२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

पक्की पुल बगाएपछि रसुवा–नुवाकोटबीचको यातायात सम्पर्क टुट्यो 

कृष्ण थापा

गेर्खु (नुवाकोट) — दुई जिल्ला जोड्ने पासाङ ल्हामु राजमार्गको त्रिशूली–बेत्रावती सडक खण्डको गेर्खु खोलामाको पक्की पुल शनिबार राति परेको अविरल वर्षापछि आएको बाढीले बगाएका कारण रसुवा र नुवाकोटबीचको यातायात ठप्प भएको छ । 

पक्की पुल बगाएपछि रसुवा–नुवाकोटबीचको यातायात सम्पर्क टुट्यो 

उक्त पुल विदुरनगरपालिका १ र १० वडा जोड्ने गेर्खुखोलामाथि ०३६/३७ सालमा निर्माण गरिएको थियो । चीनसँगको एकमात्र उत्तरी नाका रसुवागढी आवतजावत गर्ने पुल भत्किएपछि नुवाकोट हुँदै रसुवा आवतजावत बन्द भएको छ । पुलको दायाँ पिलर बाढीले हानेर भाँचिएको छ भने बायाँपट्टी भेलले काट्ेर पुलै भत्किएको छ ।


पुलको स्ल्याब भाँचिएको छ । गएराति साढे १ बजे बाढीले पुल लगेको स्थानीयले बताए । पुल नजिक रहेको अवैध बालुवा खानीमा काम गर्न बसेका १२ जना कामदारले बाढी पसेपछि भागेर ज्यान बचाएका थिए । ‘करिब साढे १ बजे तिर राति गड्याङ गरेर निदाई रहेको ठाउँमा पानी पस्यो,’ एक कामदारले भने, ‘पल्तिर भागेर सबैले ज्यान बचायौं । नभए त खोलाको भेलले त्रिशूलीमा लैजाने थियो ।’


पुल बगाएपपछि स्थानीय प्रशासन, प्रहरी, गल्छी–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक आयोजनाका ठेकेदारले निरिक्षण गरेका थिए । विनपा १० गेर्खुटारभन्दा एककिलोमिटर माथि गेर्खुखोलाको बाढीले ७ वटा घरमा क्षति पुर्‍याएको छ । ‘स्थानीयलाई बस्न गाह्रो छ,’ विनपा १० का वडाध्यक्ष गणेशकुमार नेपालले भने, ‘ती घरहरु चर्केका छन् । वर्षासँगै बाढी आउन रोकिएको छैन ।’


प्रत्येक वर्ष जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाईंकुण्ड मेला सुरु भएको छ । तीर्थयात्रीहरु रसुवा आउने क्रम जारी छ । उक्त पुल बगाएपछि तीर्थयात्रा गर्नेहरु मर्का परेका छन् ।


प्रकाशित : भाद्र ३, २०७५ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?