कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सुन तस्करी र हत्या मुद्दा : अभियुक्तलाई थुनामा राख्ने जिल्लाको आदेश उच्च अदालतद्वारा सदर

तीन अभियुक्तको सुनुवाइ सकियो, २७ जनाको बाँकी

विराटनगर — संगठित अपराध, सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका तीन अभियुक्तलाई थुनामा राख्ने जिल्ला अदालतको आदेश उच्च अदालत मोरङले सदर गरेको छ । जिल्ला अदालत मोरङको थुनछेकको आदेशअनुकूल हुने गरी बिहीबार उच्च अदालतले यस्तो आदेश गरेको हो ।

सुन तस्करी र हत्या मुद्दा : अभियुक्तलाई थुनामा राख्ने जिल्लाको आदेश उच्च अदालतद्वारा सदर

अभियुक्तहरू पुण्यप्रसाद लामा, सम्बिर तोलाङगे र राजन कुमारको हकमा जिल्लाको आदेश बेरीतको नरहेको उच्च अदालतको ठहर छ ।


मुख्य न्यायाधीश कुलरत्न भुर्तेल र उमेशकुमार सिंहको इजलासले लामा र तोलाङगेको मुद्दामा सुनुवाइ गरेको थियो । त्यसैगरी हरिप्रसाद भण्डारी र ऋषिराम दवाडीको इजलासले राजन कुमारको मुद्दा सुनुवाइ गरेको थियो ।


अभियुक्तका तर्फबाट कानुन व्यवसायीहरू रमिता महर्जन, उद्धवचन्द्र घिमिरेलगायतले बहस गरेका थिए । त्यस्तै सरकारका तर्फबाट न्यायाधिवक्ताहरू पुण्यप्रसाद पाठक र पदम वस्तीले बहस गरेका थिए ।


यसैबीच, अभियुक्तमध्येका पूर्वडीआईजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपी सञ्जय राउत र हेमन्त गौतमको मुद्दामा भने बेग्लाबेग्लै ‘कैफियत प्रतिवेदन’ पेस गर्न आदेश दिइएको छ । न्यायाधीश थिरबहादुर कार्की र जनक पाण्डेको इजलासले यस्तो आदेश दिएको हो । जिल्ला अदालतले यसअघि उनीहरूको एउटै प्रतिवेदन पेस गरेको थियो ।


अर्का अभियुक्त राजन थापाको पनि बिहीबारै पेसी रहेकामा समय अभावका कारण अर्को साता सरेको रजिस्ट्रार नारायणप्रसाद रेग्मीले बताए ।


यसअघि जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले प्रारम्भिक रूपमा ३१ जना अभियुक्तलाई तत्काल देखिएको प्रमाणका आधारमा दोषी देखिएको भन्दै पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।


यसअघि पुर्पक्ष थुनामा रहेका ३१ मध्ये ३० अभियुक्तले जिल्लाको आदेश बेरीतको भएको भन्दै उच्च अदालतमा निवेदन दिएका थिए । निवेदन परेपछि उच्च अदालतले जिल्ला अदालतबाट उनीहरूको मुद्दासम्बन्धी सम्पूर्ण बेहोरासहितको प्रतिवेदन मगाएको थियो । उच्च अदालतले मुलुकी ऐन अदालती बन्दोबस्तको १७ नम्बर महलअन्तर्गतको यो मुद्दा प्रत्येक बिहीबार मात्र हेर्दै आएको छ ।


रजिस्ट्रार रेग्मीका अनुसार अब बाँकी अभियुक्तको हकमा साताको दुईपटक पेसी चढाउने प्रयास भइरहेको छ । निवेदन दर्तापछि यसअघि चारपटक पेसीमा राखिएको थियो । तर न्यायाधीशहरूको संख्या कम भएकोलगायत प्राविधिक कारणले मिति सारिँदै आएको थियो । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा सरकारी वकिलको कार्यालयले वैशाख तेस्रो साता मुख्य कारोबारी गोरे भनिने चूडामणि उप्रेतीसहित ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरेको थियो ।


यो मुद्दामा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बिगो मागदाबी गरिएको छ ।३३ मध्ये ३१ जनालाई जिल्ला अदालतले पुर्पक्ष थुनामा राख्न आदेश दिएको थियो । एक जनालाई धरौटी र अर्का एक जनालाई सादा तारेखमा छाड्ने आदेश भएको थियो ।


प्रकाशित : श्रावण ३१, २०७५ २१:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?