कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

‘करले जनता आतंकित’

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय सभामा विशेष समयमा बोल्दै सांसदहरूले कर बढोत्तरी, बाढीपहिरो र सडकको दुर्दशाबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

‘करले जनता आतंकित’

कांग्रेस सांसद अनिता देवकोटाले स्थानीय सरकारले विभिन्न शीर्षकको करमा गरेको कैयौं गुणाको बढोत्तरीले जनता आतंकित भइरहेको बताइन् ।


‘कर बढाउँदा जनताले थेग्न सक्छन् कि सक्दैनन्, हेक्का राखेको देखिएन,’ उनले भनिन्, ‘तीन तहको सरकारबीच समन्वय अभाव छ । केन्द्र सरकारले समेत समन्वयको प्रयास नगर्दा समस्या उत्पन्न भएको छ ।’ कर आतंकले जनताको धैर्य टुट्न सक्ने उनले उल्लेख गरिन् ।


संघीय समाजवादी फोरमका रामपृत पासवानले पूर्वपश्चिम राजमार्गको नवलपुरबाट सर्लाहीको सदरमुकाम मलंगवा जोड्ने सडक वर्षौं भइसक्दा पनि मर्मत हुन नसकिरहेको तर्फ ध्यानाकर्षण गराए । उनले काममा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही गर्ने, ठेक्का तोड्ने कुरा कहाँ हरायो भन्ने प्रश्न गरे ।


नेकपाका कालिबहादुर मल्ल र भैरवसुन्दर श्रेष्ठले जाजरकोटमा भेरी नदी थुनिने गरी गएको पहिरोबारे केन्द्रस्तरबाट स्थलगत अवलकोन गरी समस्यामा परेका जनतालाई राहत दिन माग गरे । रमेशप्रसाद यादवले बारा जिल्लामा पसाहा खोलाको बाढीले पुर्‍याएको क्षतिबारे ध्यानाकर्षण गराए ।


सांसद धनकुमार खतिवडाले कतिपय जिल्लामा बलात्कार घटनामा सरकारबाट भएका कारबाही सदनलाई जानकारी गराउन माग गरिन् । सांसद विमला राईले भूकम्पपछि निर्मित विद्यालयमा शौचालय निर्माण नगरिएकामा आश्चर्य व्यक्त गर्दै डिजाइनमा भएको त्रुटि सच्याउनुपर्नेतर्फ ध्यानाकर्षण गराइन् ।


सांसद नैनकला ओझाले मोरङको लेटाङमा विद्यालयको पानीट्यांकीमा विषादी मिसाइएको विषयमा अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरिन् ।


बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले अपराधपीडित संरक्षण विधेयक २०७५ पेस गरेका थिए । अपराधपीडितको हक संरक्षण, क्षतिपूर्ति र पुन:स्थापनाका लागि उक्त विधेयक प्रस्ताव गरिएको उनले बताए । राष्ट्रिय सभाका चारवटा समितिका सभापतिको चयन भदौ ३ गतेका लागि तोकिएकामा भदौ १३ गतेका लागि सारिएको छ ।

प्रकाशित : श्रावण ३१, २०७५ २०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?