जुस पिउँदा विद्यार्थी बिरामी

विराटनगर — भारतीय कम्पनीले उत्पादन गरेको ‘मिलो’ नामक जुस पिउँदा महानगर–२ स्थित बुढानीलकण्ठ बोर्डिङ स्कुलका १५ विद्यार्थी शुक्रबार बिरामी परेका छन् ।

जुस पिउँदा विद्यार्थी बिरामी

विद्यार्थीमा बान्ता हुने, टाउको दुख्ने, पातलो दिसा लाग्ने र पेट दुख्ने लक्षण देखिएको चिकित्सकले बताएका छन् । बिरामीमध्ये ५ जनाको विराट अस्पतालमा उपचार भइरहेको छ । बाँकी उपचारपछि घर फर्केका छन् ।

जुस उत्पादक कम्पनी ‘नेस्ले’ का बजार प्रतिनिधिले विद्यालयका कक्षा ३ देखि ७ सम्मका विद्यार्थीका लागि फुटसल कार्यक्रम आयोजना गरेका थिए । त्यही क्रममा विद्यार्थीलाई जुस खुवाइएको थियो । विद्यालयका प्रिन्सिपल मणिराज भट्टराईका अनुसार सयभन्दा बढी विद्यार्थीले जुस पिएका थिए ।

बिरामीमध्येका अंशु साह, कृषरञ्जन कर्ण, एन्जल साह, एलिसा साह र रोशन दासको अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । ‘सबैले एउटै चिज खाएकाले समान लक्षण देखा परेको छ,’ चिकित्सक हेमसागर रिमालले भने, ‘यो जुसको फुड पोइजन हुन सक्छ ।’

प्रहरीले कम्पनीका बजार प्रतिनिधि झापा कन्काई नगरपालिका २ का प्रदीप घिमिरे र महानगर ९ का महेन्द्रकुमार अग्रवाललाई को१स ३५६ नम्बर सिटी रिक्सामा राखिएको ४० कार्टुन मिलो जुससहित नियन्त्रणमा लिएको छ । उनीहरूलाई क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पठाइएको मोरङका प्रहरी प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए ।

प्रकाशित : भाद्र २, २०७५ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?