खाडीको कमाइ तस्करलाई, दुई करोडभन्दा धेरै रुपैयाँ हुन्डी कारोबार गरेको प्रमाण फेला

जनकराज सापकोटा

काठमाडौँ — पाँच वर्ष दुबईमा पसिना बगाएर कमाएको पैसा गुमाउनुपर्दा कृष्ण घले तनावमा छन् । लमजुङको दोर्दी गाउँपालिका ४ का उनले दुबईमा सँगै काम गरेका सफलराज कुँवरको भर परेर मकाउ जाने सपनामा झन्डै सात लाख रुपैयाँ बुझाए । 

खाडीको कमाइ तस्करलाई, दुई करोडभन्दा धेरै रुपैयाँ हुन्डी कारोबार गरेको प्रमाण फेला

गाउँका ४ जना साथीसँग पनि जनही ६ लाख ७५ हजारका दरले एकमुष्ट साढे २६ लाख रुपैयाँ संकलन गरेर सफलले भनेको मान्छेलाई दिए । तर न उनी मकाउ जान पाए न त उनका साथी । यति बेला कृष्ण फसेको पैसा उठाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो धाइरहेका छन् । उनले भने, ‘दुबईमा कमाएको सबै गयो । दु:खले कमाएको धन गतिलो ठाउँमा परेन ।’


नवलपरासी कावासोतीका टीकाराम भट्टराईले जवानीको अधिकांश समय मलेसिया र साउदी अरबमा बिताए । ५ वर्ष मलेसियामा काम गरेर फर्केलगत्तै साउदी गएका उनले त्यहाँ २ वर्ष बिताए । फेरि मलेसिया गएर ३ वर्ष काम गरे । अघिल्लो वर्ष माघमा उनी नेपाल फर्के । दशक लामो विदेश बसाइबाट जोगाएको रकम खर्चेर फेरि टर्की लागे, मंसिरमा । पर्यटक भिसामा पुगेका उनी भनेजस्तो काम र कमाइ नभएपछि मानव तस्करको सहयोगमा अवैध रूपमा ग्रिस छिर्ने प्रयत्नमा लागे । त्यही बेला पक्राउ परेर तीन दिन थुनामा बसेपछि नेपाल फर्किए । मनग्गे कमाउने लोभमा उनले मलेसिया र साउदी अरबमा पसिना बगाएर कमाएको करिब ६ लाख गुमाए । लामो प्रयत्नपछि उनले एजेन्टबाट साढे चार लाख त फिर्ता लिए तर अनेकन मानसिक यातना खेपे ।


साढे ६ वर्ष कतार बसेका पाल्पा, रामपुरका नारायण सुनुवार डेढ वर्षअघि घर फर्के । कमाएको पैसा कहाँ लगाउने भन्नेमै वर्ष दिन गुजारे । आफन्तको सल्लाहमा उनले पनि टर्की जाने प्रक्रिया सुरु गरे । दिल्लीको बाटो हुँदै पर्यटक भिसामा टर्की पुगेका उनले भनेजस्तो काम त पाएनन् नै, आवासीय अनुमतिको कानुनी आधार पनि भेटेनन् । त्यसपछि उनी पनि मानव तस्कर गिरोहलाई पैसा बुझाएर ग्रिस जान आँटेका थिए । त्यही बेला पक्राउ परे । चार दिन थुनापछि नेपाल फर्के । साढे ६ लाख रुपैयाँ गुमाएका नारायणले भने, ‘कतारको कमाइ स्वाहा भयो ।’ यति बेला नारायणसहितका व्यक्तिले फसेको रकम उठाउन र अवैध रूपमा विदेश पठाउन संलग्नलाई कारबाही माग्दै केन्द्रीय अनुसन्धान ब्युरोमा उजुरी दिएका छन् ।


