२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

नयाँ कानुनमा कमीकमजोरी भेटिए संशोधन : प्रधानमन्त्री

मकर श्रेष्ठ

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले नयाँ कानुनमा कमीकमजोरी भेटिए संशोधन गरिने बताएका छन् ।
कानुन मन्त्रालयले शुक्रबार सिंहदरबारमा गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नयाँ कानुन कार्यान्वयनका क्रममा त्रुटि भेटिए सच्याउन तयार रहेको प्रस्ट पारेका हुन् ।

नयाँ कानुनमा कमीकमजोरी भेटिए संशोधन : प्रधानमन्त्री

‘यो कानुन हाम्रै लागि हो, प्रणाली बसाउनका लागि हो, कमीकमजोरी छन् भने सरकार र हामी सच्याउन तयार छौं’ उनले भने, ‘यी कानुन कार्यान्वयनमा अलमलिनुपर्ने, भ्रममा पर्नुपर्ने कुनै कारण छैन ।’ उनले थपे, ‘समाजले अनुपयुक्त लाग्यो भने, जनहितमा नोक्सानी पुग्नेछ भने, कसैको अधिकार अनुचित रुपमा खोसिने अवस्था देखियो भने संशोधन र परिमार्जन गर्न सकिन्छ ।’


शुक्रबारदेखि लागू भएको 'मुलुकी अपराध संहिता' र 'मुलुकी देवानी संहिता' का प्रावधानका सम्बन्धमा विभिन्न कोणबाट टीकाटिप्पणी भएपछि प्रधानमन्त्रीको यस्तो धारणा आएको हो । नयाँ ठाउँमा नयाँ काम सुरु गर्दा असजिलो हुने भन्दै उनले यो विस्तारै सहज हुँदै जाने र नयाँ कानुन कार्यान्वयन सहज र स्वाभाविक हुने विश्वास व्यक्त गरे ।


६/७ वर्षको छलफल, बहसपछि नयाँ कानुन जारी भएको भन्दै प्रधानमन्त्री ओलीले अहिलेको बहस असान्दर्भिक रहेको बताए । ‘पहिलो संविधानसभामा टुंग्याउन नसकेपछि दोस्रो संविधानसभामा र रुपान्तरित संसद्ले टुंग्याएको हो, यो अहिले आएको होइन’ उनले स्मरण गराउँदै भने, ‘ विगतमा संसद्‌मा कार्यदल बनाएर, पर्याप्त छलफल गरेर, यो संहिता आएको हो, यो बेला विरोधका स्वर किन आइरहेको छ ?’ उनले नराम्रो काम गरेमा सबै दण्डित हुनुपर्ने भन्दै विरोध गर्नु उपयुक्त नभएको बताए ।


प्रधानमन्त्री ओलीले नयाँ कानुन कार्यान्वयनपछि सुशासनयुक्त समाज बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘यो कानुनको विशेष महत्व छ । मुलुकको राजनीतिक प्रणालीमात्रै फेरिएको छैन । संविधान फेरियो, अधिकार फेरियो’ उनले भने, ‘मुलुकलाई सभ्य र सु–संस्कृत बनाउन, राष्ट्रिय एकतामा खलल पार्ने काम नगर्न र सुशासनयुक्त समाज बनाउन यो संहिताले सहयोग पुग्छ ।’


प्रकाशित : भाद्र १, २०७५ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?