कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

भारतका पूर्वप्रधानमन्त्री बाजपेयीको निधन

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतका पूर्वप्रधानमन्त्री अटलविहारी वाजपेयीको निधन भएको छ । अखिल भारतीय आयुर्विज्ञान संस्था (एम्स्)ले एक विज्ञप्ति जारी गर्दै बिहीबार साँझ ५ बजे ५ मिनेट जाँदा उनको निधन भएको जनाएको छ ।

भारतका पूर्वप्रधानमन्त्री बाजपेयीको निधन

बुधबार साँझ अस्पतालले स्वास्थ्य अवस्था थप जटिल बन्दै र उनलाई ‘लाइफ सपोर्ट’ मा राखिएको जानकारी दिएको थियो । बिहीबार वाजपेयीको स्वास्थ्य थप अवस्था चिन्ताजनक बनेपछि दिउँसो प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धीलगायतका नेता तथा मन्त्रीहरु अस्पताल पुगेका थिए ।

निष्ठावान राजनीतिज्ञको परिचय बनाएका ९३ वर्षीय राजनीतिज्ञ बाजपेयीलाई मिर्गौला, छाती र पिसावसम्बन्धी समस्या देखिएपछि गत ११ जुनमा अस्पताल भर्ना गरिएको थियो । सन् २००९ मा ‘हर्ट अट्याक’ भएपछि स्वास्थ्यकै कारण उनी सक्रिय राजनीति र सार्वजनिक कार्यक्रमहरुबाट टाढा बस्दै आएका थिए ।

बाजपेयीको स्वास्थ्य नाजुक बनेसँगै उपराष्ट्रपति एम वै‌ंकया नायडु उनको स्वास्थ्य अवस्था बुझ्न बिहीबार बिहानै अस्पताल पुगेका छन् । यसअघि प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य मन्त्रीहरु पनि बुधबार साँझ नै अस्पताल पुगेका थिए ।

तीनपटक भारतको प्रधानमन्त्री बन्न सफल बाजपेयी भद्र र शालीन राजनीतिज्ञका रुपमा चिनिन्थे । र, तार्किक भाषणशैली लागि पनि उनको विशिष्ट परिचय थियो । प्रधानमन्त्रीको पाँच वर्षे कार्यकाल पूरा गर्ने उनी एकमात्र गैर कंग्रेसी नेता पनि हुन् । उनले १९९९ देखि २००४ सम्मको कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका थिए ।

कानपुरको डिएभी कलेजबाट राजनीतिशास्त्रमा स्नातकोत्तर बाजपेयी पहिलो पटक सन् १९९६ मा एनडीएको तर्फबाट भारतका दशौं प्रधानमन्त्री बन्न सफल भएका थिए । तर, संसदमा बहुमत साबित गर्न नसकेपछि उनले १३ दिनमै राजिनामा दिनु परेको थियो । राजीनामा दिनेक्रममा उनले संसदमा दिएको मन्तव्यले निकै वाहवाही पाएको थियो ।

त्यतिबेला प्रधानमन्त्री पद गुमाए पनि उक्त भाषणका कारण बाजपेयीले राष्ट्रिय राजनीतिमा दीर्घकालीन जित हासिल गरिएको टिप्पणी भएको थियो । नभन्दै उनी पुन: सन् १९९८ मा दोस्रो पटक प्रधानमन्त्री बन्न सफल भए । र, दोस्रो पटक भने उनले पाँच वर्षे कार्यकाल पुरा गरे । यसअघि सन् १९७७ मा मोरारजी देसाई नेतृत्वको मन्त्रीमण्डलमा उनी परराष्ट्र मन्त्री थिए । बाजपेयीले दुई पटक नेपालको भ्रमण गरेका छन् । पहिलो पटक सन् १९७७ मा परराष्ट्रमन्त्रीका रुपमा र दोस्रो पटक सन् २००२ मा ११ औं सार्क सम्मेलनका अवसरमा प्रधानमन्त्रीका रुपमा नेपालको औपचारिक भ्रमण गरेका थिए ।

सन् १९२४ मा मध्यप्रदेशको ग्वालियरमा जन्मेका बाजपेयीको राजनीति जीवन सन् १९४२ मा तत्कालीन इष्ट इण्डिया कम्पनीविरुद्धको भारत छोडो आन्दोलनबाट सुरु हुन्छ । हुन त त्यसअघि सन् १९३९ मै उनी राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) मा आवद्ध भइसकेका थिए । सन् १९५७ मा भारतको तल्लो सदन लोकसभामा प्रवेश गरेका बाजपेयी आफ्नो राजनीतिक जीवनमा दश पटक सांसद निर्वाचित हुन सफल भए । सन् १९८० मा बापजेयीकै नेतृत्वमा भारतीय जनता पार्टी (भाजपा) को गठन भएको थियो ।

प्रकाशित : श्रावण ३१, २०७५ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?