विश्वकप रंगशालामा नेपालीको मृत्यु

होम कार्की

काठमाडौँ — सन् २०२२ को लागि कतारमा हुन गइरहेको विश्वकप रंगशालाको लागि निर्माणधीन अल वक्रा रंगशालामा मोरङका २३ वर्षीय तेजनारायण थारुको मंगलबार बिहान मृत्यु भएको छ ।कतारस्थित नेपाली दूतावासका अनुसार थारुको रंगशालाभित्रै काम गर्नेक्रममा मृत्यु भएको हो ।

उनी स्काफफोल्डिङको काम गर्थे । ‘घटनाको अनुसन्धान भइरहेको सूचना हामीलाई दिइएको छ,’ दूतावासका एक अधिकारीले कान्तिपुरलाई भने,‘शव पठाउनुअघि पूर्ण विवरण आउनेछ ।’ थारु शव पठाउने प्रक्रिया भइरहेको छ ।

Yamaha

विश्वकप रंगशाला निर्माणको सम्पूर्ण जिम्मेवारी रहेको ‘द सुप्रिप कमिटी फर डिलिभरी एण्ड लिगेसीद्वारा जारी विज्ञप्तिमा थारुको आयोजनाभित्र काम गर्नेक्रममा मृत्यु भएको उल्लेख छ । ‘घटनाबारे मृतकका नजिकको व्यक्ति, कतार र नेपाली निकायलाई खबर भइसकेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘घटनाबारे थप अनुसन्धान सुरु भइसकेको छ ।’

डेड वर्षअघि अल वक्रा रंगशालामा कार्यरत सुखीपुर–४, सिराहाका २९ वर्षीय अनिलकुमार पासमानको मृत्यु भएको थियो । सुप्रिम कमिटीले हालसम्म यो रंगशालामा काम गर्नेक्रममा दुई जनामात्रै नेपालीको ज्यान गएको जनाएको छ ।

४० हजार सीट क्षमता भएको अल वक्रा आउँदो डिसेम्बरसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य छ । यतिखेर छाना छाउने काम सकिन लागेको छ । विश्वकप सकिएपछि २० हजार क्षमतामा झारेर बाँकी २० हजार क्षमताको रंगशाला अरु देशलाई दिइने योजना छ ।
अल वक्रा कतारको सबैभन्दा परम्परागत सानो सहर हो । यही सहरभित्र निर्माणाधीन अल वक्रा रंगशालाबाट हमाद अन्तर्राष्ट्रिय विमानस्थलसम्मको दूरी झन्डै १५ किमि जति छ । रंगशालाको निर्माण ठेक्का मिडम्याक कम्पनी र पोर्र कतारले पाएका हुन् । कतारमा मिडम्याकमा कम्तीमा ५ हजार नेपालीलाई रोजगारी दिने कम्पनी हो । यो रंगशाला बनाउन कामदारले २.५ मिलियन घण्टा काम हुने सुप्रिप कमिटिको भनाइ छ ।

प्रकाशित : श्रावण ३०, २०७५ १६:०१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

१६ वर्षदेखि श्रीमान्‌काे पर्खाइमा (भिडियाेसहित)

होम कार्की

काठमाडौँ — ‘तपाई त आउनुभएछ । खै मेरो श्रीमान त आँउदैनन्’ आफ्नो तरकारी पसलमा आउने ‘मलेसियन लाहुरे’ लाई फूलमाया वाइवा सोध्ने गर्छिन्, ‘हाम्रो मान्छेले किन माया नै मारेर बसेका होलान् ?’ 

१६ वर्षदेखि मलेसियाबाट नफर्केका ४५ वर्षीय वीरबहादुर वाइवाकी ३७ वर्षीय फुलमाया वाइवा सम्पर्कविहिन श्रीमान्‌काे तस्बिर देखाउँदै । तस्बिर : होम कार्की/कान्तिपुर   

उनी जोरपाटी चोकको सडकमा तरकारी बेच्दै बस्छिन्। गरिखाने एउटा ठेला थियो। नगरपालिकाले खोसेर लगिदियो। अहिले सडकमै बोरा ओछ्याएर तरकारी बेच्दै आएकी छिन्। मलेसियामा काम गरी फर्केर आउनेलाई भेट्नासाथ आफ्ना श्रीमान् वीरबहादुरको तस्बिर देखाउँदै सोध्छिन्, ‘तपाईले यो मान्छेलाई कतै देख्नु भएको छ? चिन्नुहुन्छ?’

