट ११ करोड ३२ लाख, सिवेकले १७ सय ६३ बिरामीबापत १४ करोड २३ लाख र बयोधाले ६ सय ९७ बिरामीबाट १५ करोड ८० लाख हाराहारी बिमा रकम लिएका छन् । त्यसैगरी बयोधाले एकजना बिरामीबाट २४ लाखसम्म असुलेको देखिन्छ । यी सबैले राजस्व हिनामिना गरेकाले छानबिन गर्नुपर्ने प्रतिवेदनमा औंल्याइएको छ । कतिपय उद्धार कम्पनीले यी अस्पतालमा बिरामी भर्ना गरेको विवरण कार्यदललाई पठाएका छन् तर अस्पतालमा ती नाम गरेका व्यक्ति भर्ना भएको भेटिँदैन ।


‘कतिपय बिरामी पर्यटकको डिस्चार्ज लम्ब्याएको र डाक्टर भिजिट शीषर्कमै २५ हजार रुपैयाँसम्म असुलेको फेला पार्‍यौं,’ अनुसन्धानमा संलग्न एक उच्च अधिकारीले भने, ‘पदयात्रामा हिँडेर गएको बिरामीलाई लेक लागेको उपचारमा ६० लाख रुपैयाँसम्म बिमा दाबी भएको देखियो ।’ उनले अस्पतालहरूले बिचौलियासँग मिलेर एउटै बिलमा धेरै ‘अन्य’ शीर्षक राखेको बताए । ‘काठमाडौंमा रहेका ६ वटै अस्पतालले साढे ३ वर्षयता पर्यटकको उपचार गरेका बिलमाथि थप अनुसन्धान र अनुगमन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पठाइएको छ,’ स्रोतले भन्यो ।


....

हेलिकप्टर कम्पनीहरूले उच्च मूल्यमा सेवा दिएको, गलत विवरण राखेर बिल जारी गरेको, एउटै उडानमा धेरै पर्यटक ल्याई प्रत्येकका नाममा फरक–फरक बिल जारी गरेको, कतिपयलाई उपचारसमेत नगराई कागजात तयार पारी बिमा रकम लिएको समितिले फेला पारेको छ । यस्तो ठगीमा एयर डाइनेस्टी हेली सर्भिस, मनाङ एयर र हेली एभरेस्ट छन् ।


हेली एभरेस्टले यस अवधिमा २२ सय ३० वटा उद्धार गरेकामा प्रतिरुट ८ हजार अमेरिकी डलरसम्म असुलेको प्रतिवेदनमा देखिन्छ । कतिपय बिरामी भर्ना गरेको अस्पताल नै खुलाइएको छैन । यसले ईजी हेली चार्टर सर्भिस नामको यसैको भगिनी संस्थासँग मिलेमतोमा फर्जी उद्धार गरी राजस्व छलेको प्रतिवेदनमा उल्लेख छ । ईजीले एउटा उद्धार उडानबापत ५० हजार युरो (६३ लाख रुपैयाँ) सम्म बिमा दाबी गरेको देखिएको छ । नेपालमा प्रतिघण्टा हेलिकप्टर चार्टरमा विदेशीले कम्तीमा डेढ लाख र स्वदेशीले १ लाख हाराहारी तिर्छन् । ५० हजार युरो भनेको कम्तीमा दुई दिन/दुई रातसम्म हेलिकप्टर उडान गर्न सकिने रकम हो ।


मनाङ एयरले प्रतिरुट ९ लाख रुपैयाँसम्म लिएको छ । यसले साढे ४ वर्षमा १९ सय १० वटा उद्धार उडान गरेको थियो । यी उडानमा ल्याइएका बिरामीलाई नर्भिक, बयोधालगायत अस्पतालमा भर्ना गरिएको कम्पनीले जनाए पनि अधिकांशको अस्पताल विवरण मिल्दैन । छानबिन समितिले हेलिकप्टर उडाउने १० वटै कम्पनीको विवरण अध्ययन गरेको थियो ।


एयर डाइनेस्टीले गरेका १३ सय ४५ वटा उद्धार उडानमा प्रतिउडान ११ लाखसम्म लिएको औंल्याएको छ । उसले उच्च हिमाली क्षेत्रबाट उद्धार गरिएका पर्यटकलाई ग्रान्डी, शिक्षण अस्पताल महाराजगन्ज, मेडिसिटी, बयोधा र पोखराको मणिपालमा भर्ना गरेको विवरण छानबिन समितिलाई बुझाए पनि विवरण प्रस्ट छैन । अनुसन्धानले नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन विमानस्थलको निगरानी र कार्यशैलीप्रति पनि प्रश्न गरेको छ ।


विमानस्थल सेवा तथा हवाई सुरक्षा नियमन दुवैको जिम्मेवारी पाएको प्राधिकरण उद्धार उडानको तथ्यांक र अभिलेखमा चुकेको देखिन्छ । ‘प्राधिकरणको क्षमता कमजोर देखियो,’ अनुसन्धानमा संलग्न स्रोतले भन्यो । यस अवधिका अधिकांश उद्धार खुम्बु क्षेत्रबाट काठमाडौंका लागि भएको देखिन्छ । यिनमा हिमाल आरोहण क्रममा उद्धार गरिएका भन्दा पनि पदयात्रामा गएका पर्यटकको संख्या धेरै छ ।


पदयात्रा आरोहणको तुलनामा कम जोखिमपूर्ण मानिन्छ । पदयात्रा र हिमाल आरोहणमा हेलिकप्टरले प्रतिघण्टा वा प्याकेजको कति रकम लिने भन्ने कुनै दरभाउ तोकिएको छैन । प्राधिकरणले उच्च हिमाली भेगमा हुने हेलिकप्टर उद्धार उडानको प्रतिघण्टा २ देखि अढाई लाख रुपैयाँ हाराहारी भाउ चल्तीमा रहेको जनाएको छ । तर, छानबिन समितिले १३ लाखदेखि २३ लाखसम्म असुलेको फेला पारेको छ । यी तीनसहित अन्य ७ वटा हेलिकप्टर कम्पनीको साढे ३ वर्षको कारोबारबारे थप अध्ययन गर्न प्रतिवेदनले प्राधिकरणलाई निर्देशन दिएको छ ।


....

