पानीमा विषादी: २७ विद्यार्थी बिरामी, ४ सिकिस्त

पानी फिल्टर गर्ने करिब ५ सय लिटरको ट्यांकीभित्र तरकारी र अन्नबालीको कीरा मार्ने विषादी
माधव घिमिरे

विराटनगर — विषादी मिसिएको पानी पिउँदा मंगलबार मोरङको जाँतेस्थित एक विद्यालयका २७ विद्यार्थी बिरामी परेका छन् । उनीहरूमध्ये ४ जना सिकिस्त छन् । लेटाङ नगरपालिका–९, जाँतेस्थित श्रीमाध्यमिक विद्यालय परिसरमा रहेको ट्यांकीको पानी पिउँदा विद्यार्थी बिरामी भएका हुन् ।

पानीमा विषादी: २७ विद्यार्थी बिरामी, ४ सिकिस्त

ट्यांकीभित्र भेटिएको विषादी तरकारी र अन्नबालीमा लाग्ने कीरा मार्न प्रयोग हुने विज्ञले बताएका छन् । विषादी कसले मिसायो भन्ने खुलेको छैन । पानी पिएका विद्यार्थीलाई रिंगटा लाग्ने, टाउको दुख्ने र बान्ता हुने लक्षण देखिएको छ ।


सिकिस्त बनेका कक्षा ९ की खुश्बु मिश्र, ७ की सृष्टि निरौला, ९ की कमला लिम्बू र ५ का मनीष थापाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ । बढी बान्ता गरेर शरीर गलेपछि उनीहरूलाई विराटनगर ल्याइएको हो ।

चिकित्सकले उनीहरूको अवस्था खतरामुक्त भएको बताएका छन् । बाँकी २३ जनाको मंगलबारेस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जाँतेस्थित प्रहरी चौकीका असई हरिनारायण राजवंशीले बताए । प्राचार्य खेमराज दुलालका अनुसार पानी फिल्टर गर्ने करिब ५ सय लिटरको सानो ट्यांकीभित्र विषादी हालिएको पत्ता लागेको छ । त्यस ट्यांकीबाट फिल्टर भएर सँगैको अर्को ३५ सय लिटर क्षमताको ट्यांकीमा पानी जम्मा हुने गर्छ । त्यसैको पानी विद्यार्थी, शिक्षक र कर्मचारीले पिउँदै आएका छन् ।


बाल कक्षादेखि १२ सम्म पढाइ हुने यो विद्यालयमा ४ सय ९१ विद्यार्थी छन् । शिक्षक र कर्मचारी १९ जना रहेको प्राचार्य दुलालले बताए । ‘हामी सबैले त्यही पानी प्रयोग गर्दै आएका छौं,’ उनले भने, ‘यस्तो घातक काम कसले गर्‍यो, चकित छौं ।’


विद्यालय समय सुरु हुन लाग्दा विद्यार्थीले पानी पिएका थिए । पिउँदा अनौठो गन्ध आएपछि केहीले शिक्षकलाई भनेका थिए । शिक्षकहरूले जाँच गर्ने क्रममा ट्यांकीभित्र विषादी हालेको पाइएको थियो । पानी पिएपछि बिसञ्चो भयो भन्दै कतिपय विद्यार्थी घर गएका थिए । पछि विषादी हालेको पत्ता लागेपछि बस्तीमा माइकिङ गरी पानी पिएका विद्यार्थीलाई तत्काल विद्यालय बोलाइएको प्राचार्य दुलालले बताए । सबैलाई भेला गरी सुरुमा मंगलबारेस्थित प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो । त्यहाँ प्रारम्भिक उपचारपछि चारजनालाई विराटनगर ल्याइएको उनले सुनाए ।


पानी पिएर घर फर्केका केही विद्यार्थीमा वाकवाकीको लक्षण देखिएपछि अभिभावकसमेत आत्तिएर विद्यालय पुगेका थिए । विराटनगरमा उपचाररत कक्षा ९ की कमला लिम्बूका बुबा फौदराज लिम्बूले स्कुल पुगेर तुरुन्तै सोधखोज गरेको बताए । ‘पानी खाएर बिसञ्चो भएको थाहा पाउनासाथ स्कुल गएर बुझ्दा ट्यांकीमा कसैले विष हालेको थाहा पायौं,’ उनले भने, ‘त्यसपछि पानी पिएका जति सबैलाई उपचारका लागि स्वास्थ्य संस्था पुर्‍यायौं ।’ वडा ९ का अध्यक्ष तथा विद्यालय सञ्चालक समिति सदस्य कृष्णप्रसाद लुइँटेलका अनुसार ट्यांकी सुरक्षित गरी राखिएको छ । ‘तर माथि चढेर जबर्जस्ती बिर्को उघारी विषादीको बोतल ट्यांकीभित्र हालेको भेटियो,’ उनले भने, ‘कसले यसो गर्‍यो भनेर अनुसन्धान भइरहेको छ ।’


प्रहरीका अनुसार ट्यांकीमा ‘साइपेरिन मेथिन १०’ नामक विषादीको बट्टा फेला परेको छ । यो कीटनाशक विषादी हो । सुनसरीको तरहरास्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्रका बाली रोग वैज्ञानिक नवीन दंगालका अनुसार उक्त विषादी तरकारी र अन्नबालीमा कीरा मार्न प्रयोग हुन्छ ।


‘स्प्रे गरेर यसलाई बालीमा नकारात्मक असर गर्ने कीरा मार्न प्रयोग गरिन्छ,’ उनले भने, ‘यो विषादी बालीमा लगाएको केही सातापछि मात्र त्यो उत्पादन प्रयोग गर्न मिल्छ, नत्र मानव स्वास्थ्यका लागि हानिकारक हुन्छ ।’ विषादी कसले हालेको भन्ने खुलेको छैन । असई राजवंशीका अनुसार ट्यांकीमा विषादी हाल्नेको खोजी सुरु गरिएको छ । लेटाङ नगरपालिका प्रमुख शंकर राईले विद्यालयको खानेपानी ट्यांकीमा विषादी हाल्नेजस्तो गम्भीर अपराध कसले गर्‍यो भन्ने पत्ता लगाउन प्रहरीको सहयोगमा अनुसन्धान भइरहेको बताए ।

त्यस क्षेत्रका कुन–कुन पसलमा त्यस्तो विषादी राखिएको छ र गाउँको कसले किनेर लगेको हो भन्नेसमेत पत्ता लगाउने प्रयास भइरहेको उनले जानकारी दिए । बिरामी परेका विद्यार्थीको उपचारमा नगरपालिकाले सघाउने उनले बताए ।

प्रकाशित : श्रावण ३०, २०७५ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?