वीरबहादुर २०५९ चैत २० मा मलेसिया उडेका थिए। त्यतिखेर वीरबहादुरको छोरो ७ वर्षको थियो। छोरालाई साह्रै माया गर्थे। बोर्डिङमा पढाउथे। मलेसिया गएपछि यी सवै भुले। उनी के गर्छन्? कहाँ छन्? कोसँग बस्छन्? फुलमाया बेखबर छिन्।

‘धन कमाएर एउटा टेक्ने थलो बनाउला भनेर जानुभएको थियो। मलेसियामा के भयो? के को हावाले छोयो। थाहा छैन’ फुलमायाले भनिन्, ‘गएदेखि फर्केर आउनु त भएन। हामीलाई सम्पर्क पनि गर्नुभएन। हामी आमाछोरालाई सडकमा ल्याएर छाडिदिनुभयो।’

फूलमायाको वीरबहादुरसँग दोहोरो सम्पर्क नै नभएको ठ्याक्कै १४ बर्ष वित्यो।दुई वर्षसम्म नियमित सम्पर्क हुन्थ्यो। त्यतिखेर मोवाइल थिएन। डेरामा सबैको घरमा ल्याण्डलाइन फोन थियो। ‘कहिलेकाँही त्यहीँ फोन आउथ्यो। दुखसुखको वातचित हुन्थ्यो। बेला बेला मलेसियामा खिचेका तस्बिरहरु पठाइदिनुहुन्थ्यो। त्यो तस्बिर हेरेर नै बुढाको हालखवर थाहा पाउँथे। माटाएको र दुब्लाएको थाहा पाउँथे। सुख छ कि दुख छ भनेर अनुमान गर्थे,’ उनले भनिन्।

उनका अनुसार मलेसिया जाँदा दुई बर्षपछि आउछु भन्थे, आएनन्। तीन वर्ष बितेपछि आउँछु भन्थे, आएनन्। त्यसपछि त फोन नै आउन छाड्यो।‘सुरुमा त पैसा पनि पठाएका थिए। दुई लाख ७० हजार रुपैयाँ पठाए। यो पैसाले मलेसिया जाँदा लागेको ऋण पनि तिर्न पुगेन,’ उनले भनिन्, ‘एक लाख ५० हजार रुपैयाँ ऋण लिएर गएका हुन्। तीन वर्षसम्म ब्याजसहित ३ लाख रुपैया पुग्यो। बाँकी ऋण पनि म आफैंले तरकारी बेचेर तिरेँ।’

वीरबहादुर भन्दा ८ वर्षले फूलमाया कान्छी हुन्। अहिले फुलमाया ३७ वर्षकी भइन्।उनी २०५२ को मंसिरतिर काठमाडौं शहर हेर्न पहिलोपटक काठमाडौं आएकी थिइन्। त्यतिखेर उनी १४ वर्षकी थिइन्। नेत्रकाली, सिन्धुलीका साथीभाइ कीर्तिपुरमा गलैचा वुन्न आउथे। उनी घरबाट भागेर गलैचा बुन्न आएकी थिइन्।

‘वीरबहादुरसँग गलैंचा कारखानामै भेट भएको थियो। मलाई गलैचा बुन्न आउँदैन्थ्यो। उहाँले मलाई खाना मात्रै पकाएर दिए हुन्छ। काम गर्नुपर्दैन भनेपछि बिहे गरें’ उनले विगत सम्झिंदै भनिन्,‘बिहे गरेको एक वर्षमै छोरो जन्मियो।’

जेनतेन जिन्दगी चलिरहेको थियो। वीरबहादुर साथमै हुँदा फुलमायाले जिन्दगीमा दु:ख महसुस गर्नुपरेको थिएन। जव विरबहादुर मलेसिया छिरे। त्यसपछि दुखमाथि दुख थुप्रिदै गयो।‘यो जिन्दगी कसरी जाने हो? थाहा नपाउँदै म भन्दा ८ बर्ष जेठासँग विवाह भयो। परिवारसँग बस्नै मन थिएन भने बरु एक्लै बसेको भए हुन्थ्यो। हामीलाई लिएर सडकमा छाडेर किन गयो?,’ उनी भन्छिन,‘उनले गर्दा धेरै दुख पाएँ। तनावले दिमाग ठीक ठाँउमा भएन। मानसिक रोगको शिकार भएँ। ‘मसँग कति रोग छन्। मुटुको रोग भएन कि, मृगौलामा पत्थरी भएन कि। फोक्सोको रोग भएन कि’ उनी भन्छिन्,‘बाटाको धुलोमा वसेर काम गरेर खाइरहेको छु। महिनाको १० हजारको औषधी खान्छु।’छोरोको पढाइ पनि बिग्रियो। ‘बालक छोरोले कति दु:ख झेल्यो’ उनले भनिन्।

