१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

जनप्रतिनिधिलाई प्रधानमन्त्रीको निर्देशन- ‘जथाभावी खर्च नगर्नुहोस्’

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले स्थानीय तहको क्षमता बलियो नभई जथाभावी खर्च नगर्न र सुविधा नलिन जनप्रतिनिधिलाई निर्देशन दिएका छन् ।

जनप्रतिनिधिलाई प्रधानमन्त्रीको निर्देशन- ‘जथाभावी खर्च नगर्नुहोस्’

गाउँपालिका राष्ट्रिय महासंघको प्रतिनिधिमण्डलसँग बिहीबार सिंहदरबारमा छलफल गर्दै प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् । उनले स्थानीय तहका काम सहज ढंगले सञ्चालन नभएको गुनासो आइरहेको पनि बताए ।


‘कतिपय ठाउँमा मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्षले महँगा गाडी किनेको, कतिपय वडाध्यक्षले डोजर किनेर सडक बनाउने ठेक्का आफैं लिएका गुनासा आएका छन्,’ प्रधानमन्त्रीले भने, ‘तपाईंहरू जनप्रतिनिधि हो । त्यसकारण जनताले नरुचाउने काम नगर्नुहोस् । जनताले जे रुचाउँछन्, त्यसमा केन्द्रित हुनुहोस् ।’


कानुनले दिएको छ भन्दैमा ती सबै सुविधा उपभोग गर्नेतर्फ नलाग्न पनि प्रधानमन्त्री ओलीले ध्यानाकर्षण गराए । पछिल्लो समय स्थानीय तहले करका दर बढाएर राजस्व संकलन गर्ने र कार्यालयको खर्च तथा सुविधा बढाउँदै लैजाने गरेका छन् । जनप्रतिनिधि जनताको सेवक भएकाले उनीहरूमा त्यागको भावना हुनुपर्ने ओलीले उल्लेख गरेका थिए । ‘राजनीतिमा त्याग महत्त्वपूर्ण हुन्छ,’ प्रधानमन्त्रीले भने, ‘अत्यावश्यकबाहेकका सुविधा अहिले त्याग गरेर जनताको मन जित्नुहोस् ।’


दुर्गम ठाउँमा काम गर्न समस्या हुने, तर त्यस्ता चुनौती सामना गर्नुपर्ने बाध्यता जनप्रतिनिधिमा रहने ओलीको धारणा थियो । ‘गाउँपालिका दुर्गम ठाउँमै छन्, साधन स्रोत कमी हुने भएकाले त्यहाँका जनप्रतिनिधिले धेरै चुनौतीपूर्ण अवस्थामा काम गर्नुपर्ने बाध्यता छ,’ प्रधानमन्त्रीले भने, ‘जतिसुकै चुनौती भए पनि देश निर्माणको जग भनेको तपाईंहरू नै हो, दुर्गमका बस्ती तथा राज्यको सेवा सुविधा नपुगेका जनतामा तपाईंहरूले नै सेवा प्रवाह गर्ने हो ।’ ओलीले गाउँमा हुने कामबाटै जनताले प्रदेश र संघीय सरकारप्रतिको धारणा बनाउने भएकाले त्यसलाई समेत ख्याल गरेर काम गर्न निर्देशन दिए ।


प्रकाशित : श्रावण ३१, २०७५ २०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?