१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सडक बगाएपछि विकल्पमा पदमार्ग

आश गुरुङ

लमजुङ — हिमाली जिल्ला मनाङको चामेमा पहिरोले सडक बगाएपछि मानिस हिँड्न वैकल्पिक मार्ग बनाइएको छ । सेना, प्रहरी र स्थानीयले मानिस हिँड्ने बाटो बनाएका हुन् ।

सडक बगाएपछि विकल्पमा पदमार्ग

आइतबारदेखि चलेको पहिरो बुधबारसम्म मानिस आवातजावत समेत गर्न नमिल्ने गरी मर्स्याङदीमा मिसिएपछि आवतजावतको लागि पहिरो माथि जंगलको बाटो बनाएको नेपाली सेनाको चामेस्थित रणदल गुल्मले जनाएको छ । गुल्मपति मेजर दिलिप घलेका अनुसार मानिस आवतजावत नै रोकिएपछि वैकल्पिक मार्ग निर्माण गर्न सेनाका जवान खटिएका थिए । यसमा प्रहरी र स्थानीयले सहयोग गरेको उनले बताए ।


‘मानिस हिँड्नै भएन । माथिको माथि नै तलको तल नै अलपत्र पर्‍यो । जनतालाई गन्तब्यमा पुर्‍याउन करीब ५ सय मिटरको वैकल्पिक पदमार्ग बनाइएको उनले बताए । उनका अनुसार खोल्साखोल्सीमा काठका अस्थायी फड्के समेत निर्माण गरिएको छ ।


डीएसपी खड्कबहादुर खत्रीका अनुसार मनाङको चामे नजिकै त्रिचुङाल्डा र कोतोको बीचमा पहिरो गएको छ । खुकुलो माटो, कमलो भएकाले यसअघि देखि उक्त ठाउँ पहिरोको जोखिममा थियो । मस्र्याङदी नदीमा पानीको बहाव बढेपछि त्यसले कटान गर्दा पहिरो चलेको उनले बताए ।


‘सवारी हिँड्ने बाटो बन्द भयो । मानिस आवतजावत पनि त्यही बाटो गर्दै आएको थियो । सडक बगाएपछि मानिस अलपत्र पर्‍यो । वैकल्पिक मार्ग बनायौं,’ उनले भने । पहिरो गएको ठाउँभन्दा माथि पहिरोको जोखिम नहुने गरी करीब २ सय मिटर माथिबाट वैकल्पिक पदमार्ग निर्माण गरिएको उनले बताए । उनका अनुसार पदमार्गमा हिँड्नेलाई चौविसै घण्टा प्रहरीले सुरक्षा दिइरहेको छ । पहिरोले कोतोस्थित क्युपार सीमा प्रहरी चौकी र यसको बिट पनि जोखिममा पारेको उनले बताए ।


चामे गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार बाटो बगाएसंगै बुधबारदेखि उक्त सडक पूर्ण रुपमा बन्द छ । चामेबाट माथिका सवारीसाधन चामे र त्रिचुङाल्डा साथै तलका सवारी साधन कोतोमा रोकिएका छन् । तल्लो क्षेत्रबाट ल्याइएका सामान मानिसले ओसारपसार गरिरहेका छन् । माथिल्लो क्षेत्रका सवारीलाई चाहिने पेट्रोलियम पदार्थ युवाहरुले बोकेर लाने गरिएको छ ।


विकल्पमा बनाइएको बाटोमा पर्यटक तथा विद्यार्थी हिँड्नलाई असहज भएको स्थानीयले बताएका छन् । निमित्त प्रमुख जिल्ला अधिकारी जयराज भण्डारीले पहिरो फालेर सडक खुलाउने प्रयास गरिएपनि नसकिएको बताए । उनका अनुसार पानी परिरहेकाले समस्या आएको छ । ‘हामीले डोजर लगाएर बाटो खुलाउने प्रयास गरेका छौं । पानी परिरहेकाले सकिएको छैन । मर्स्याङदीको भेल घटेको छैन,’ उनले भने । करीब डेढसय मिटर सडक बगाएको पहिरोले त्रिचुङाल्डाका करीब १० घरलाई उच्च जोखिममा पारेको छ ।

प्रकाशित : भाद्र १, २०७५ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?