कालीमाटी तरकारी बजार अनुगमनमा गएकाे टोली र व्यापारीबीच विवाद

राजु चौधरी

काठमाडौँ — कालीमाटी तरकारी बजार अनुगमन गर्न गएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र प्रहरीको टोली र व्यापारीहरुबीच विवाद भएको छ । विवाद धेरै बढेपछि व्यापारीहरुले अनुगमनमा गएको टोलीलाई केही बेर नियन्त्रणमा लिएर छोडेका छन् । 

कालीमाटी तरकारी बजार ।

सोमबार बिहान अनुगमनमा गएको टोलीलाई भित्र राखेर व्यापारीले गेटमा धर्ना दिएका थिए। उक्त टाेलीलाई छुटाउन त्यहाँ थप प्रहरी समेत परिचालन गरिएको थियो।

Yamaha

काक्रो, फर्सी लगायत तरकारी लिएर ललितपुरबाट आएको बा ६ च ९६४ नम्बरको गाडी र बाराबाट तरकारी बोकेर आएको ना ४ च ६६३४ नम्बरको गाडीबाट बिल र कागजातमाग्दा नपाएपछि टाेलीले नियन्त्रणमा लिएकाे थियाे। त्यसपछि त्यहाँ विवाद बढेको हो।

अनुगमन स्थलमा विवादकाे समाधान नभएपछि वार्ताका लागि ब्यापारीहरुलाई १० बजे अापूर्ति बिभागमा बोलाइएको छ ।

आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले भित्र रहेको अगुगमन टोलीलाई छुटाएर व्यापारीलाई कारवाही प्रक्रिया अगाडि बढाउने बताए।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद अाचार्यका अनुसार सामान्य विषयलाई लिएर अनुमगनमा गएको टोली र व्यापारीबीच केही बेर वादविवाद भएको र अहिले स्थिति सामान्य भइसकेको छ।

आपूर्ति सचिव चन्द्र घिमिरेले सिण्डिकेट र बिचौलिया हाबी हुँदा यस्तो स्थिती आएकाले अनुमगन अगाडि बढाइएको जानकारी दिए।

प्रकाशित : भाद्र ४, २०७५ ०८:१३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

सर्पदंशमा सजगता

सर्पदंशको एउटै मात्र प्रभावकारी उपचार विषप्रतिरोधी औषधि प्रयोग हो । भ्रमको पछि लाग्दा जोखिम बढ्छ ।
मिलन खरेल

काठमाडौँ — सर्पले मानिसलाई खोजी–खोजी डस्दैन । अन्जानवश कसैले टेक्न पुगे वा जिस्क्याए मात्र सर्पले खतरा महसुस गरी प्रतिरक्षाका लागि डस्ने हो । नेपालमा ८९ प्रजातिका सर्प फेला परेका छन् । तीमध्ये १७ प्रजातिका सर्पमात्र विषालु छन् । गोमन, राजगोमन, गनग्वारी (राजा सर्प), करेत, बाघे तथा हरेउ विषालु सर्प हुन् ।

गोमन सर्पले घाँटीको छाला तन्काएर फणा बनाउँछ । यिनीहरूलाई जिस्क्याए आफ्नो शरीरको एक तिहाइजति अगाडिको भागलाई जमिनबाट माथि उठाएर स्याँ–स्याँ अवाज निकाल्छन् । टाउको थ्याप्चो र त्रिकोणात्मक भएका हरिया रङ्गका हरेउ अर्थात् ‘ग्रिन पिट भाइपर’ समूहमा पर्ने सर्प विषालु हुन्छन् । यिनीहरू आफ्नो शरीरलाई खुम्च्याएर स्प्रिङजस्तो आकारको बनाई शत्रुमाथि डस्न जाइलाग्छन् । ढाडतिरको भागमा ठूलठूला अन्डाकार बुट्टा भएका बाघे सर्प (रसेल्स भाइपर) अति विषालु हुन्छन् । आँखा र नाकको प्वालको बीचमा ताप संवेदनशील अङ्ग भएका ‘पिट भाइपर’ सर्प पनि अति विषालु हुन्छन् ।

सर्पको विष परिवर्तित र्‍याल ग्रन्थिको उत्पादन हो । यसलाई सर्पले सिकार मार्ने र पचाउने कार्यमा प्रयोग गर्छ । हरेक सर्पदंशबाट मानिसको ज्यान जाँदैन ।

सर्प विषालु भए पनि सधैँ ज्यानै जान्छ भन्ने होइन । विषले मनिसमा पार्ने असर डस्ने सर्पको आकार, डसाइको पूर्णता, शरीरमा प्रवेश गरेको विषको मात्रा, डसेको व्यक्तिको उमेर, शारीरिक क्षमता तथा उसको मनोवैज्ञानिक अवस्थामा भर पर्छ ।

सर्पदंशका लक्षण
सर्पदंशको लक्षण सर्पको प्रजाति अथवा विषको रासायनिक संरचना अनुसार फरक हुन्छ । गोमन र करेत प्रजातिका विषालु सर्पको डसाइबाट व्यक्तिमा स्नायुघात हुन्छ । आँखाको ढकनी भारी महसुस हुन्छ । मुख खोल्न तथा जिब्रो बाहिर निकाल्न सकिँदैन । निल्न नसक्ने, सास फेर्न गाह्रो हुने, हातखुट्टाका मांसपेशी नचल्ने लक्षण देखिन्छ । डसेको ठाउँको घाउ पाक्ने सुन्निने र तन्तुहरू मर्न थाल्ने हुन्छ । बाघे, हरेउजस्ता सर्पको डसाइबाट भने गिँजा, पेट, आन्द्रा, आँखा तथा शरीरमा लागेका घाउ–चोट आदिबाट बाहिरी तथा आन्तरिक रक्तस्राव हुने गर्छ ।

