१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सभापति चुनिएको साढे दुई वर्षसम्म कांग्रेसका विभाग रित्तै

महाधिवेशनको दुई महिनामै गठन भइसक्नुपर्ने ४२ विभाग अझै रिक्त
प्रदेश अधिवेशन नहुँदा पार्टी संगठन पुरानै संरचनामा 

काठमाडौँ — कांग्रेसको विधानअनुसार महाधिवेशन भएको दुई महिनाभित्र सबै विभाग गठन भइसक्नुपर्छ । तर, १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापति चुनिएको साढे दुई वर्षसम्म पार्टीका ४२ वटै विभाग रिक्त छन् । पार्टीलाई चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विभाग र समिति निष्क्रिय छन् ।

सभापति चुनिएको साढे दुई वर्षसम्म कांग्रेसका विभाग रित्तै

विभाग नबन्दा पार्टीका केन्द्रीय सदस्यसमेत जिम्मेवारीविहीन जस्ता छन् । विभागका संयोजक केन्द्रीय सदस्य हुने व्यवस्था छ । एउटा विभागमा २१ सदस्य हुन्छन् । सबै विभाग र समितिलाई पूर्ण गराउँदा ९ सय जना मनोनीत हुन्छन् । ती मनोनयन नहुँदा एकातिर नेता तथा कार्यकर्ता दायित्वविहीन बनेका र अर्कोतिर संगठन ‘तदर्थवाद’ मा अघि बढेको नेताहरू बताउँछन् ।

एउटा विभागमा २१ सदस्य हुन्छन् । सबै विभाग र समितिलाई पूर्ण गराउँदा ९ सय जना मनोनीत हुन्छन् ।

साढे दुई वर्ष बित्दा पनि विभाग र समिति कन सक्रिय हुन सकेनन् त ? यसको मुख्य कारण सभापति देउवाको कार्यशैली र पार्टीभित्रको आन्तरिक विभाजनलाई मान्ने गरिएको छ । सभापति चुनिएदेखि नै देउवा पार्टी संगठनभन्दा बढी सत्ता राजनीतिमा केन्द्रित भए ।


सत्ताको अंकगणितमा उनले बढी रुचि राखे । संविधान जारी भएपछि बनेको केपी ओली नेतृत्वको सरकार विस्थापित गर्न उनले निकै मिहिनेत गरे । तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनाउन पनि सक्रिय रहे । दाहालपछि कांग्रेस(माओवादी गठबन्धनबाट उनी आफैं प्रधानमन्त्री बने । यो पूरै समयभर उनले सरकारमै ध्यान केन्द्रित गरे । पार्टी संगठनका मुद्दामा हातै हालेनन् ।


आफूअघिका सभापति सुशील कोइरालाले पनि लामो समयसम्म विभाग गठन नगरेको भन्दै उनी पन्छिन थाले । सरकारको नेतृत्व लिएपछि सब ठीक हुन्छ भन्ने मानसिकतामा उनी देखिए । देउवानिकट एक नेता भन्छन्, ‘उनलाई पार्टी संगठनभन्दा सत्ता राजनीतिमै बढी रुचि छ । सत्ता भएपछि सबथोक भइहाल्छ भन्ने मानिसकताले पार्टी संगठन अघि बढ्न सकेन र निर्वाचनमा हामी हार्न पुग्यौं ।’


सुशील कोइरालाले पनि आफ्नो कार्यकालको अन्त्यतिर मात्रै विभाग गठन गरेका थिए । जसबाट असन्तुष्ट देउवाले आफ्नो पक्षका नेताहरूलाई संयोजकबाट राजीनामा गर्न लगाएका थिए । केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानसहित केहीबाहेक विभाग र समिति त्यतिबेला पनि निष्क्रिय रहे ।


यसरी हेर्दा कांग्रेसका महत्त्वपूर्ण मानिने विभागले ८ वर्षदेखि राम्ररी काम गरेका छैनन् । समयमै विभाग गठन गर्न नसकेको भन्दै देउवाले कोइरालालाई निर्णय क्षमता नभएको नेताका रूपमा टिप्पणी गरेका थिए । अहिले त्यही टिप्पणी उनीतिर फर्किएको छ ।


केन्द्रीय सदस्य भएर पनि आफूहरूले जिम्मेवारी नपाएको धनराज गुरुङ बताउँछन् । ‘पार्टीका हातखुट्टा भनेकै विभाग हुन् । विभाग गठन नहुँदा हातखुट्टा नभएजस्तो भएको छ,’ उनले भने, ‘हामीले केन्द्रीय समिति बैठकमा उपस्थित हुनेबाहेक केही काम पाइएको छैन । अरू कार्यकर्ताको हालत के होला ?’


