कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

हाम्रा जनप्रतिनिधि हेलिकप्टरबाटै गाउँ–सहर

वैशाखयता सिमकोटबाट विभिन्न गाउँपालिकामा ३० वटा उडान भए । तीमध्ये अधिकांश जनप्रतिनिधि बोक्न प्रयोग गरिएका थिए

हुम्ला/कालीकोट — चुनावअघि पैदलै सदरमुकाम पुग्ने स्थानीय तहका जनप्रतिनिधि अहिले हेलिकप्टरमार्फत आउजाउ गर्न थालेका छन् । विशेष गरी सडक सञ्जालले नजोडिएका स्थानीय तहका जनप्रतिनिधिमा हेलिकप्टर मोह झाँगिएको छ । यद्यपि उनीहरू ‘आफ्नै खर्च’ मा चढेको दाबी गरिरहेछन् ।

हाम्रा जनप्रतिनिधि हेलिकप्टरबाटै गाउँ–सहर

साउन तेस्रो साता हेलिकप्टरबाट सदरमुकाम सिमकोट पुगेकी अदानचुली गाउँपालिकाकी उपाध्यक्ष सौमती ऐडीका लागि ‘हेलियात्रा’ पहिलो अनुभव थियो । यसका लागि उनले २१ हजार खर्च गरिन् । सँगसँगै आएका अरूले पनि सोही दरमा भाडा तिरेको उनले बताइन् । ‘शंका गर्नेले त जे पनि गर्लान् तर मैले आफ्नो भाडा आपंैm तिरेकी छु,’ उनले भनिन्, ‘गाउँपालिकाबाट भाडा लगेकी छैन ।’


सर्केघाट गाउँपालिका उपाध्यक्ष जोशी धामी पनि हेलिकप्टरमै आवतजावत गर्छिन् । उनी त ‘हेलिकप्टरवाला’ सँग आफ्नो राम्रो सम्बन्ध भएकाले भाडा तिर्नै नपर्ने बताउँछिन् । ‘चुनावअघि गाउँमा बस्थें, आजकल गाउँ आउजाउ गरिरहनुपर्छ,’ उनले भनिन्, ‘तैपनि हेलिकप्टरको भाडा गाउँपालिकालाई तिर्न लगाएकी छैन ।’


सिमकोटका पर्यटन व्यवसायी विजय लामाका अनुसार वैशाखयता मात्र विभिन्न गाउँपालिकामा ३० वटा उडान भएका छन् । सिमकोटबाट अदानचुलीमा आठ, चंखेलीमा ६, सर्केघाटमा पाँच, ताजाकोटमा तीन र यालबाङमा एक र बाँकी अन्य स्थानमा भएका हुन् । यी उडान जनप्रतिनिधि र बिरामीका लागि आधाआधा प्रयोग भएको उनको भनाइ छ ।

हेलिकप्टर कम्पनीले सिमकोटबाट चंंखेलीमा एक लाख २० हजार रुपैयाँ, ताजाकोट र अदानचुलीमा एक लाख २५ हजार, सर्केघाटमा एक लाख रुपैयाँ र यालबाङमा ८० हजार रुपैयाँ भाडा लिन्छन् । स्थानीय श्यामजोर ऐडी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षमात्र नभई वडाध्यक्षसमेत हेलिकप्टरमै आउजाउ गर्ने गरेको बताए ।

‘हेलिकप्टर भाडामा कसको कति खर्च भयो भन्ने कुरा त गाउँपालिकामै गएर बुझ्दा थाहा होला,’ उनले भने, ‘तर हिजो सामान्य हैसियत भएकाहरू जनप्रतिनिधि हुनेबित्तिकै हेलिकप्टरमा आवतजावत गर्छन् भने शंका गर्नैपर्छ ।’ जनप्रतिनिधि भने गाउँमा सडक सुविधा नपुगेको र पैदल यात्रा गर्दा समय बढी लाग्ने भएकाले हेलिकप्टरमै आवतजावत गर्नुपरेको बताउँछन् । कैलाश मानसरोवरका यात्री बोकेर सिमकोट आएका हेलिकप्टरका कारण उनीहरूलाई सहज भएको छ ।