सर्पदंश भए के गर्ने ?
सर्पदंशबाट व्यक्तिको मृत्यु हुने प्रमुख कारण समयमै सम्बन्धित उपचार केन्द्रसम्म पुग्न नसक्नु हो । सर्पले डसेको व्यक्तिलाई गरिने एउटैमात्र प्रभावकारी उपचार विष प्रतिरोधी औषधी (एन्टिभेनम सेरम) प्रयोग हो । यो सरकारी अस्पताल, सैनिक अस्पताल, कतिपय निजी अस्पताल तथा रेडक्रसद्वारा सञ्चालित सर्पदंश उपचार केन्द्रमा पाइन्छ ।

सर्पले डसेको व्यक्ति मानसिक तनावमा हुने भएकाले सकेसम्म ढाडस दिई शान्त राख्नुपर्छ । डसेको भाग स्थिर राख्नुपर्छ । अत्तालिए मुटुको धड्कन वृद्धि भई रक्तसञ्चार मार्फत विष चाँडो शरीरमा फैलिने गर्छ । सर्पले डसेको व्यक्तिले चुरा, औंठी आदिजस्ता वस्तु लगाएको भए फुकालेर राख्नुपर्छ । डसेको स्थानलाई साबुन–पानी वा एन्टिसेप्टिक (जस्तो डेटोल पानीले) राम्रोसँग धुनुपर्छ । डसेको स्थानसहित त्यसको तल्लो र माथिल्लो भाग ढाकिनेगरी चौडा किसिमको टाई, कपडा अथवा ब्यान्डेजले ठिक्कको कसिलो पारी फन्फनी बेरेर बाँध्नुपर्छ । यसो गर्नाले रक्तसञ्चार कम हुनगई विष चाँडो फैलन पाउँदैन ।

उपचारका भ्रम
सुइरो (निडल) बिनाको सुई (इन्जेक्सन) को मद्दतले सर्पले डसेको ठाउँको रगत ताने सर्पको विष पुरै निस्कन्छ भन्ने भ्रम छ । विषालु सर्पले डस्ने बित्तिकै (डसेको तीन मिनेटपछि) सुईको मद्दतले विष तान्ने कोसिस गरे पनि विषको थोरै मात्रा (एक हजार भागको एक भागजति) मात्र निकाल्न सकिन्छ । मुखले डसेको ठाउँको रगत चुस्नु आफ्नो ज्यान खतरामा पार्नु हो ।

सर्पलाई समात्न वा मार्न खोजेर अर्को डसाइको खतरा मोल्नु हँुदैन । डाक्टरले बिमारीको लक्षण तथा प्रयोगशालामा रगत, र्‍याल आदिको परीक्षणमार्फत सर्पको विषको प्रकार पहिचान गर्न सक्छन् । अविषालु सर्पले डसेको भए पनि विषको असर कम हुन्छ भन्ने ठानेर डोरी, प्लास्टिक, कपडा, रबर, विद्युतीय तार आदिले हातखुट्टा कसेर बाँध्नु हँुदैन । ती अंगमा रक्तप्रवाह बन्द भई अन्त्यमा हातखुट्टा नै बिग्रिएर काट्नुपर्ने अवस्था आउन सक्छ ।

सपेरा वा अन्य व्यतिले तन्त्रमन्त्र गरी विष प्रतिरोधी भनी दिएको ताबिज, माला, बुट्टी भनिने जस्ता वस्तुमा भरपर्नु हुँदैन । विषालु सर्पले डसेको व्यक्तिलाई जाँड, रक्सी, अन्य तातोपानी या कुनै पनि प्रकारको झोलिलो वा ठोस खाद्यपदार्थ खान दिनु हुँदैन । अन्यथा शरीरमा हुने रासायनिक प्रतिक्रिया (मेटाबोलिजम) मा वृद्धि भई विष चाँडो फैलन सक्छ ।

विषालु सर्पले डसेको व्यक्तिलाई खोर्सानी खुवाउँदा पिरो महसुस हँुदैन भन्ने धारणा गलत हो । डसेको ठाउँमा जिउँदो कुखुराको मलद्वार लगाए विष चुस्छ भन्ने धारणा पनि गलत हो । डसेको ठाउँमा बरफ तथा कुनै पनि वस्तु प्रयोग नगरौं । यस्तो गर्नाले बढी हानि हुन्छ ।

डसेको ठाउँलाई ढाकेर (छोपेर) राख्नु हुँदैन । त्यस ठाउँमा धारिलो वस्तुले काट्ने, चिर्ने, आगो अथवा कुनै तातो वस्तुले डाम्ने, तातोपानी वा अमिलो दूधमा डुबाउने पनि गर्नु हँुदैन । यसले संक्रमण बढाउन सक्छ । कथित नागमणि, झारमौरो, घरायसी तथा जङ्गली झारपात तथा जडीबुटी प्रयोग गर्नु हुँदैन ।

milankharel2000@gmail.com
खरेल केन्द्रीय प्रविधि क्याम्पस धरानका अध्यापक हुन् ।

प्रकाशित : भाद्र ४, २०७५ ०७:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT