कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँ निर्माणको जिम्मा युवालाई

विकास निर्माण कार्यदल गठन गरी युवालाई गाउँमै रोजगारी दिन थालिएको छ । गाउँपालिकाले मासिक २४ हजार तलब र डेढ लाखको दुर्घटना बिमा गरिदिएको छ ।
तुलाराम पाण्डे

पलाता (कालीकोट) — पलाता गाउँपालिकाले ‘विकास निर्माण कार्यदल’ गठन गरी युवालाई वर्षभरि रोजगारी दिन थालेको छ । ‘सके खाडी नसके काला पहाड’ भन्दै बिदेसिने युवालाई गाउँमै रोक्न कार्यदल गठन गरिएको हो ।

गाउँ निर्माणको जिम्मा युवालाई

गाउँपालिका अध्यक्ष लक्ष्मण बमले पलातामा युवा पलायन रोक्न गत वर्षदेखि कार्यदल गठन गरेर परिचालन गरिएको बताए । ‘आफ्नो गाउँठाउँ बनाउन युवा सहभागिता महत्त्वपूर्ण छ,’ उनले भने, ‘पलायन रोक्न गाउँपालिकाले बजेटसहित निर्माणको जिम्मा युवालाई दिएको छ ।’ गत वर्ष प्रत्येक वडाबाट १०/१० जनाका दरले ९० र गाउँपालिका अध्यक्षले छनोट गरेका १० गरी सय युवा छनोट गरिएका थिए ।

गाउँपालिकाले यस वर्ष एक सय ५० युवालाई नियुक्ति नै दिएर मासिक २४ हजार रुपैयाँ पाउने गरी निर्माणमा खटाएको छ । गत वर्ष विकास निर्माणमा विनियोजित बजेटबाटै दैनिक ८ सय ज्याला पाएका युवालाई यस वर्ष मासिक रूपमा तलब दिन गाउँपालिकाले नीति बनाएरै २ करोड ९० लाख बजेट छुट्याएको छ ।

साबिकका थिर्पु, खीन र धौलागोह गाविस मिलेर बनेको पलाता बर्सेनि सुक्खा खडेरी, खाद्यान्न अभाव, यातायातको असुविधा र खानेपानी अभावजस्ता समस्यासँग जुध्दै आएको छ । हिउँदमा गाउँमा वृद्ध, महिला र बालबालिका मात्र घरमा बस्ने गर्छन् । युवा रोजगारीका लागि खाडी तथा भारतको कालापहाड जान बाध्य छन् ।

निर्माण कार्यदलका लागि पोसाक, एक लाख ५० हजारको दुर्घटना बिमाको व्यवस्था गरिएको छ । महिनामा २४ दिन विकास निर्माणको काममा खटिने युवाले ६ दिन सरसफाइमा संलग्न हुने गरेको स्थानीय युवा पूर्णसिंह बमले बताए । कार्य दलका सदस्यले सामाजिक लगानी कोषबापत मासिक २ हजार जम्मा गर्ने गरेका छन् भने व्यक्तिगत मुद्दती खातामा मासिक २ हजार जम्मा गर्छन् ।

गत वर्ष आफ्नै गाउँपालिकामा बसेर निर्माणको काम गर्दा एक लाख १८ हजार रुपैयाँ कमाइ भएको वडा ९ की सुलछिना बमले बताइन् । कक्षा १२ सम्म अध्ययन गरेकी बम गाउँमा बेरोजगार थिइन् । गाउपालिकाले १५ जनाको दरले समूह विभाजन गरी खानेपानी निर्माण, सडक निर्माण र विद्यालय भवन निर्माणजस्ता काममा खटाएको छ ।

कार्यदललाई व्यवस्थित रूपले सञ्चालन गर्न ९ वडाका ९ जना टोली कमान्डर र एक गाउँपालिका अध्यक्षसँग रहने गरी १० वटा सञ्चार सेट पनि यसै महिनादेखि उपलब्ध गराउने तयारी छ । गाउँ छाडेर हिँड्ने युवालाई आफ्नै गाउँमै आर्कषण प्याकेज सञ्चालन गर्नु राम्रो काम भएको राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीले बताए ।

गाउँपालिकाले आगामी वर्षभित्र एक घर एक धारा, एक बस्ती एक ट्ंयाकी, एक गाउँ एक उत्पादन, सबै वडामा सडक सञ्जाल पुर्‍याउन काम गरिरहेको जनाएको छ । पलाताका खीन, धौलागोह र थिर्पुमा खानेपानी पुर्‍याउन गाउँपालिकाले वार्षिक पुँजीगत बजेटको २० प्रतिशत रकम विनियोजन गरेको छ । वस्तीबाट २४ किलोमटिर टाढाको खानेपानी धौलागोहमा ल्याउन पानबहादुर रोकाया, देव विश्वकर्मा र धर्मदत्त न्यौपानेको नेतृत्वमा ३ वटा समूह तलसेरी खानेपानी र विद्यालय निर्माणमा खटाएको छ ।

त्यस्तै, कुम्मबहादुर बमको नेतृत्वमा वडा नं ७ र ८ को खानेपानी, सिँचाइ र सडक निर्माणमा खटाएको छ । धीरवहादुर बमको समूहलाई दुर्सीगाड जलविद्युत् निर्माण र सूर्यबहादुर बमको समूहलाई थिर्पु सडक निर्माणमा खटाइएको गाउँपालिकाले जनाएको छ ।

सुरुमा गाउँपालिका अध्यक्षले आफ्नो सुरक्षाका लागि कार्यदलको अवधारणा ल्याएको भनेर केहीले आलोचना गरे पनि हाल सबैले कार्यदलको काम प्रभावकारी भएको बताउन थालेको वडा नं ९ का अध्यक्ष टक्कवहादुर बमले बताए ।

प्रकाशित : भाद्र ४, २०७५ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?