१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बिमस्टेक संरचना फेरिँदै

काठमाडौँ — बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) ले अन्तर्राष्ट्रिय आतंकवाद, अन्तरदेशीय संगठित अपराध र लागूऔषध कारोबारविरुद्ध लड्न सहकार्य बढाउने गरी बडापत्र (चार्टर) जारी गर्ने तयारी गरेको छ ।

बिमस्टेक संरचना फेरिँदै

यसका लागि तीन शिखर सम्मेलनले पारित गरेका सम्झौता र महासन्धिलाई सदस्य मुलुकका संसद्ले अनुमोदन गरी बडापत्र जारी गर्ने प्रक्रिया सुरु गरेका हुन् ।

अन्तर्राष्ट्रिय आतंकवाद, अन्तरदेशीय संगठित अपराध र अवैध लागूऔषध कारोबारविरुद्ध सहयोगसम्बन्धी ‘बिमस्टेक महासन्धि’ नाम दिइए पनि प्रस्तावित बडापत्रमा सदस्य राष्ट्रबीच आर्थिक र जनस्तरको सहकार्यलाई पनि महत्त्व दिइएको छ । आतंकवादविरुद्ध ऐक्यबद्धताका साथै आर्थिक सहकार्यमा बडापत्रले जोड दिने र बिमस्टेक सचिवालयलाई परियोजना कार्यान्वयनको जिम्मेवारीसमेत दिने तयारी सदस्य राष्ट्रहरूको छ । चार्टरको मस्यौदामा सदस्य राष्ट्रबीच छलफल जारी छ ।

बिमस्टेक स्थापना भएको २० वर्षपछि यसको बडापत्र तयार गरेर सक्रिय संगठनका रूपमा अघि बढाउन लागिएको हो । सम्मेलनले चार्टर, आगामी सहकार्यको दायरा, यस क्षेत्रको विकास, आतंकवाद/उग्रवाद/सांगठनिक अपराधविरुद्ध सहकार्य, आर्थिक सहकार्य, सचिवालयको दायरा विस्तारलगायतका विषयमा निर्णय लिने जनाइएको छ ।

भारत, श्रीलंका, बंगलादेश, भुटान, म्यानमार र थाइल्यान्डका राष्ट्र एवं सरकार प्रमुखको सहभागिता रहने उक्त सम्मेलनले आतंकवादविरुद्ध एक हुँदै साझा विकास र आर्थिक उन्नतिमा जोड दिने भएको छ । सार्क र दक्षिण पूर्वी एसियाली संगठन (आसियान) को पुलका रूपमा काम गर्न स्थापना भए पनि अहिले यसलाई स्वतन्त्र हैसियतमा सक्रिय बनाउन पनि सदस्य राष्ट्रले जोड गरेका छन् । आर्थिक सहकार्यसँगै विकासको बाधकका रूपमा रहेका सूचकांकविरुद्ध पनि यो संगठनले काम गर्ने गरी चार्टर बनाउन छलफल भइरहेको जनाइएको छ ।

परराष्ट्र सचिव शंकरदास बैरागीले बिमस्टेकको तयारी तीव्र रूपमा अघि बढेको बताए । ‘संगठन स्थापनाको २० वर्ष पुगिसकेकाले यसलाई थप सशक्त बनाएर अघि बढाउन प्राविधिक काम भइरहेका छन्,’ उनले भने । सचिवालय विस्तार गर्ने, बडापत्र बनाउने, आर्थिक सहकार्यको क्षेत्र पहिचान गर्ने लगायतमा काम भइरहेको बैरागीले बताए ।

‘धेरै क्षेत्र ओगटेर काम नहुनुभन्दा थोरै तर सम्भव हुने क्षेत्रमा आधारित रहेर काम अघि बढ्नेछ,’ उनले भने, ‘हामीले सार्कमा हुन नसकेको विषय यसमा अघि बढाउने हो । तर बिमस्टेक सार्कको प्रतिस्पर्धी होइन ।’

प्रकाशित : भाद्र ४, २०७५ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?