२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

जलवायु परिवर्तनको असरबारे नेपालले क्षतिपूर्ति दाबी गर्ने 

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्वव्यापी जलवायु परिवर्तनमा नगन्य योगदान भए पनि असरबाट प्रभावित मुलुकको अग्रस्थानमा परेको भन्दै नेपालले क्षतीपूर्तीका लागि अन्तर्राष्ट्रिय फोरममार्फत विश्व समुदायको ध्यानाकर्षण गराउने भएको छ । 

जलवायु परिवर्तनको असरबारे नेपालले क्षतिपूर्ति दाबी गर्ने 

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले विश्वव्यापी जलवायु परिवर्तनको असरबाट अतिप्रभावित मुलुकका नाताले त्यसको क्षतिपूर्ति दाबी गर्ने बताएका हुन् ।


नेपालका लागि बेलायती राजदूत रिचर्ड मोरिससँग बिहीबार मन्त्रालयमा भएको भेटमा मन्त्री बस्नेतले विश्वव्यापी उत्सर्जनमा नेपालको कुल योगदान ०.०२७ प्रतिशत भए पनि प्रभावित मुलुकको अग्रपंक्तिमा नाम आउनु बिडम्बनापूर्ण रहेकाले यसप्रति विश्व समुदायको ध्यान जानुपर्ने बताए ।


‘ग्लोबल वार्मिङमा हाम्रो योगदान ज्यादै नगन्य छ’, मन्त्री बस्नेतले भने, ‘त्यसबाट प्रभावित मुलुकको सूचीमा नेपालको नाम अग्रस्थानमा छ, अब यत्तिकै चुप लागेर बसिदैन ।’ जलवायु परिवर्तनका कारण हरेक वर्ष नेपालका हिमालहरुमा हिउँको मात्रा घट्दै जाँदा पर्यटनमा नकारात्मक असर परेको छ ।


जलवायु परिवर्तनका कारण देखिएको तापक्रम वृद्धि र मनसुन प्याट्रनमा आएको बदलाबका कारण अतिवृष्टि र अनावृष्टि भएको छ भने सहरीक्षेत्र र तराई क्षेत्रमा बाढीको प्रकोप बढ्दै गएको समेत मन्त्री बस्नेतले उल्लेख गरे ।


जैविक विविधता संरक्षण र वन्जयन्तु संरक्षण तथा मानव–वन्यजन्तु द्वन्द्वबारे आफूहरु विश्व समुदायमाझ आफ्नो धारणा राख्न चाहेको बताउँदै त्यसमा सहयोग गर्न राजदूतको ध्यानाकर्षण गराए । ‘हाम्रा मुद्दालाई अन्तर्राष्ट्रिय फोरममा लैजान तपाईहरुको पनि सहयोग रहोस्’ बस्नेतले भने ।


जलवायु परिवर्तनका कारण संसारभरी मानव र वन्यजन्तुको जीवनशैली तथा आनिबानीमा परिवर्तन आइरहेको तथ्यलाई पनि ध्यान दिने बेला आएको भन्दै सम्भावित असर न्यूनीकरणका लागि लागि पर्ने बेला आएको उल्लेख गरे ।


भेटका अवसरमा राजदूत मोरिसले वन्यजन्तु संरक्षणका क्षेत्रमा हात पारेको उपलब्धी विश्वकै लागि उदाहरणीय भएको भन्दै नेपालको प्रशंसा गरे । उनले वन्यजन्तु संरक्षणका क्षेत्रमा दुई छिमेकी मुलुकहरु भारत र चीनसँग सहकार्य गर्न पनि सुझाव दिए ।


वन्यजन्तुको अवैध कारोबार तथा निकासी रोक्न सबै मिलेर काम गर्नुपर्नेमा जोड दिँदै राजदूत मोरिसले आफ्नो सरकारले वन्यजन्तुको अवैध कारोबारमा प्रयोग भइरहेको आर्थिक स्रोतको खोजी गरिरहेको उल्लेख गर्दै नेपालमा पनि त्यस्तो रकम कहाँबाट भित्रिने गरेको छ तथ्य संकलन गर्न सुझाए ।

प्रकाशित : श्रावण ३१, २०७५ १४:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?