कुखुरा आयातमा २ रुपैयाँ कर
लमजुङ — बेंसीसहर नगरपालिकाले हाँस, कुखुरा र अन्य पन्छीको आयातमा २ रुपैयाँ कर लगाएको छ । नगरवासीलाई नभई बाहिरबाट बिक्री गर्न ल्याउनेलाई कर लगाएको हो ।
‘हामीले कुखुरा र हाँसमा २ रुपैयाँ कर लिने निर्णय गरेका छौं । घरमा पालिएकालाई लिने होइन । जसले बाहिरी जिल्ला वा स्थानीय तहबाट गाडीमा ल्याएर बिक्री गर्न खोज्छ, उनीहरूलाई लिने भनेका हौं,’ नगरप्रमुख गुमानसिंह अर्यालले भने ।
हाटबजार लाग्दा व्यावसायिक रूपमा बिक्रीका लागि ल्याइने पन्छी तथा पशुमा पनि कर लिइनेछ । ‘सबैले करको विरोध गरेका छन् । बुझेर मात्रै विरोध गर्नुपर्छ,’ उनले भने । आलु, तरकारी तथा पोका वा झोलामा सामान राखेर मोटरसाइकलमा बिक्री गर्ने हिँड्नेलाई भने १० रुपैयाँ कर तोकिएको छ ।
आर्थिक ऐन २०७५ अनुसार खसी, बोकामा प्रतिगोटा २५ रुपैयाँ र राँगा, भैंसी तथा बंगुरमा प्रतिगोटा ५० रुपैयाँ कर तोकेको छ । नगरपालिकाले अधिकतम ३५ हजार रुपैयाँसम्म कर तोकेको जनाएको छ । एकीकृत सम्पत्ति करतर्फ ३ करोडदेखि ५ करोडसम्म सम्पत्ति हुनेका लागि ३५ हजार रुपैयाँ र ५ करोडमाथि सम्पत्ति हुनेका लागि प्रतिहजारमा २ रुपैयाँका दरले कर तोकेको नगरपालिकाले जनायो ।
एकीकृत सम्पत्ति करमा सबैभन्दा कम १ लाखदेखि १० लाखसम्म सम्पत्ति हुनेका लागि १ सय ५० रुपैयाँ तोकिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारीले सम्पत्ति कर पूर्ण रूपमा लागू भएको र अन्य कर लागू गर्ने तयारीमा रहेको बताए । नगरपालिकाले आर्थिक वर्ष ०७५/७६ को एकीकृत सम्पत्ति कर सोही चालु आवको पुस मसान्तसम्म बुझाउनेलाई ५० प्रतिशत छुटको व्यवस्थासमेत गरेको छ ।
अर्को आर्थिक वर्षमा बुझाए १० प्रतिशत र त्यसपछि ५ प्रतिशतका दरले बढ्दै जानेछ । नगरपालिकाले पटके सवारी कर नलिने निर्णय गरेको छ । यस्तै, ग्रामीण भेगबाट डोका र डालामा तरकारी तथा फलफूल राखी बजार घुमाएर बेच्ने किसानको हकमा व्यावसायिक कर नलिने नगरपालिका प्रमुख अर्यालले बताए ।
बेंसीसहरको व्यावसायिक कर उठाउने जिम्मा नगरपालिकाले लमजुङ उद्योग वाणिज्य संघलाई दिएको छ । संघले चालु आर्थिक वर्षमा व्यावसायिक करबापत उठेको रकमको २५ प्रतिशत राखेर नगरपालिकालाई बुझाउनेछ । संघका अध्यक्ष राजेश थापाले गत आर्थिक वर्षदेखि व्यवसायीलाई कर उठाउँदै आएको बताए ।
नगरपालिकाले नागरिकता सिफारिसमा वंंशजको १ सय र अंगीकृतको २ हजार र राहदानी सिफारिस ३ सय रुपैयाँ तोकेको छ । जन्ममृत्यु सिफारिस १ सय, नामथर संशोधन १ सय, नाता प्रमाणित नेपालीमा २ सय ५० र अंग्रेजीमा ५ सय तोकेको छ । ‘गत आर्थिक वर्षमै निर्णय गराएका थियौं । कहींकतैबाट विरोध छैन,’ नगरप्रमुख अर्यालले भने । नगरपालिकाले सम्पत्ति कर, भूमि कर (मालपोत), घरबहाल कर, व्यवसाय कर, जडीबुटी, कवाडी र जीवजन्तु कर, सवारीसाधन कर, विज्ञापन कर, मनोरञ्जन कर लगायत १३ शीर्षकमा कर लिने निर्णय गरेको छ ।
प्रकाशित : भाद्र ४, २०७५ ०७:२३