उनका अनुसार काटेश्वर जोरपाटीमा तरकारी किन्न आउनेलाई वीरबहादुरको फोटो देखाउँदा कसैले देखेको छु भनिदिन्छन्। कसैले छैन भनिदिन्छन्। अलि अगाडि खोज्नका लागि एक जनालाई फोटो दिएर पठाएका थिए।

‘त्यो मान्छेले भेटेको खबर सुनाए। सोधखोज गरेपछि कम्पनी नै छाडेर अर्कोतिर हिडिदिए भन्छन्’ उनले भनिन,‘हामीसँग पैसा छैन। सम्पत्ति छैन। हामीलाई खाना त धौधौ छ। खोज्न कहाँ जाने?’

सरकारी निकायमा कहाँ गएर कसलाई भन्ने उनलाई थाहा थिएन। दुई महिना अगाडिमात्रै खोजीको लागि परराष्ट्र मन्त्रालयमा निवदेन दिएकी छिन्। मलेसियामा रहेको नेपाली दूतावासले खोजी भइरहेको जवाफ दिएको छ।

फूलमाया वीरबहादुरबारे बुझ्न धर्म गुरुलाई फोटो देखाउन गइरहन्छिन्।‘यो मान्छेको जिउँदाे छ कि छैन? आउदै आएन।’‘जिम्दो छ कि छैन भनेर भन्दैन। तिम्रो भाग्यमा कर्म गरी खाने लेखेको छ। कर्म गर। बुढोको कमाई खाने भाग्य नै छैन,’ गुरुले ५ चोटीसम्म यही जवाफ दिइसके। उनले सपनामा पनि वीरबहादुर बाँचेकै देखिरहेको बताउँछिन्।

फूलमायाको वीरबहादुरसँग हिसावकिताव गरेरमात्रै मर्ने इच्छा छ। ‘दुखले कति पटक मर्न हिडे। छोरो भएर मर्न सकिन। बालकमा मैले आमा गुमाउँदाको पीडाको अनुभव छ। छोरोलाई त्यो पीडा दिन चाँहिन,’ उनले भनिन्।

उनको श्रीमान् मलेसिया जाँदा जहाँ छोडेर गएका थिए, उनी त्यही बसिरहेकी छिन्। ‘मेरो दुख र मिहेनत देखेर कन्या केटाले समेत विबाह गर्न प्रस्ताव गरेका थिए। मलाई कति मान्छेले फकाए होलान्? कतिले आश्वासन दिए होलान्। म मेरो बुढो पर्खेर नै बसिरहेको छु। उनको पनि कोही छैन। आमाबुवाको मृत्यु भइसक्यो। एउटा बहिनी थिइन्। उनको पनि मृत्यु भयो। उनलाई सम्झेर माया लाग्थ्यो,’ उनले भनिन्,‘म जहाँ बसेको छु। इमान्दार भएर बसेको छु। उनको इज्जतमा दाग लाग्ने गरी हिडेको छैन। त्यो मलाई कि भगवानलाई मात्रै थाहा छ।’

फूलमायाको छोरो २२ वर्षका भएका छन्। कक्षा ११ भन्दा माथि पढ्न सकेनन्। उनले ऋण खोजेर छोरोलाई कतार पठाएकी थिइन्। कतारको यात्रा त्यति सफल भएन। जानु मात्रैको भयो।
उनलाई छोराले बारम्बार दुइटा प्रश्न गरिराख्छ, ‘बावु आमाले गर्दा पढ्न पाइनँ। जन्म दिएपछि कर्म किन नदिएको? सम्पत्ति किन नजोडेको?’

‘छोरोको प्रश्नको उत्तर मसँग छैन। मैले सकेको गरे,’ उनी भन्छिन्, ‘छोरोको प्रश्नको उत्तर दिन भने पनि एकपल्ट आऊ। बाँकी जीवन तिम्रै हातमा छ।’

प्रकाशित : श्रावण २८, २०७५ २०:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT