त्यो मुलुकी ऐन

हिमेशरत्न वज्राचार्य

काठमाडौँ — नयाँ मुलुकी संहिता (ऐन) जारी भएसँगै धेरैले फेरि एकपल्ट पहिलो राणा प्रधानमन्त्री जंगबहादुरलाई सम्झेका छन् । इतिहास भन्छ– जंगबहादुरले नेपाललाई पहिलोपल्ट लिखित कानुन दिए ।

उनले नै विक्रम संवत् १९१० मा मुलुकी ऐन जारी गरेका थिए, जुन नेपालको कानुनको मात्र नभएर समग्र इतिहासकै दृष्टिकोणले पनि ठूलो उपलब्धि थियो । इतिहासकार त्रिरत्न मानन्धर त जंगबहादुरको यो काम पूरा राणा शासनकै एक ठूलो उल्लेखनीय उपलब्धि मान्छन् ।

‘त्यसअघि नेपालमा लिखित कानुन थिएन । सानोतिनो अदालतबाट आदेशमात्र हुन्थ्यो, लिखित रूपमा । कसैले कसैको ज्यान लिए कस्तो दण्ड दिने भनेर केन्द्रमा सोधिन्थ्यो । जंगबहादुरले त विस्तृत ऐन नै बनाए,’ उनले भने, ‘यसको पूरा श्रेय उनलाई दिनैपर्छ । यो ऐतिहासिक कदम हो । शासकका रूपमा एउटा विधि बनाएर जाने इच्छा पनि भएको हुनुपर्छ ।’

Yamaha

त्यतिबेला सजायमा एकरूपता थिएन । एकै घटनामा फरक ठाउँमा फरक सजाय हुन्थ्यो । यो ऐन आएपछि यसैका आधारमा निर्णय हुन थाल्यो । इतिहासकार मानन्धर भन्छन्, ‘जंगबहादुरको मुलुकी ऐन कति धेरै विस्तृत छ भने सम्भवत: यत्तिको ऐन भविष्यमा पनि कहिल्यै आउनेछैन ।’ यो लगभग ८ सय पेज लामो छ । नेपालको कानुनी इतिहासमा कलम चलाउने पहिलो पुस्ताको इतिहासकारमा पर्छन् मानन्धर । जंगबहादुरको मुलुकी ऐनमै केन्द्रित भएर उनले पुस्तक पनि लेखेका छन् ।

जंगबहादुरले बनाएको यो ऐनलाई पछि गएर श्री ५ सुरेन्द्रको शासनकालमा बनेको मुलुकी ऐन भनेर नाम दिइयो । जुन बेला यो कानुन बन्यो, यसको नाम मुलुकी ऐन थिएन, ऐनमात्र थियो । पछि २००९ को संस्करणपछि मात्र यसलाई मुलुकी ऐन भन्न सुरु भएको हो । यसमा संशोधन भने विभिन्न समयमा भएको पाइन्छ ।

यसमध्ये मुख्य संशोधन १९४५ मा वीरशमशेरले गरे । संशोधनका क्रममा त्यसलाई पाँच भागमा विभाजन गरियो । त्यसमध्ये पहिलो र दोस्रो भाग कार्यविधि ऐन, तेस्रो दिवानी ऐन, चौथो र पाँचौं फौजदारी ऐन हुन् । संशोधनका क्रममा मुलुकी ऐन छाप्ने काम पनि जारी रह्यो । यो चन्द्रशमशेरका पालामा १९८० र १९८४ मा छापिएको थियो । फेरि १९९२ मा जुद्धशमशेरको पालामा छापियो । राणाकालको उत्तराद्र्धतिर २००५ सालमा छापिएको थियो । प्रजातन्त्र आइसकेपछि २००९ र २०१२ मा पनि छापियो । त्यसपछि यो दोहोर्‍याएर छापिएन ।

कहिले विस्थापित भयो ?
राजा महेन्द्रले २०२० मा नयाँ मुलुकी ऐन जारी गरे, जुन बिहीबारसम्म कायम रह्यो । धेरैले शुक्रबार नयाँ मुलुकी ऐन लागू भएपछि जंगबहादुरको पालाको मुलुकी ऐन १ सय ६५ वर्षपछि विस्थापित भयो भनेका छन् । ‘मेरो दृष्टिकोणमा विस्थापित भयो भन्न मिल्दैन । जंगबहादुरले बनाएको त्यो मुलुकी ऐन त २०२० मै विस्थापित भइसकेको थियो,’ मानन्धरले भने । त्यतिबेला राजा महेन्द्रले बनाएको मुलुकी ऐनमा स्पष्ट लेखिएको छ, ‘१९१० को मुलुकी ऐन अबको समय परिस्थिति ध्यानमा राखेर नयाँ मुलुकी ऐन जारी गरिबक्सेका छौं ।’ त्यसकै अन्त्यमा ‘यसअगाडि जारी मुलुकी ऐन खारेज भयो’ भनेर पनि लेखिएको छ । त्यसैले जंगबहादुरको मुलुकी ऐन १ सय १० वर्षसम्म चल्यो । त्यो २०२० मा खारेज भयो ।

राजा महेन्द्रको मुलुकी ऐन पनि ५५ वर्षपछि खारेज भएको छ । २०२० को मुलुकी ऐनमा पनि पाँच भाग थियो । त्यसमध्ये पहिलो र पाँचौं भागमा खासै केही उल्लेख छैन । पहिलोमा परिभाषामात्रै थियो भने पाँचौंमा पुरानो मुलुकी ऐन खारेज भएकोमात्र उल्लेख छ । बीचको तीन भाग भने महत्त्वपूर्ण छ । त्यसमध्ये दोस्रो भागमा कार्यविधि ऐन, तेस्रो भागमा दिवानी ऐन र चौथो भागमा फौजदारी ऐनबारे उल्लेख छ । भदौ १ देखि जारी भएको तेस्रो मुलुकी ऐन हो ।

खुल्न नसकेको स्रोत
जंगबहादुरले जारी गरेको मुलुकी ऐन कसरी लेखियो भन्नेबारे भन्ने अहिलेसम्म खासै अनुसन्धान हुन सकेको छैन । ‘पक्कै पनि यो नितान्त मौलिक थिएन होला । त्यतिबेला यति धेरै कानुन बनाउन सक्ने विज्ञ को थियो होला ? त्यो ऐनबारे त धेरै लेखियो, तर यसको स्रोतबारे भने लेखिएकै छैन भन्दा पनि हुन्छ,’ मानन्धरले थपे ।

केबाट प्रभावित भएर ऐन बन्यो भनेर भन्न सकिने स्थिति अझै नभएको मानन्धर बताउँछन् । ‘तर यसका लागि व्यापक गृहकार्य भने पक्कै भएको हुनुपर्छ, धेरैले यो हिन्दु शास्त्रअनुसार छ भनेका छन् । केहीले मनुस्मृतिका आधारमा बनाएको पनि भन्छन् । मेरो विचारमा त्यो केही पनि होइन,’ उनले भने, ‘हिन्दु शास्त्रअनुसार बनाएको भए, त्यसैअनुसार वर्ग विभाजन हुन्थ्यो । त्यति बेलाको वर्ग विभाजन ब्राह्मण, क्षत्री, वैश्य र शुद्रअनुसार थियो । तर ऐन त्यसअनुसार थिएन ।

जंगबहादुर कसबाट प्रभावित ?
ऐन बनाउनुअघि जंगबहादुर बेलायत गएकाले त्यहाँको केही प्रभाव हुन सक्ने अनुमान पनि गरिएको छ ।

उनले त्यहाँको रहनसहन, कानुनबारे बुझ्ने प्रयास पक्कै गरेको हुनुपर्छ । तर ऐनमा खास प्रभाव भने फ्रान्सको छ । जंगबहादुर बेलायतपछि फ्रान्स पनि गएका थिए । त्यतिबेला त्यहाँ नेपोलियनले बनाएअनुसारको ‘नेपोलियन कोड’ लागू थियो । त्यसैअनुसार ऐन–कानुन चल्थ्यो । त्यसैले यो पनि त्यसैबाट बढी प्रभावित भएको हो भनेर दाबी गरिन्छ ।

‘नेपोलियन कोडबाट प्रभावित भएर त्यस्तै कानुन आफ्नो देशमा पनि चाहिन्छ भन्ने सोच जंगबहादुरमा आएको हुन सक्छ,’ मानन्धर मान्छन्, ‘त्यसबाट प्रभावित भए पनि यसबाट ठयाक्कै केही लिइएको जस्तो भने देखिन्न । त्यसैले यति विस्तृत मुलुकी ऐन लेख्न स्रोत कहाँबाट आयो, अविश्वसनीय छ । ठूलो जात, सानो जात, अनि ठूलो जातले सानो जातको हातबाट खान नहुने, खाए दण्डित हुने भन्ने फ्रान्समा थिएन होला । यो पक्कै कतैबाट आएको हुनुपर्छ ।’

त्यतिबेला यस्तो कानुनमा दख्खलप्राप्त नेपालमै धेरै थिए । केहीले लोकपति र लोकेश्वर झाले बनाएको पनि भनेका छन् । ‘म यो तथ्यलाई पनि मान्दिनँ । यसबारे भीमबहादुर पाण्डेले लेखेका हुन् । यसबारे मैले उनीसँग कुराकानी पनि गरें । उनले त्यति बेला मैले सुनेको भनेर उत्तर दिएका थिए । उनी किन गलत थिए भनेर म कारण प्रस्तुत गर्न सक्छु,’ प्राध्यापक मानन्धरले भने ।

जंगबहादुरको मुलुकी ऐन बनाउन मद्दत गर्ने भनेर २ सय १९ जनाको सूची नै राखिएको छ । त्यसमा लोकपति र लोकेश्वरको नाम छैन । उनीहरूले साँच्चै मुलुकी ऐन लेखेको भए नाम हुनुपर्ने मानन्धरको तर्क छ । यहाँनिर के पनि उल्लेख गर्नुपर्छ भने जंगबहादुर बेलायत र फ्रान्स जानु अगाडि नै उनले ऐन–कानुन संग्रह गर्नुपर्छ भनेर एउटा कमिटी बनाएका थिए । भारतीय इतिहासकार एमएस जैनले लेखेका छन्, ‘मुलुकी ऐन जारी गरेर जंगबहादुरले कुनै ठूलो काम गरेका होइनन् ।’ बरु त्यसअघि मौखिक रूपमा रहेका कानुनको संग्रहमात्र गरेका हुन् भनेर जैनले लेखेका छन् ।

‘तर यो तथ्य पनि स्वीकार्य छैन,’ मानन्धरले भने । जंगबहादुरले जारी गरेको मुलुकी ऐनको उत्तिकै आलोचना गर्ने पनि छन् । ‘यसमा कमजोरी पनि उत्तिकै छन् । गैरहिन्दु धर्म मान्नेका लागि यो अनुदार छ । ठूलो जातले उस्तै अपराध गरे पनि कम सजाय, सानो जातले फेरि उस्तै अपराध गरे बढी सजाय दिने प्रावधान भने यो मुलुकी ऐनको सबभन्दा ठूलो कमजोरी हो,’ उनले भने ।

प्रकाशित : भाद्र २, २०७५ ०७:१०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

अलराउन्डर इमरान

हिमेशरत्न वज्राचार्य

काठमाडौँ — आधिकारिक तथ्यांक नभए पनि नेपालमा सबभन्दा बढी समर्थन गरिने टिम पाकिस्तान मानिन्छ । र, सायद धेरैले मन पराइएका खेलाडी इमरान खान । विश्व फुटबलमा नेपाली प्रशंसकका लागि म्याराडोना र अर्जेन्टिनाको जुन प्रभाव छ, क्रिकेटमा इमरान र पाकिस्तानको प्रभाव करिब त्यस्तै ।

यो त्यति बेलाको घटना हो, जति बेला टुँडिखेलमा क्रिकेट हुँदा धेरैले सोध्ने गर्थे, सेतो लुगा लगाएर यी मान्छे के गरिरहेका हुन् ? काठमाडौंमा क्रिकेट बुझ्नेहरू धेरै थिएनन् । तर जत्तिले बुझ्थे, तिनका लागि यो खेल नसाजस्तै थियो । त्यही बेला अन्तर्राष्ट्रिय क्रिकेट ठूलो परिवर्तनबाट गुज्रिइरहेको थियो । विश्व क्रिकेटमा वान डे, रंगीन जर्सी, टीभीबाट प्रत्यक्ष प्रसारण, ठुल्ठूला व्यावसायिक अनुबन्धले प्रवेश पाइरहेको थियो ।

यी सबै सन् ८० को मध्यतिरका हुन् । त्यही बेला पाकिस्तानका एक प्रतिभावान् क्रिकेट खेलाडीको उदय भइरहेको थियो, इमरान खानका रूपमा । यता काठमाडौंमा रेडियोमा क्रिकेट कमेन्ट्री सुन्ने पुस्ता टीभीतिर सर्दै थियो । केही भाग्यमानीको घरमा टीभी थियो र त्यसमा दृश्य सफा आउनका लागि घरको छतमा रहेको एन्टिना समय–समयमा घुमाइरहनुपथ्र्यो । त्यही बेला केही युवाले काठमाडौंमा आफ्नै पहलमा क्रिकेट खेल्न सुरु गरेका थिए ।

यो युवा समूहमा इमरान खानको ठूलो प्रभाव परेको थियो । यूएईको सारजहातिर पनि क्रिकेट प्रतियोगिता हुन सुरु भयो । त्यहाँ हुने पाकिस्तान र भारतबीचको खेलले नेपाली दर्शकलाई तान्न थाल्यो । विश्व क्रिकेटले पाएका महान् कप्तानमा गनिन्छ, इमरान खानलाई । उनको ब्याटिङ पनि चल्थ्यो, अनि बलिङ पनि । उनी उत्तिकै उम्दा अलराउन्ड थिए । सन् १९९२ मा पाकिस्तानले उनकै नेतृत्वमा वान–डेको विश्वकप जित्यो । अहिले यिनै इमरान खान पाकिस्तानका प्रधानमन्त्री हुने लगभग तय छ ।

पाकिस्तानमा बुधबार भएको आम चुनावमा उनको तेहरिक–ए–इन्साफ (पीटीआई) सबभन्दा ठूलो दल बनेको छ । र, यसका नेता इमरानले सरकार बनाउने अनुमान गरिएको छ । कुनै आधिकारिक तथ्यांक नभए पनि नेपालमा सबभन्दा बढी समर्थन गरिने टिम पाकिस्तान मानिन्छ । र, सायद धेरैले मन पराइएका खेलाडी यिनै इमरान खान ।

सन् ८० कै अन्त्यतिर इमरान खान काठमाडौं आएका थिए । त्यति बेला होटल मल्लमा बसेका थिए । यो कति पुराना घटना हो भने, अहिले यसै होटलका कर्मचारीलाई पनि इमरान खान आए/नआएको थाहा छैन । त्यति बेला नेपाली सञ्चार पनि अहिलेजस्तो थिएन । इमरान खानको पटक्कै चर्चा भएन । उनी आए र गए । त्यति बेला उनलाई भेट्ने अवसर पाएका एक भाग्यमानीमा पर्छन्, अशोकनाथ प्याकुरेल । युवा छँदा क्रिकेट खेलेका उनी पछि नेपाल क्रिकेट संघ (क्यान) का महासचिव भए ।

‘हामीले उनलाई होटल मल्लमा गएर भेटेका थियौं । इमरान खान होटलको बगैंचामा बसिरहेका थिए । हामीले उनीसँग हात मिलायौं र अटोग्राफ पनि लियौं,’ प्याकुरेलले भने । उनलाई इमरान खान देखेको पहिलो दृश्यमै लागेको थियो, यी निकै ‘हयान्डसम’ छन् । संयोग कस्तो भने, क्रिकेटको नाता जोडेर उनलाई भेट्न जानेमा सायद प्याकुरेल र उनका केही साथी मात्र थिए ।

त्यसैले इमरान खान आपैंm पनि निकै खुसी भए र उनलाई प्रश्न गरेछन्, ‘के नेपालमा पनि क्रिकेट हुन्छ र ?’ नेपालमा पनि क्रिकेट हुन्छ भन्दा उनले अचम्म मानेछन् । प्याकुरेलले त्यो अटोग्राफलाई जोगाउन सकेनन् । तर इमरान खानलाई भेट्दाको समय सम्झँदा गर्व गर्छन् । यस्तै गर्व, त्यो समय पाकिस्तानी क्रिकेट टिमलाई समर्थन गर्ने पुस्तालाई पनि हुनेछ, जसले टीभीमा क्रिकेट हेर्न पनि राम्रै मिहिनेत गर्नुपथ्र्यो । उनीहरू सबैलाई खुसी लाग्नेछ, आफूले पछयाएका क्रिकेट खेलाडी पाकिस्तानका प्रधानमन्त्री हुने तथ्यले । नेपाली फुटबल प्रशंसकमा म्याराडोना र अर्जेन्टिनाको जुन प्रभाव छ, क्रिकेटमा इमरान र पाकिस्तानको प्रभाव करिब रहेको प्याकुरेल बताउँछन् ।

ती पुराना दिन विश्व क्रिकेटबारे धेरै तथ्य थाहा पाउन नेपाली प्रशंसकसँग खासै माध्यम थिएन । यसका लागि केही भारतीय क्रिकेट म्यागाजिनमा भर पर्नुपथ्र्यो । तर पनि इमरान खानबारे चर्चा व्यापक हुन्थ्यो । जस्तो, उनले यसरी टिमको नेतृत्व गर्थे, उनका धेरैभन्दा धेरै महिला प्रशंसक थिए आदि आदि । उता पाकिस्तानमा इमरानको उनकै समकालीन खेलाडी जावेद मियाँदादसँग भएको झगडाको समाचार पनि उडेर काठमाडौं आइपुग्थ्यो ।

पाकिस्तानले वान–डे विश्वकप जित्दासम्म विश्व क्रिकेट नेपाली प्रशंसकका लागि सजिलै उपलब्ध भइसकेको थियो । यस्तोमा पाकिस्तान र इमरान खानका प्रशंसक अझ बढे । लाहोरमा जन्मेर अक्सफोर्डमा पढ्ने अवसर पाएका इमरानले इंग्ल्यान्डमा पनि आफ्नो खेल र व्यक्तित्वको मद्दतले तहल्का नै मच्चाए । एक प्रकारले उनी बदनाम पनि भए । एकपल्ट लन्डनको नाइट क्लबबाट बाहिर निस्कँदा उनले लगाएको टि–सर्टमा लेखिएको थियो, ‘बिग ब्वाइज प्ले एट नाइट’ ।

विश्वकप जितेयता उनले आफ्नी आमाको नाममा क्यान्सर अस्पताल बनाए । सन् १९९६ मा उनले पीटीआई पार्टी स्थापना गरे । त्यति बेला धेरैलाई लागेको थियो, कुलीन परिवारमा जन्मेका इमरान धेरै समय पाकिस्तानी राजनीतिमा टिक्ने छैनन् । हुन पनि उनले सुरुवाती दिनमा असफलताबाहेक अरू केही भेट्टाएनन् । तर दुई दशकभन्दा लामो कठिन संघर्षपछि उनको हातमा आएको छ, पाकिस्तानको सत्ता । नेपाली क्रिकेट प्रशंसकका तर्फबाट इमरान खानलाई रहनेछ, सफलताको शुभकामना।

दिल्लीमा कौतुहल
-सुरेशराज न्यौपाने
नयाँदिल्ली– पाकिस्तानमा बुधबार भएको आमनिर्वाचनमा पूर्वक्रिकेटर इमरान खानको तेहरिक–ए–इन्साफ (पीटीआई) पहिलो भएको छ । निर्वाचन आयोगका अनुसार पीटीआईले कुल २ सय ७२ स्थानमध्ये १ सय १४ स्थान जितेको छ ।

सरकार गठनका लागि आवश्यक १ सय ३७ स्थान प्राप्त गर्न नसकेपछि भने उनले सत्ता सहयात्री खोजी गर्नुपर्ने भएको छ । खानले भने आफ्नो दल विजयी भएको बिहीबार नै घोषणा गरेका थिए । प्रधानमन्त्री बन्ने संघारमा रहेका खान आक्रामक, कठोर र कुशल कप्तानका रूपमा चनिन्थे । भारतका पूर्वक्रिकेटकर कपिल देवलाई उद्धृत गर्दै भारतीय अंग्रेजी दैनिक द टाइम्स अफ इन्डियाले लेखेको छ, ‘इमरान एउटा कठोर कप्तान थिए । उनको नेतृत्वमा पाकिस्तानले निकै राम्रो गरेको थियो । म आशा गर्छु, उनले पाकिस्तानको प्रधानमन्त्रीका रूपमा पनि राम्रो काम गर्नेछन् ।’ उनले १९९७ को चुनावमा एउटा पनि सिट नजिते पनि इमरान निराश देखिएनन् ।

बरु कल्याणकारी राज्य, सुशासन र राष्ट्रवादका पक्षका चर्का नारा र आक्रामक निर्णयसहित राजनीतिको मैदानमा डटिरहे । धाँधलीको आरोपमा पीटीआईले २००८ को चुनावनै बहिस्कार गर्‍यो । २०१३ को चुनावमा भने उनको दल तेस्रो शक्ति बन्यो। अफगानिस्तानमा भएको अमेरिकी हमलादेखि मुलुकभित्रको भ्रष्टाचार र कमजोर अर्थतन्त्रजस्ता विषयलाई चर्को रूपमा उठाउँदै आएका उनले यसपटकको चुनावमा ‘नयाँ पाकिस्तान’ को नारासहित जित हासिल गरेका छन् ।


उनको विजयसँगै नयाँदिल्लीमा चिन्ता र आशंका दुवै देखिएको छ । भारतीय अखबारका समाचार तथा विश्लेषण पनि त्यही चिन्ता र आशंकामा केन्द्रित थिए, विशेषगरी खानलाई सत्तामा पुर्‍याउन पाकिस्तानी सेनाले खेलेको भूमिकाप्रति नयाँदिल्लीका विश्लेषकले बढी नै चासो देखाएका छन्।

सेनाको सहयोगमा सत्तामा पुगेका खान नेतृत्वको सरकारसँग सम्बन्ध अगाडि बढाउन सहज नहुने दिल्लीको बुझाइ छ । टाइम्स अफ इन्डियाले त ‘जनरल स्माइल याज क्याप्टेन बिकम्स किङ’ भन्दै खानको जितका पछाडि सैनिकको हात भएको दाबी गरेको छ ।

दिल्लीका एक सुरक्षा मामिला जानकारले पनि खानको विजयलाई भारतका लागि ठूलो ‘सेटब्याक’ भएको दाबी गरे । ‘लोकतान्त्रिक मुलुक भारतले सेनाको बलमा सत्ता पुगेको सरकारलाई कसरी सहकार्य गर्न सक्छ,’ उनले भने । त्यसमाथि चुनावपछि दिएको पहिलो मन्तव्यमै खानले आफ्नो सरकारको ध्यान चीनलगायतका मुलुकसँग सम्बन्ध सुधारमा केन्द्रित हुने बताएर दिल्लीलाई थप सशंकित तुल्याएका छन् ।

क्रिकेट मैदानमा भारतविरुद्ध सधैं आक्रामक र सफल कप्तान रहेका खानले सत्ताको बागडोर सम्हालेपछि भारतसँगको सम्बन्धलाई कसरी अगाडि बढाउलान् ? भन्नेमा दिल्लीको संस्थापनमा विशेष चासो हुनु स्वाभाविक नै हो।

प्रकाशित : श्रावण १२, २०७५ ०८:२१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT