१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बजेट विवादले परिषद् रोकियो

अध्यक्षद्वारा तीन करोड र वडाध्यक्षद्वारा एक/एक करोड छुट्याउन माग
योजना कार्यान्वयनमा अन्योल
माधव ढुंगाना

भैरहवा — बजेट बाँडफाँटलाई लिएर जनप्रतिनिधिबीच विवाद लम्बिँदा रुपन्देहीको मर्चवारीमाई गाउँपालिकाको परिषद् बस्न सकेको छैन । योजना छनोट र बजेट विनियोजन रोकिएको छ । परिषद्लाई लिएर केही दिनयता जनप्रतिनिधि र कर्मचारी विभाजित छन् ।

बजेट विवादले परिषद् रोकियो

परिषद् सञ्चालनका लागि दुवै पक्षबीच छलफलमार्फत विवाद टुंग्याउन पहल भइरहेको जिल्ला समन्वय समितिले जनाएको छ । संविधानअनुसार असार १० भित्र गाउँसभामा बजेट पेस गरी मसान्तसम्ममा परिषद्बाट पारित गराइसक्नुपथ्र्यो । जिसस प्रमुख एकराज विश्वकर्माले गाउँपालिका प्रमुख र वडाध्यक्षबीचको विवादले परिषद् हुन नसकेको बताए ।


उनका अनुसार आइतबार जिसस कार्यालयमा डाकिएको छलफलमा गाउँपालिकाका कार्यकारी अधिकृत नै उपस्थित भएनन् । केही दिनअघि जनप्रतिनिधि र कार्यकारी अधिकृतसहित छलफल भएको थियो । सहमति नजिक पुग्दा गाउँपालिका अध्यक्ष केशवनन्द बानियाँ छलफल छाडेर बाहिरिएका थिए । ‘बजेट पारित गरेर साउनदेखि विकास निर्माण सुरु गर्नुपर्नेमा केही काम अघि बढ्न सकेको छैन,’ जिसस प्रमुख विश्वकर्माले भने ।


गाउँपालिकाको बजेट ३६ करोड ४७ लाख ५५ हजार रुपैयाँ छ । नीति तथा कार्यक्रम पारित गर्न असार १० गते गाउँपरिषद्मा पेस गरिएकोमा अध्यक्ष र वडाध्यक्षले तजबिजी योजना सञ्चालनका लागि बजेट विनियोजन गरिनुपर्ने अडान लिएपछि विवाद भएको थियो । अध्यक्ष बानियाँले योजनामा परेको बाहेक पौने ३ करोड बजेट आफूखुसी प्रयोग गर्न पाउनुपर्ने अडान राखेका छन् ।


त्यसपछि वडाध्यक्षले तजबिजी खर्चका लागि एक/एक करोड रुपैयाँ मागे । अध्यक्ष र वडाध्यक्षको अडान कायम रहेकाले विवाद अन्त्य हुन सकेको छैन । सीमित बजेट भएकाले जनप्रतिनिधिले चाहेजसरी उपलब्ध गराउन नसकिएको कर्मचारीले बताए । जनप्रतिनिधिले विभिन्न योजनामा आफ्नो गोजीबाट खर्च उपलब्ध गराएजस्तो देखाउन खोजेको आरोप उनीहरूको छ ।


कार्यकारी अधिकृत श्यामकृष्ण पौडेलले दुवै पक्षले आफ्नो अडानमा साथ दिन दबाब दिएकाले कर्मचारी चेपुवामा परेको बताए । ‘दुवै पक्षबीच समन्वय गर्ने धेरै प्रयास गरे पनि सफल हुन सकिएन,’ उनले भने ।


कार्यक्षेत्रमा असुरक्षा महसुस गरेको जनाउँदै कार्यकारी अधिकृत सदरमुकाम भैरहवा आएका छन् । ‘तनाव कम गर्न केही दिन बिदामा छु,’ पौडेलले भने, ‘आइतबारको छलफलबारे मलाई केही थाहा थिएन ।’ अन्य कर्मचारीका कार्यकारी अधिकृतले जनप्रतिनिधिबीचको विवाद संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जानकारी गराएर असुरक्षा देखाउँदै बिदा बसेका हुन् ।


अध्यक्ष बानियाँले सदस्यले मागेका योजना वडाध्यक्षले नदिने र वडाध्यक्षले मनोमानी गर्न खोजेको आरोप लगाए । आफूले माग गरेको बजेट पनि गाउँपालिकाकै विकास निर्माणमा प्रयोग हुने भएकाले विरोध गर्न नहुने जिकिर उनको थियो । वडाध्यक्ष भने अध्यक्षले अपारदर्शी र मनोमानी ढंगले तीन करोड माग गरेको र वडा परिषद्बाट माग गरिएका योजना कटौती गर्न लागेकाले विरोध गरेको दाबी गर्छन् ।


‘अध्यक्षले तीन करोड कुन–कुन ठाउँमा खर्च गर्ने भन्नेबारे स्पष्ट पार्न मानेका छैनन्,’ गाउँपालिकाका प्रवक्ता तथा ३ नम्बर वडाध्यक्ष नारायणबहादुर यादवले भने, ‘हाम्रा योजना कटौती गर्न लगाइएको छ ।’ अध्यक्षले नै पहिले सबै वडाध्यक्षलाई एक/एक करोड रुपैयाँ बराबरका योजना माग गर्न लगाएको दाबी उनले गरे ।


प्रकाशित : श्रावण ३०, २०७५ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?