इटहरीका उमेश विष्टको भोगाइ पनि उस्तै छ । पाँच वर्ष दुबई बसेर झन्डै दुई वर्षअघि फर्केका उनलाई लाग्यो- अब नेपालमै केही गर्नुपर्छ । तर के गर्ने भन्ने सोच्दासोच्दै केही महिना बित्यो । छटपटीका तिनै दिनमा उनको सम्पर्क दुबईमा सँगै काम गरेका पुराना साथी सफलराज कुँवरसँग भयो । मकाउ पुगेका सफलले आशा देखाएर भने, ‘मकाउ आउने भए चाँजो मिलाइदिन्छु । भनेजस्तो कमाइन्छ ।’ उनले साढे ४ लाख रुपैयाँ सफलले भनेअनुसार सन्तबहादुर गुरुङको खातामा हालिदिए । उनले गाउँले, छिमेकी र नातेदार गरी सात जनासँग पनि पैसा उठाए । २५ लाख रुपैयाँ सफललाई दिने गरी सन्तको खातामा हालिदिए । तर न उमेश मकाउ जान पाए न त गाउँले र आफन्त । उनले दु:खेसो पोखे, ‘खाडीको कमाइ मकाउ सपनाले डुबायो । साथीभाइ र आफन्तको पैसा पनि डुब्यो ।’


वैदेशिक रोजगारीमाथि अध्ययन र अनुसन्धानमा संलग्न गणेश गुरुङ खाडी र मलेसियाबाट कमाएर फर्केकाहरू मानव तस्करको चंगुलमा परेर बिल्लीबाठ हुने प्रवृत्ति बढदै गएको बताउँछन् । गुरुङको बुझाइमा स्वदेशभित्रै लगानीको उचित वातावरण र केही रकमसहित फर्किएका कामदारको पैसा सदुपयोग गर्ने नीति नहुँदा यस्ता घटनाले निरन्तरता पाइरहेका छन् । उनले भने, ‘लगानी गरेर स्वदेशमै बाँच्न सकिन्छ भन्ने आत्मविश्वास नभएर र बढी पैसा कमाउने लोभमा खाडी र मलेसियाबाट फर्किएकाहरू मानव तस्करको चंगुलमा परिरहेका छन् ।’


मकाउको पासो

केन्द्रीय अनुसन्धान ब्युरोले साउन १३ मा मकाउ लैजाने आश्वासन दिएर ठगी गरेको आरोपमा सुनसरी, धरानका बालकृष्ण भण्डारीलाई पक्राउ गर्‍यो । उनीमाथि २३ जनाबाट प्रतिव्यक्ति २ लाख ७५ हजारका दरले रकम उठाएको आरोप थियो । यही अभियोगमा ब्युरोले काठमाडौं सरस्वतीनगरबाट सन्तबहादुर कुँवरलाई पनि पक्राउ गरेको छ । कुँवरका साथबाट ब्युरोले केही थान हिसाबकिताब लेखिएको कापीसमेत बरामद गरेको छ ।


कान्तिपुरलाई प्राप्त उक्त कापीमा मकाउमा बसेर एउटा समूहले हुन्डीको पैसा संकलन गर्ने र कुँवरले त्यसको भुक्तानी नेपाल बस्ने प्रापकलाई दिने गरेको देखिन्छ । मकाउ लगिदिने भन्दै नेपालमा उठाइएको रकम कुँवरले हुन्डीको कारोबारमा प्रयोग गरेको केन्द्रीय अनुसन्धान ब्युरोको दाबी छ । उक्त कापीमा कुँवरले वर्षौंदेखि हुन्डी कारोबार गरेको र दुई करोडभन्दा धेरै रुपैयाँको कारोबार भएको देखिन्छ ।


मकाउ बस्ने खोमशंकर भण्डारी, राजेन्द्र खड्का, रवीन्द्रनारायण चौधरी र सफलकुमार कुँवरले हुन्डी र संगठित मानव तस्करीको काम सँगसँगै गरिरहेको दाबी केन्द्रीय अनुसन्धान ब्युरोको छ । ब्युरोका अनुसार मकाउ बस्ने यो समूहलाई नेपाल बस्ने बालकृष्ण भण्डारी, सन्तबहादुर कुँबर, पुष्टिककुमारी चौधरीले सघाइरहेका छन् । ब्युरो स्रोतको दाबीमा हुन्डी र संगठित मानव तस्करीको समानान्तर अभ्यासको मुख्य काम भने राजेन्द्र खडकाले गरिरहेका छन् । ब्युरोमा अहिलेसम्म २४ जना पीडित सम्पर्कमा आएका छन् भने अन्य ३७ जनाको ब्युरोले खोजी गरिरहेको छ । एक अनुसन्धान अधिकारीले भने, ‘मकाउ बस्ने यो समूहले धेरैको उठिबास गराइसकेको छ ।’

प्रकाशित : भाद्र २, २०७५ १९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?