दीपकराज जोशीले घोषणा गरे आफैंलाई ‘कामू प्रधानन्यायाधीश’

काठमाडौँ — प्रधानन्यायाधीशमा अस्विकृत भएपछि १५ दिन बिदामा रहेका सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले आफैंलाई ‘कायममुकायम प्रधानन्यायाधीश’ भनी दाबी गरेका छन् । उनी गत साउन १८ गते संसदीय सुनुवाईबाट प्रधानन्यायाधीशमा अस्विकृत भएका थिए । 

दीपकराज जोशीले घोषणा गरे आफैंलाई ‘कामू प्रधानन्यायाधीश’

हाल बिदामा रहेका जोशीले देवानी तथा फौजदारी संहिता जारी हुने पूर्वसन्ध्यामा कामू प्रधानन्यायाधीशका हैसियतले शुभकामना मन्तव्य पठाएका हुन् । प्रधानन्यायाधीशको स्वकीय सचिवालयको तर्फबाट भन्दै अधिवक्ता प्रविन्द्रराज जोशीले सञ्चारकर्मीहरुलाई शुभकामना मन्तव्यको प्रति इमेल पठाएका हुन् । उनी प्रधानन्यायाधीशमा अस्विकृत जोशीका छोरा समेत हुन् ।


प्रधानन्यायाधीशको स्वकीय सचिवालय, बालुवाटारका नामबाट जारी विज्ञप्तिमा संविधान र कानूनको उचित पालना हुनुपर्ने भनी व्यंग्य मिश्रित टिप्पणी गरेका छन् । शुभकामना मन्तव्यमा उनले भनेका छन्, ‘संविधान, कानूनको उचित पालना नगरी आफूखुसी गरिने व्याख्याको कुसंस्कार कायमै रहेमा जतिसुकै नया संविधान, कानून बनेपनि हामी न्यायको गन्तव्यमा पुग्न सक्दैनौं ।’ करिव डेढ पेज लामो वक्तव्यमा जोशीले आफूलाई कामू प्रधानन्यायाधीश तथा न्यायपरिषदका अध्यक्ष भनी परिचय गराएका छन् ।


सर्वोच्च अदालतको बेवसाइटमा कायम मुकायम प्रधानन्यायाधीश भनी ओमप्रकाश मिश्रको नाम उल्लेख छ । न्यायाधीशहरुको नामावलीको सूचीमा जोशीको नाम पहिलो क्रममा रहेपनि उनलाई न्यायाधीशका रुपमा मात्रै परिचय गराइएको छ । संसदीय सुनुवाई समितिले न्यायाधीश हुने धरातल समेत नरहेको कारण र आधार देखाई जोशीको नाम अस्विकृत गरेपनि उनी राजीनामा नदिई हाल १५ दिनको बिदामा रहेका छन् ।


प्रकाशित : भाद्र १, २०७५ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?