१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

विपन्नलाई आवास दिइने

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले घरविहीन व्यक्ति तथा परिवारलाई आवास व्यवस्था गरिदिने भएको छ । अति विपन्न र वैकल्पिक व्यवस्था गर्न नसक्नेलाई अनिवार्य आवास सुविधा दिन सरकारले संसद्मा ‘आवासको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेस गरेको छ ।

विपन्नलाई आवास दिइने

सरकारले संविधानको मौलिक हक कार्यान्वयन गर्न विधेयक बनाएको हो । आवासविहीनको विवरण संकलन, उनीहरूलाई परिचयपत्र उपलब्ध गराउने, बस्ती विकास गर्ने, आवास उपलब्ध गराउने, अस्थायी आवास तथा पुनर्वास व्यवस्था गर्ने प्रस्ताव विधेयकमा गरिएको छ । ‘नेपाल सरकार, प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरी स्रोतसाधनका आधारमा आवासविहीन व्यक्ति तथा परिवारलाई प्राथमिकीकरण गरी आवास सुविधा उपलब्ध गराइनेछ,’ विधेयकमा उल्लेख छ ।

विपत्को जोखिममा परेका व्यक्ति तथा परिवारलाई अस्थायी सुविधा तथा आर्थिक सहायता उपलब्ध गराउनुपर्ने व्यवस्था पनि विधेयकमा छ । विपत्बाट विस्थापित व्यक्ति तथा परिवारलाई उचित पुनर्वासको व्यवस्था गर्न प्रस्ताव गरिएको छ । यो विधेयक संसद्बाट पारित भएपछि आगलागी, बाढीपहिरोबाट आवासविहीन भएकालाई स्वत: सरकारले आर्थिक सहयोग गर्नुपर्ने हुन्छ । ‘विपत्मा परी आवास नष्ट भएका वा तोकेभन्दा कम वार्षिक आय गर्ने व्यक्ति र उसको परिवारलाई आवास सुविधा उपलब्ध गराइनेछ’, विधेयकमा भनिएको छ । भौगोलिक विकटताका कारण सेवासुविधा पुर्‍याउन नसकिने स्थानका बस्ती सुविधायुक्त स्थानमा सार्ने परिकल्पनासमेत विधेयकमा गरिएको छ ।

विपत्बाट विस्थापित व्यक्ति तथा परिवारका लागि अस्थायी आवास वा आर्थिक सहायता उपलब्ध गराउनुपर्ने हुन्छ । पूर्ण रूपमा विस्थापित व्यक्ति वा परिवारका नाममा अन्यत्र जग्गा नभएको वा जग्गा भए पनि भौगोलिक र अन्य कारणले बसोबास गर्न अनुपयुक्त भए सरकारले पुनर्वास व्यवस्था गर्नुपर्ने प्रावधान विधेयकमा राखिएको छ । ‘आर्थिक उपार्जनको कार्यमा संलग्न भए सहुलियतपूर्ण कर्जा तथा आंशिक अनुदान प्रदान गरी पुनर्वासको प्रबन्ध गर्नुपर्नेछ,’ विधेयकमा भनिएको छ ।

आवास व्यवस्था गर्न केन्द्रीय र प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गर्नुपर्ने हुन्छ । प्रदेश र केन्द्रीय सरकारले बजेट, जनशक्ति र प्राविधिक सहायता प्रदान गर्ने जिम्मेवारी तोकिएको छ । झूटो विवरण पेस गरी आवास सुविधा लिए दुई वर्ष कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ । आवास सुविधा दुरुपयोग गरे, आवासबाहेक अन्य प्रयोजनमा प्रयोग गरे एक वर्ष कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै, जानीजानी झूटो विवरण संकलन र सिफारिस गरे एक लाख रुपैयाँ जरिवाना, सरकारी कर्मचारी भएमा विभागीय कारबाहीसमेत हुने व्यवस्था छ ।

क्षतिपूर्ति दिएर मात्रै व्यक्तिको सम्पत्ति लिन सकिने राज्यले क्षतिपूर्तिबिना व्यक्तिको आवास सार्वजनिक प्रयोजनमा ल्याउन नपाउने भएको छ । यसअघि नक्सा पास भएका भवनसमेत सरकारले क्षतिपूर्तिबिना भत्काएको थियो । व्यक्तिको स्वामित्वमा रहेको आवासबाट हटाउनुअघि पुनर्वासको व्यवस्था गर्नुपर्ने व्यवस्था विधेयकमा गरिएको छ । पुनर्वास नगरे क्षतिपूर्ति दिनुपर्ने प्रावधान राखिएको छ । ‘आवासबाट हटाउनुअघि नै क्षतिपूर्ति दिनुपर्ने हुन्छ,’ विधेयकमा भनिएको छ, ‘कुनै कारणवश क्षतिपूर्ति प्रदान गर्न नसकिए त्यस्तो क्षतिपूर्ति प्रदान गर्ने निकाय र समयावधिसमेत तोकेर हटाउनुपर्छ ।’

प्रकाशित : श्रावण ३१, २०७५ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?