मासिँदै ठेकी-मदानी

प्रतीक्षा काफ्ले

चापाकोट (स्याङ्जा) — सहरतिर अहिले बाक्लै डेरी छन् । मही पाउन मुस्किल छैन । तर मही पार्ने मदानी र ठेकी गाउँमा पनि दुर्लभ हुँदै छन् ।

मासिँदै ठेकी-मदानी

बिजुलीबाट चल्ने मेसिनले विस्थापित गरेको छ यी परम्परागत सामग्रीलाई ।


चापाकोट नगरपालिका–९ चोसीका ५२ वर्षीय लीलबहादुर विकको पुख्र्यौली पेसा ठेकी र मदानी बनाउने हो । तर, उनैलाई अब यो पेसा जोगिने आस छैन । नयाँ पुस्ताले चटक्कै छाडिदिएको छ ।

‘मेरो सेखपछि यो पेसा कसले नै गर्ला र ?’ उनी भन्छन्, ‘मैले जान्ने भएदेखि यही पेसा गरेँ । यसैबाट कमाएर छोराछोरीलाई शिक्षादीक्षा दिएँ ।’ विकले भने अझै पनि आफ्नो पेसा छाडेका छैनन् । बरु स्थानीयलाई रोजगारीसमेत दिएका छन् ।


ठेकी र मदानी बनाउने समुदायलाई ‘चुँदारा’ भनिन्छ । विकले अहिले कटहरको काठबाट ठेकी, आने, मदानी, ढेउवा, गौवा, कोसी बनाएका छन् ।


ती आकर्षक र मौलिक देखिन्छन् । बजारमा १ मानाबराबरको ठेकी २ सय ८० रुपैयाँमा बिक्री हुने उनले बताए ।


विकले ५ जनालाई रोजगारी दिएका छन् । ‘घामपानी खप्दै बाहिर हिँड्नुपर्दैन,’ ठेकी बनाइरहेकी गीताले भनिन्, ‘घरनजिकै दिनभरि बसीबसी काम गर्न पाउँदा खुसी लागेको छ । महिनाबारी तलब पाउँछौं ।’


दैनिक ५ सयदेखि ७ सय रुपैयाँसम्म ज्याला पाइने गरेको माया विकले जनाइन् । उनका अनुसार सामान्यतया एउटा ठूलो ठेकी बनाउन ६ घण्टासम्म लाग्छ ।


अर्का कामदार सेते थापाले काठका भाँडामा दुहेको दूध, त्यसमा जमाएको दही र मथेको मही स्वादिलो र धेरै समयसम्म नबिग्रिने बताए । यहाँबाट उत्पादित सामग्री स्याङ्जा, पाल्पा, पर्वत, नवलपरासीसम्म लगेर बेचिन्छ ।


‘पहिले ठेकीबाट मही सारेर खानुको मज्जा बेग्लै थियो,’ स्थानीय हरि पंगेनीले भने, ‘अहिले मही र दही प्लास्टिक गिलास र स्टिलका भाँडामा मात्र देख्न पाइन्छ ।’


लोपोन्मुख ठेकी र मदानी बनाउने पेसा जोगाउन सघाउने योजना बनाएको चापागाउँ नगरप्रमुख शिवकुमार गिरीले सुनाए । ‘परम्परागत पेसा संरक्षण गरिनेछ,’ उनले भने, ‘ठेकी, मदानी हाम्रो संस्कृतिसँग पनि गासिएको छ ।’

प्रकाशित : श्रावण ३०, २०७५ २०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?