अर्को समस्या भागबण्डा

देउवाले विभाग र समिति गठन गर्न नसक्नुमा पार्टीभित्रको भागबण्डा अर्को कारण हो । सभापति बन्नुअघि देउवाले नै पार्टीभित्र ६० र ४० प्रतिशतको भागबण्डालाई संस्थागत गराएका थिए । अहिले भागबन्डाको त्यही अनुपातले उनलाई समस्या परेको छ । अहिले कांग्रेस पार्टी देउवा पक्ष, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबीचको भागबण्डामा सञ्चालित छ ।


भागबण्डा मिल्दा विधानविपरीतका काम पनि सभापति देउवाले गरे/गराए । संसदीय समिति र केन्द्रीय कार्यसम्पादन समितिको गठन यसको उदाहरण हो । पछि कुरा नमिलेकै कारण यी समिति विघटन गर्न देउवा बाध्य भए ।


देउवामा अझै पनि पार्टी र सरकारको नेतृत्व गर्ने चाहना जीवित छ । त्यही चाहनालाई केन्द्रमा राखेर उनले पार्टी हाँक्दै आएका छन् । संस्थापन इतरपक्षलाई सन्तुलनमा राख्दै आफ्नै समूहका नेताको व्यवस्थापन गर्नुपर्ने पछिल्लो चुनौती उनमा छ ।


‘एउटालाई जिम्मेवारी दिँदा अर्को रिसाउला भनेर पदाधिकारी मनोनयनमै झन्डै साढे दुई वर्ष लगाइदिए,’ देउवानिकट एक नेता भन्छन्, ‘विभाग र समिति गठनमा पनि त्यस्तै समस्या छ । एउटालाई महत्त्वपूर्ण जिम्मेवारी दिँदा अर्को रिसाउला भन्ने डर उनमा छ ।’


निर्वाचनअघि कांग्रेस प्रवेश गरेका नेता विजय गच्छदार र उनले नेतृत्व गरेको तत्कालीन फोरम लोकतान्त्रिकका नेता/कार्यकर्ताको व्यवस्थापन देउवाका लागि अर्को चुनौती छ । निर्वाचन सम्पन्न भएको ८ महिना बितिसक्दा पनि गच्छदार अझै आमन्त्रित केन्द्रीय सदस्यको हैसियतमा छन् ।


गच्छदारलाई फकाएर आफ्नै समूहमा राख्ने दाउ देउवाको छ । यसो गर्न सके आउने महाधिवेशनसम्म आफू बलियो भइराख्ने उनको आंकलन छ । ‘पार्टीमा आफ्नो पकड कायम राखेर फेरि सभापति हुने देउवाको चाहनाका कारण कांग्रेस संकटमा धकेलिन थालिसक्यो,’ केन्द्रीय सदस्य धनराज गुरुङ भन्छन् । ‘सुशीलको पालामा देउवाले सहयोग गरेनन्, अहिले देउवाले गर्दा अर्को पक्षले सहयोग नगर्ने अवस्था आउँदै छ,’ नेता अर्जुनरसिंह केसी भन्छन् ।


कांग्रेसका तल्ला संरचना तदर्थ किसिमका छन् । प्रदेश संरचना अहिलेसम्म बनेको छैन । संविधान जारी भएपछि स्थानीय, प्रदेश र संघको निर्वाचन सम्पन्न भई संघीयता कार्यान्वयनमा आइसक्दा पनि कांग्रेसले प्रदेश अधिवेशनको तयारी थालेको छैन । विधानमा संविधान जारी हुनासाथ प्रदेश अधिवेशन गर्नुपर्ने व्यवस्था छ । अहिलेकै क्षेत्रीय प्रतिनिधिमार्फत प्रदेश अधिवेशन गराउने बाटो विधानले खोलेको छ ।


केन्द्रीय सदस्य गगन थापा निर्वाचनमा पार्टीले नराम्रो हार व्यहोर्दा पनि नेतृत्व तदर्थवादमै रमाएको बताउँछन् । ‘पार्टीका तल्ला तह तदर्थ समितिमा सञ्चालित छन् । आमकार्यकर्तामा नेतृत्वप्रति विश्वास छैन । सांगठनिक संरचना नै अस्तव्यस्त छ,’ थापा भन्छन्, ‘आफूले राम्रो गर्नुभन्दा अर्काको खराबीबाट पार्टी अघि बढ्ने सोचले नेतृत्व गाइडेड छ ।’


संगठनात्मक अव्यवस्था विभाग गठन हुन नसक्नु र प्रदेश अधिवेशन गराउन नसक्नुमा मात्रै सीमित छैन । देउवा आफैंले चैतको केन्द्रीय कार्यसमिति बैठकमा भदौभित्र गर्ने घोषणा गरेको महासमिति बैठक हुने/नहुने अन्योल छ । केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समितिसमेत भंग छन् ।


काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कार्यसमितिका सभापति र क्षेत्रीय कार्यसमितिका सभापतिहरू सदस्य रहने गरी केन्द्रीय सदस्य संयोजकत्वको उपत्यका समन्वय समिति गठन गर्नुपर्ने व्यवस्था विधानमा छ । यही समितिसमेत बन्न सकेको छैन । त्यस्तै हालतमा प्रदेश समन्वय समिति छ । केन्द्रीय अनुशासन समिति, लेखापरीक्षण समिति र ज्येष्ठ राजनीतिज्ञ सभासमेत बनेका छैनन् ।

प्रकाशित : भाद्र ३, २०७५ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?