कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

उर्लियो कालीगण्डकी, बगायो स्कुल

घनश्याम खड्का

म्याग्दी — अविरल वर्षापछि कालीगण्डकी नदी उर्लेर बस्ती तर्फ पस्न थालेपछि मुस्ताङदेखि तलका सबै तटीय क्षेत्र वरपर बस्ने बासिन्दा त्रसित बनेका छन् । कालीगण्डकीमा बाढीको सतहबढेपछि अन्नपूर्ण गाउँपालिका-३ कोप्चेपानीस्थित ६ कोठे धौलागिरी आधारभूत विद्यालय बगाएको छ ।

उर्लियो कालीगण्डकी, बगायो स्कुल

बाढीले बस्तीको तल्लो क्षेत्रमा कटान सुरु गरेकोले २४ घरपरिवार जोखिममा परेको वडाध्यक्ष चन्द्रप्रकाश फागमीले बताए ।


अन्नपूर्ण गापा-२ भुरुङतातोपानी नजिक कालीगण्डकीले कटान सुरु गरेकोले बेनी–जोमसोम सडकमा यातायात अवरुद्ध भएको छ । रेडक्रस भुरुङतातोपानीका सदस्य श्याम रानाका अनुसार कालीगण्डकी सतर्कता तहमा पुगेको छ ।


त्यसैगरी जिल्ला समवन्यय समिति मुस्ताङका सवइन्जिनियर विष्णु वास्तोलाका अनुसार लगातारको झरीपछि मुस्ताङको थासाङ्ग गाउँपालिका, २ सिर्कुममा बाढी पसेपछि १२ घर जोखिममा परेका छन । ४ घरमा बाढी पसेको छ । कालीगण्डकीमा पानीको तह बढेपछि मुस्ताङ प्रशासनले तटीय क्षेत्रका बस्तीलाई उच्च सर्तकता अपनाउन सूचना जारी गरेको छ ।


चर्को घाम लाग्दा र अलि बाक्लो पानी पर्दा हिमालबाट बालुवाको पहाड हुँदै झर्ने स–साना खोलाले पनि ढुंगा, गिट्टी र बालुवासहित गेगर ल्याउँदा तलको कालीगण्डकी नदीको सतह ह्वात्त बढेको हो । साना खोलाले बगाएर ल्याएको गेगर भरिएपछि कालीगण्डकी नदीले धार परिवर्तत गरी बस्ती पस्न थालेको हो ।


‘दिनमा चर्को घामले पग्लेको हिमालमा सामान्य पानी पर्दा पनि हिमाली खोलामा अकस्मात बाढी आउने गरेको छ,’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले भने, ‘मुस्ताङको प्राय: भु–भाग बलौटे पहाड भएकोले सानो पानीले पनि ठूलो डेब्रिज ल्याइ तराइको जस्तो मैदानी बगरमा बग्ने कालीगण्डकी नदीमा गेगरले भरिदिँदा नदीले धार परिवर्तन गरेकोले सर्तकता अपनाउन भनेका हौं ।’


पछिल्लो एक सातामा मुस्ताङका विभिन्न ठाडो खोलामा आएको बाढीले धेरै भौतिक पूर्वाधारमा क्षति पुर्‍याएको छ । टुक्चेपीक र धौलागिरी हिमालबाट झर्ने थापाखोलामा आएको डेब्रिज ल्याएर १३.६ मेगावाट क्षमताको थापाखोला हाइड्रोको ड्यामसाईटमा क्षति पुर्‍याएकोले सोमबारदेखि विद्युत उत्पादन बन्द भएको हो ।


त्यसैगरी गत शुक्रबार निलगिरी हिमालबाट झर्ने ढुम्बा खोलामा अकस्मात आएको बाढीले सदरमुकाम जोमसोम लगिएको सिंचाई नहर बगाउनुको साथै घरपझोङ गाउँपालिका, ५ ढुम्बा बस्तीमा बाढी पसेर दर्जन बढी घरमा क्षति पुगेको छ । बाढीले ढुम्बा गाउँमा लगेको खानेपानीको २ सय मिटर पाइप बगाएको छ ।


त्यसैगरी हिमालबाट झर्ने ठाडो ढुम्बाखोलामा आएको डेब्रिजसहितको बाढीले कालीगण्डकी नदीको धार परिवर्तन गराइदिँदा मार्फाको ५० रोपनी स्याउ बगानमा क्षति पुर्‍याएको छ । सोही बाढीले बेनी–जोमसोम सडकको मार्फा–जोमसोम खण्डको स्याङमा ५० मिटर सडक बगाउँदा यातायात अवरुद्ध छ ।


साउन तेस्रो सातापनि माथिल्लो मुस्ताङको चराङखोला र दामोदर हिमालबाट झर्ने धे खोलाको बाढी कालीगण्डकीमा मिसिएर आउँदा तल कागबेनीस्थित तिरी तर्ने ५० मिटर लामो काठेपुल र कागबेनीको श्राद्धस्थल बगाएको थियो । साउन दोस्रो साता जोमसोम–कोरला सडकको एक्लेभाटी नजिक पाण्डा खोलामा बाढी आउँदा त्यहाँ निर्मित पक्की पुलमा डेब्रिजको थुप्रो लाग्दा सडक नै परिवर्तन गराएको छ ।

प्रकाशित : श्रावण ३०, २०७५ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?