चलाउनै नजान्नेलाई मोटरसाइकल
कालीकोटको रास्कोट नगरपालिकाले ९ वटै वडाका अध्यक्षलाई मोटरसाइकल खरिद गरेको छ । विषयगत शाखालाई एक/एकवटा र अन्य नगरका कर्मचारीलाई पनि मोटरसाइकल दिएको छ । सात जना वडाध्यक्षले मोटरसाइकल चलाउन जान्दैनन् । उनीहरूसँग सवारी अनुमतिपत्र (लाइसेन्स) छैन ।

‘चुनाव जितेपछि मोटरसाइकल पाइयो, पहिल्यै लाइसेन्स कताबाट ल्याउनु ?’ २ नम्बर वडाध्यक्ष दयाराम सिम्खडाले भने, ‘कतै जानुपरे लाइसेन्स भएका साथीभाइको पछाडि बस्छौं ।’ नगरपालिकाले मेयरका लागि ४० लाखको गाडीसमेत खरिद गरेको छ । तर, उक्त गाडी गाउँमा गुडदैन । असारपछि कर्णाली नदीमा फेरी बन्द भएकाले सदरमुकाम मान्ममै राखिएको छ । मेयर काशीचन्द्र बराल सदरमुकाम आउँदा र सुर्खेत झर्दामात्र उक्त गाडी प्रयोग गर्छन् ।

‘त्यो गाडी नगरपालिकातिर देखिँदैन, मेयर र उनका आसेपासेले सदरमुकामतिरै चढ्छन्,’ वडाध्यक्ष सिम्खडाले भने, ‘हामीलाई भने मोटरसाइकल दिइएको छ ।’


रास्कोट कालीकोटकै सबैभन्दा धेरै सवारीसाधन भएको नगरपालिका हो । यहाँ एक करोड १० लाख रुपैयाँमा खरिद गरिएको एउटा डोजर छ । मेयर बराल सवारी धेरै हुँदा काममा पनि सहजता भएको बताउँछन् । गत वर्ष डोजरले आठ करोड रुपैयाँ लागतको ३१ किलोमिटर सडक खनेको उनले जनाए । नरहरिनाथ गाउँपालिकामा सडक पुगेकै छैन । तर, पाँचवटा मोटरसाइकल छन् ।

एउटा मोटरसाइकल हालै खरिद गरिएको हो । चार वटा साबिकका रुप्सा, मालकोट, लालु, कोटबाडा गाविस हुँदै खरिद गरिएको गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले बताए । तिलागुफा नगरपालिकासँग चार मोटरसाइकल छन् । नगरले यस वर्षको बजेटबाट गाडी किन्ने योजना बनाएको उपमेयर दन्ता नेपालीले बताइन् । पचालझरना, पलाता, सान्नीत्रिवेणी, शुभकालिका महाबै गाउँपालिका सबैसँग ४ देखि ६ वटासम्म मोटरसाइकल छन् ।

ती मोटरसाइकल कसले कहाँ चढ्छन् भन्नेबारे गाउँपालिका प्रमुखसमेत बेखबर छन् । सदरमुकाम रहेको खाँडाचक्र नगरपालिकाले असार अन्तिममा ३७ लाख ५० हजार रुपैयाँमा गाडी खरिद गरेको छ । नगरपालिकासँग दुई मोटरसाइकल छन् । ‘एक वर्ष भाडाको बोलेरो जिप चढियो,’ मेयर जसीप्रसाद पाण्डेले भने, ‘भाडा धेरै गएकाले गाडी किन्यौं ।’


सडक नभएको ठाउँमा ड्राइभर सरुवा
कालीकोट जिल्ला समन्वय समिति (जिसस) ले सडक नपुगेको शुभकालिका गाउँपालिकामा चालक सरुवा गरेको पाइएको छ । समन्वय प्रमुख अनिपाल शाहीले गत पुसमा जिससमा आफूनिकट नयाँ चालक राख्न पहिलेदेखि कार्यरत चालक धर्मराज शाहीलाई शुभकालिका गाउँपालिका सरुवा गरेका हुन् । प्रमुखले पेलानमा पारेर गाडी र सडक दुवै नभएको गाउँपालिकामा सरुवा गरेपछि जागिर छोड्नुपरेको शाहीले बताए ।

प्रकाशित : श्रावण ३०, २०७५ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?