ट्रेकिङ/टुर तथा रेस्क्यु एजेन्सीतर्फ इजी हेली चार्टर सर्भिस, फ्लाइट कनेक्सन डोमेस्टिक, माउन्टेन रेस्क्यु सर्भिस, हिमालयन सोसियल जर्नी ट्रेकिङ, अल्पाइन रेक्यु, कैलाश चार्टर रेस्क्यु, माउन्टेन हेली चार्टर र इगल हेली चार्टर सर्भिस मुछिएका छन् ।


इगल हेलीले २०७२ भदौमा काठमाडौंबाट हिल्सा पुगेर आठ घण्टा लामो उद्धार गरेबापत २० लाख रुपैयाँ बिमाबाट लियो । तर, छानबिन समितिले त्यस समयमा कम्पनीले कुनै पनि पर्यटक उद्धार गरेको रेकर्ड फेला पारेन । माउन्टेन हेलीले उद्धार गरेको भनेको मितिमा जारी गरेका बीजकलाई छानबिन समितिले भिडाउँदा उद्धारबापत बिमा दाबी गरेको तर कसैको पनि उद्धार नभएको पाइएको छ ।


फ्लाइट कनेक्सनले पर्यटन विभागबाट अनुमति नलिई ९ सय १५ वटा उद्धार गरेको तथा प्रतिउद्धार ५६ प्रतिशतसम्म नाफा लिएको प्रतिवेदनमा औंल्याइएको छ । यसले प्रतिपर्यटक उद्धारमा करिब ५ लाख हेलिकप्टर उडानको बिमा दाबी गरेको छ । माउन्टेनले गरेका १ सय १२ पर्यटकको उद्धारमा ६३ प्रतिशतसम्म नाफा लिएको छ । यसले प्रतिपर्यटक हेलिकप्टर खर्च साढे ५ लाख हाराहारी बिमामार्फत दाबी गरेको छ ।


हिमालयन सोसियल जर्नीले ७३ जना पर्यटक उद्धार गरेर सकोन अस्पतालमा भर्ना गरेको विवरण कार्यदललाई दिए पनि अस्पतालमा उनीहरूको उपचार भएको देखिँदैन । यसले बिमाबाट प्रतिपर्यटक साढे ४ लाखसम्म रकम लिएको छ । विदेशी बिमाको एजेन्टका रूपमा काम गर्दै आएको अल्पाइनले ३ सय ९४ पर्यटकको उद्धार गर्दा प्रतिपर्यटक ४ लाख रुपैयाँसम्म असुली औसत ३२ प्रतिशत नाफा लिएको देखिन्छ ।


त्यसैगरी कैलाश चार्टरले ४९ प्रतिशतसम्म नाफा लिई प्रतिपर्यटक ८ लाखसम्म हेलिकप्टर उद्धारको रकम बिमाबाट लिएको छ । यी आठवटै कम्पनीले राजस्वसमेत हिनामिना गरेकाले छानबिन गर्न राजस्व अनुसन्धान विभागलाई भनिएको छ । त्यसैगरी समिट हेलिकप्टर्स प्रालि, माउन्टेन हेलिकप्टर्स प्रालि, माउन्टेन हेली चार्टर प्रालिका उद्धार विवरण पनि एकअर्कासँग मिल्दैनन् ।

कार्यदलले हिमालयन, नेपाल रेस्क्यु, माउन्टेन रेस्क्यु, माउन्टेन हेली र इगल हेलीले राष्ट्र बैंकबाट विदेशी मुद्रा कारोबारको अनुमति नलिई उद्धार भाडा डलरमा लिएको औंल्याउँदै राष्ट्र बैंकलाई कारबाही गर्न पत्राचार गरेको छ ।


साताअघि पर्यटनमन्त्री रवीन्द्र अधिकारी र पर्यटन सचिव कृष्ण देवकोटाले गृहमन्त्री रामबहादुर थापालाई भेटेरै प्रतिवेदन बुझाएका थिए । उनीहरूले उच्च हिमाली क्षेत्रमा पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकलाई खानेकुरामा मिसावट गरी बिरामी बनाउने, हेलिकप्टरमार्फत उद्धार गरी मिलेमतोमा अस्पतालमा भर्ना गरेर फर्जी बिल बनाई बिमा दाबी गर्नु गम्भीर ठगी र संगठित अपराधको परिधिमा पर्ने जनाउँदै प्रहरीको अनुसन्धान गर्ने विशिष्टीकृत इकाईमार्फत कारबाही गर्न आग्रह गरेका थिए । त्यस बैठकमा नेपाल प्रहरीका प्रमुख पनि सहभागी गराइएका थिए ।

प्रकाशित : श्रावण २९, २०७५ २१:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?