कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

नेकपा प्रवक्ता विश्वकर्मा अदालतबाटै पक्राउ

काठमाडौँ — नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा अदालतबाटै पुन: पक्राउ परेका छन् । सर्वोच्च अदालतले शुक्रबार आदेश दिएपछि रिहा भएका विश्वकर्मालाई अदालत परिसरबाट प्रहरीले पक्राउ गरेको हो ।

नेकपा प्रवक्ता विश्वकर्मा अदालतबाटै पक्राउ

'अदालतले छोडेपछि हामीले पक्राउ गरेका हौं' काठमाडौं प्रहरी परिसरका प्रवक्ता एवं डिएसपी मोहनकुमार थापाले भने । विश्वकर्मालाई काभ्रेमा रहेको एनसेल टावरमा आगजनी र तोडफोड गरेको आरोपमा पुन: पक्राउ गरिएको हो । विश्वकर्मामाथि लागेको आरोपको काभ्रे प्रहरीले अनुसन्धान गरिएरहेको छ ।


उनलाई जिल्ला प्रहरी कार्यालय पठाउने तयारी भइरहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता थापाले बताए ।


यसअघि शुक्रबाउ दिउँसो सर्वोच्च अदालतले नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायत २ जना कार्यकर्तालाई रिहा गर्न सरकारलाई आदेश दिएको थियो । उनीहरु पक्राउ गर्नुअघि परेको उजुरीको प्रमाण देखाउन नसकेको भन्दै सर्वोच्चले उनीहरुलाई रिहा आदेश दिएको हो । प्रहरीले उनीहरुमाथि जबर्जस्ती चन्दा असुलेको भन्दै पक्राउ गरेको थियो ।


‘पक्राउ गर्नुअघि उनीहरुका विरुद्ध चन्दा ऐन अनुसारको कसुरजन्य काम गरेको भन्ने देखिने कुनै उजुरी, जाहेरी वा तथ्ययुक्त प्रमाण लिखित जवाफसाथ पेस गर्न सकेको देखिँदैन’ सर्वोच्च अदालतको आदेशमा भनिएको छ, ‘उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी थुनामा राख्ने गरी भएका सबै कामकारबाहीहरु कानुनअनुरुप भएको नदेखिँदा थुनामा राख्ने आदेशसमेत गैरकानुनी रहेको देखिँदा बन्दीप्रत्यक्षीकरण आदेश जारी हुने ठहर्छ ।’


सर्वोच्च अदालतले उनीहरुलाई थुनामा राख्दा पालना गर्नुपर्ने कार्यविधि पालना नगरिएको, थुनामा राख्दाको आधार र कारण खोली आदेश नगरेको ठहर गरेको छ । न्यायाधीशहरु चोलेन्द्रशम्सेर जबरा र तेजबहादुर केसीको संयुक्त इजलासले विश्वकर्मासहित माओवादी नेताहरु हरिचन्द्र आचार्य, मनबहादुर श्रेष्ठलाई रिहा गर्न आदेश दिएको थियो । मनबहादुर खड्गबहादुरका सवारीचालक हुन् ।


प्रहरीले आफ्ना बाबुलाई पक्राउ गरेपछि औषधिसमेत सेवन गर्न नदिएको, हत्कडी लगाएर निकृष्ट व्यवहार गरिएको र आँखामा पट्टी बाँधी शारीरिक तथा मानसिक यातना दिएको दाबी गर्दै विश्वकर्माका छोरा नरेन्द्रबहादुरले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए । राजनीतिक पूर्वाग्रहको आधारमा गृहमन्त्रीको आदेशमा आफ्ना बाबुलाई पक्राउ गरिएको निवेदकको दाबी थियो ।

प्रकाशित : भाद्र १, २०७५ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?